हालै काठमाडौंमा बग्ने खोलाको पानीको नमुना परीक्षण गर्दा पोलियो भाइरस देखिएको सार्वजनिक भएको छ । यो जानकारीसँगै भाइरसको सम्भावित प्रकोपलाई लिएर नेपाल तरंगित भएको छ । नेपालले पोलियो उल्मुलन राष्ट्र भएको आधिकारिक घोषणा भएको एक दशकभन्दा बढी भइसकेको अवस्थामा पोलियो भाइरसको ‘कमब्याक’ पक्कै पनि शुभ संकेत भने होइन् । नेपाल सरकारले पनि पोलियो भाइरसको सम्भावित जोखिमको आँकलन गर्दै पोलियो विरुद्ध खोप अभियानको घोषणा गरिसकेको छ ।
पोलियो भाइरस एक उच्च तथा घातक संक्रामक रोग हो । यो विशेषतः पोलियो भाइरस मिश्रित दिसा मिसिएको पानी वा खानेकुराबाट फैलने गर्दछ । यो भाइरस पेटमा वृद्धि हुने भएतापनि स्नायु प्रणालीमा एट्याक गरी पक्षघात गराउने गर्दछ । संक्रमण भएको समान्यतयाः ७ देखि १० दिनमा लक्षणहरु देखा पर्ने गर्दछ । ज्वरो आउने, थकान महसुस हुने, बान्ता हुने, टाउको दुख्ने, घाटी कडा हुने र खुट्टा दुख्नेजस्ता समस्याहरु देखिने गर्दछ ।
तर, अधिकांश अर्थात् नब्बे प्रतिशतभन्दा बढी संक्रमितमा भने लक्षण नदेखिने वा सामान्य हुने गर्दछ । झन्डै ०.५ प्रतिशतमा पक्षघातको समस्या देखिने गर्दछ । र, तीमध्ये ५ देखि १० प्रतिशत बिरामीको मृत्यु हुने गर्दछ । यसको विशेष औषधी छैन तर खोप भने उपलब्ध छ । पोलियो भाइरसले विशेषतः बालबालिकालाई बढी प्रभावित पार्ने गर्दछ । नेपालमा यो खोप बालखोप कार्यक्रमअन्तर्गत अनिवार्य दिने गरिन्छ ।
पोलियो भाइरस टाइप–१, टाइप–२ र टाइप–३ गरी तीन प्रकारका हुन्छन् । ओरल पोलियो खोप (ओपीभी)ले यी तीनै टाइप विरुद्ध काम गर्ने गर्दछ । तर, पछिल्लो केही वर्षदेखि टाइप–२ पोलियो भाइरस उल्मुलन भएको घोषणासँगै टाइप–१ र टाइप–३ विरुद्ध काम गर्ने खोप मात्र दिइदैं आइरहेको छ । यसलाई ‘वाईड टाइप’ को पोलियो भाइरस पनि भन्ने गरिन्छ ।
कतिपय बालबालिकाको पेटमा हुने भाइरसको प्रतिकृति दिसामार्फत बाहिरी वातारणमा जाने गर्दछ र सो प्रतिकृति पोलियो भाइरस लामो समय समुदायमा रहे उत्परिवर्तन (म्युट्रेसन) हुन सक्दछ । यसरी ‘म्युट्रेसन’ भएको पोलियो भाइरसलाई ‘भ्याक्सिन डिराइभ पोलियो भाइरस’ भनिन्छ । हाल नेपालमा देखिएको पोलियो भाइरस पनि ‘वाईड टाइप’को नभई ‘भ्याक्सिन डिराइभ पोलियो भाइरस’ भनिएको छ । यसबाट पनि पोलियो भाइरस लामो समयदेखि नेपालको वातावरणमा रहेको अनुमान गर्न सकिन्छ ।
‘भ्याक्सिन डिराइभ पोलियो भाइरस’ले खोप नलगाएकालाई ‘वाईड टाइप’को पोलियो भाइरसले जस्तै पक्षघात गराउन सक्ने क्षमता राख्ने गर्दछ । सन् २०२२ मा इन्डोनेशियामा दुई बालबालिकामा ‘भ्याक्सिन डिराइभ पोलियो भाइरस’ देखिएको थियो भने उनीहरुमा पक्षघातका समस्याहरु देखिएको थियो । यसबाट पनि उत्परिवर्तित पोलियो भाइरस बालबालिकाको लागि उत्तिकै जोखिम हुने देखाएको छ ।
काठमाडौंमा बग्ने नदीको नमुनाको परिक्षणबाट पोलियो भाइरस पुष्टि भएसँगै लामो समयदेखि नेपाललाई दिएको ‘पोलियो उन्मुलन घोषित’ राष्ट्रको दर्जालाई नै चुनौती दिएको छ । तर, तत्काल भाइरसले भने प्रकोपको रुप लिने सम्भावना निकै क्षीण देखिन्छ । सन् २०२२ मा अमेरिका, बेलायत, इजरायल, इन्डोनेशिया, भारतलगायत विभिन्न देशहरुमा पनि ‘भ्याक्सिन डिराइभ पोलियो भाइरस’ देखिएको थियो । तर, ती देशहरुमा तत्काल प्रकोपको रुप लिएको भने देखिएन् ।
यद्यपी, ती देशहरुमा प्रकोप नदेखियोस् भन्नाको लागि सर्वेलेन्स तथा खोप अभियानलाई विशेष महत्वका साथ अगाडि बढाइएको थियो । नेपालले पनि सर्वेलेन्स तथा खोप अभियानलाई तीब्रता दिन सके नेपालको ‘पोलियो उन्मुलन घोषित’ राष्ट्रको मान्यतालाई यथावत र निरन्तरता दिन सकिनेछ ।