जुम्लाको चन्दननाथ नगरपालिका–३ मा वि.सं. २०४५ सालमा जन्मिएका डा.रत्नवीर सुनार अहिले जिल्ला अस्पताल डोल्पाको प्रमुख तथा त्यहाँको जनस्वास्थ्य सेवा कार्यालय प्रमुख हुन् । एसएलसी जुम्लाकै चन्दननाथ स्कुलबाट गरेका डा. सुनारले आईएस्सी काठमाडौंबाट गरेका हुन् ।
एमबीबीएस विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान गरेका डा. सुनारले सामान्य अभ्यास र आपत्तकालीन चिकित्सामा त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानबाट स्नातकोत्तर गरेका छन् । डाक्टर भएपछि १० वर्ष हिमाल तथा दुर्गम जिल्लाका हिमाली जिल्लाहरु रुकुम, जुम्ला, मुगु, भोजपुर, कालिकोट, डोल्पा काम गरेका डा.सुनारसँग हेल्थआवाजले गरेको कुराकानी :
डोल्पा विकट जिल्ला हो । यहाँबाट कसरी स्वास्थ्य सेवा प्रवाह गरिरहनु भएको छ ?
डोल्पा देशकै विकट र भौगोलिक रुपमा अप्ठ्यारो जिल्ला हो । यो जिल्लामा ३ वटा पालिकामा मात्र यातायात सुचारु छ तैपनि भरपर्दो छैन । तसर्थ, एक गाउँबाट अर्को गाउँ पुग्न ४–५ घण्टादेखि माथिल्लो डोल्पामा एक दिन समेत लाग्छ । त्यसैले सबै ठाउँमा सहज स्वास्थ्य सेवा दिन एकदम चुनौती छ । हामी वा स्वास्थ्य सेवा कार्यालय डोल्पाले घुम्ती शिविरद्वारा विभिन्न पालिकामा सेवा दिने गरेका छौं । यहाँ एउटा मात्र अस्पताल छ, जिल्ला अस्पताल । जहाँ ५ जना मेडिकल अधिकृत, एउटा डेन्टल डाक्टर र एक जना एमडिजिपी डाक्टर (म आफैँ) छौं । म र एकजना मेडिकल अधिकृतबाहेक सबै करार हुनुहुन्छ ।
अस्पतालमा आँखा सम्बन्धी उपचार पनि हुन्छ जुन अप्थाल्मो असिस्टेन्ट हुनुहुन्छ । त्यसबाहेक आधारभूत उपचार र प्राथमिक सर्जरी (सिजरियन सेक्सन, एपेन्डिक्स, हर्निया, हाइड्रोसिल, ल्यापारोटोमी) जस्ता आकस्मिक सर्जरीहरू सबै हुन्छ ।
जिल्ला अस्पतालमा जनशक्ति र भौतिक पूर्वाधारको अवस्था कस्तो छ ?
चिकित्सकबाहेक सबैको दरबन्दी पूर्ण छ । यहाँ विशेषज्ञ चिकित्सकको एकदम अभाव र खाँचो छ । नयाँ निर्मित अस्पताल छ, हस्तान्तरण भएको छैन । यो भवन हस्तान्तरण भएपछि दैनिक सेवा प्रवाहमा अलि सजिलो हुने आशा छ । बजार र अस्पताल जोड्ने पुल नहुँदा बजारबाट बिरामी आउन ३० मिनेट लाग्छ, जुनकी पूल भएको खण्डमा २ मिनेटमा अस्पताल पुग्न सकिन्छ ।
जिल्ला अस्पतालमा सेवा लिन आउने कस्ता खालका बिरामी रहेका छन् ?
यहाँ विशेषगरी चिसोले होला दम, दमखोकी, निमोनियाजस्ता श्वासप्रश्वास र पाठेघर सम्बन्धी समस्या लिएर आमा दिदीबहिनीहरू आउनु हुन्छ । साथै ग्याट्रिक सम्बन्धी समस्या पनि जेनतेन नै छन ।
अहिलेको चुनौती बन्दै आएको नसर्ने रोग जस्तै उच्च रक्तचाप, मधुमेह अनि मानसिक रोग सम्बन्धी समस्याहरू बढ्दो क्रममा छन्, जो विश्वको लागि नै चुनौती बन्दैंछन् ।
सेवाग्राहीलाई छिटो—छरितो सेवा दिन सक्नु भएको छ ?
–यहाँको जनसंख्या नै कम भएकोले सेवा बिलम्ब छैन किनभने बिरामी अस्पताल आएको १–२ घण्टामा उपचार सेवा लिएर घर फर्किन्छन् । इमर्जेन्सी सेवाको लागि सबै विभागमा अन ड्युटी कर्मचारीहरू तैनाथ हुन्छन् ।
जिल्ला अस्पतालबाट दिन नसकिएको सेवा के हो जस्तो लाग्छ ?
विशेषज्ञ चिकित्सकको एकदमै अभावले सेवाहरूलाई विस्तारित गर्न गाह्रो छ ।
दुर्गम जिल्लामा रहेर स्वास्थ्य सेवा दिँदाका समस्या के पाउनु भएको छ ?
दुर्गम क्षेत्रमा चिकित्सकहरू सजिलै जान नमानेकोले विशेषगरी विशेषज्ञ डाक्टरहरू र औषधी मूलो अनि औजार भनेको समयमा ढुवानी गर्न नसेकेको अनि मंहगो ढुवानी खर्चले कहिलेकाहीँ सीप र अक्कल हुदा नि भने जस्तो सेवा दिन नपाउँदा खल्लो अनुभव हुन्छ । बत्ती, पानी, सडक र इन्टरनेटको यति धेरै समस्या छ । जुन चाहेर पनि हल गर्न नसकिने छन् ।
स्थानीय तह र प्रदेशसँग कस्तो समन्वय गरिरहनु भएको छ ?
वि.सं. २०७४ पछि नेपालको संविधान बमोजिम तीन तहका सरकार छन् । तीनै तहको चेन वा कमाण्ड नभएकोले र सबैको आफ्नै सरकार भएकोले स्थानीय र संघीय सरकारसँग हाम्रो प्रदेशको कार्यालयलाई सम्बन्ध र समन्वय गर्न अलिक कठिनाई छ तैपनि सामञ्जस्यता राम्रो छ । आशा छ— तीनै तहको सरकारको समन्वयमा धेरै सुधार हुनेछ ।
अस्पतालको सुधारका भावि योजना के रहेका छन् ?
नवनिर्मित भवनमा सर्दैछौ । अब खानेपानीको अवस्था सुधारका लागि खानेपानी उपभोक्ता समितिसँग गहन छलफलसँगै उहाँहरूको सहयोगमा ध्यानाकर्षण र अनुरोध गर्नेछौ । अक्सिजन प्लान्ट सञ्चालनमा प्रदेश सरकारसँग सहयोग र समन्वय गर्नेछौ । स्वास्थ्य बिमा कार्यक्रमलाई अझै सुदृढ गर्नेछौं ।