२०८१ पुस ६, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचारचिकित्सकबाट लापरवाही होइन त्रुटि हुन सक्छ : प्रा.डा. मनोहर

चिकित्सकबाट लापरवाही होइन त्रुटि हुन सक्छ : प्रा.डा. मनोहर


प्रा.डा. मनोहर प्रधान लामो समयदेखि चितवनमा रहेर चिकित्सा पेशाका साथै प्राध्यापन पनि गर्छन् । कलेज अफ मेडिकल साइन्सेजमा पछिल्ला १५ वर्षदेखि प्राध्यापनरत डा. प्रधान दुई पटक नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य भए । पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टीको बागमती प्रदेशको स्वास्थ्य तथा जनसंख्या विभागका संयोजक रहेका डा. प्रधानसँग हेल्थआवाजले नेपालको स्वास्थ्य क्षेत्र र चिकित्सा शिक्षाका विषयमा गरेको कुराकानीः

मेडिकल शिक्षाको सुरुवात कहाँबाट कसरी भयो ?
मेरो मेडिकल शिक्षाको सुरुवात जब नेपालमा पहिलो पटक प्राइभेट मेडिकल कलेजको कन्सेप्ट आएको थियो । तत्कालको डिआई मेडिकल कलेज (हालको नेपालगन्ज मेडिकल कलेजमा रुपान्तरण भएको)मा गए । पछि त्यहाँका विद्यार्थीहरु विभिन्न ठाउँमा सेटलमेन्ट भए । त्यही सिलसिलामा म बंगलादेशमा एमबीबीएस गर्न गए ।

मेडिकल शिक्षामा जाने इच्छा कसरी भयो ?
स्कुलमा पढ्दा मेरो पढाइ राम्रो थियो । जहिले पनि म पहिलो, दास्रो, तेस्रो वा चौथो हुन्थें । पढाइ राम्रो भएकोले त्यो समयमा के बन्ने भन्दा सबै विद्यार्थीले डाक्टर बन्ने, इन्जिनियर बन्ने भन्थे । त्यही क्रममा मेरो पनि डाक्टर बन्ने इच्छा जाग्यो । परिवारबाट मेरो मामा डा. विहारीलाल श्रेष्ठ नेपालको प्रख्यात अर्थोपेडिक सर्जन हुनुहुन्थ्यो । उहाँबाट पनि म यता जान प्रेरित भए ।

हजुरले कहाँबाट एसएलसी पास गर्नुभयो ?
एसएलसी मैले भानुभक्त ममोरियल स्कुल चितवनबाट गरें । वि.सं. २०४४ सालमा एसएलसी पास गरें । एमबीबीएस मेरो सन् २००० मा सकियो । त्यसपछि सन् २००३ बाट २००६ मा एमबीबीएस गर्न गएँ । एमबीबीएस सकिएपछि मैले केही सरकारी अस्पतालमा मेडिकलमा अफिसरको रुपमा काम गरें । त्यसपछि त्रिवि शिक्षण अस्पतालबाट एमडिजीपी गरेर अहिले यही छु ।

कलेज अफ मेडिकल साइन्सेजमा त्यतिबेलाको मेडिकल फ्याकल्टी कस्तो थियो ?
त्यति बेला नेपालमा मेडिकल पढ्न टिचिङ हस्पिटलमा थियो । त्यो सरकारीस्तरको पहिलो मेडिकल कलेज पनि भयो । त्यहाँ सबै ‘फ्याकल्टीहरु’ नेपाली नै हुन्थे । तर, यहाँ कलेज अफ मेडिकल साइन्सेज र मनिपाल मेडिकल कलेजमा बहुसंख्यामा इन्डियन ‘फ्याकल्टी’हरु नै थिए । किनभने, नेपाली ‘फ्याकल्टी’ डाक्टर र कन्सल्ट्यान्ट मात्र भएर भएन् । मेडिकल कलेजलाई मेडिकल कलेजको नम्स अनुसार प्रोफेसर लेभलको, एसोसिएटस लेभलको लेक्चरर र असिस्टेन्ट विश्वविद्यालयको पाठ्यक्रम र मेडिकल काउन्सिलको निर्देशिकाअनुसार नेपाली ‘फ्याकल्टी’ एकेडेमिकमा नभएपछि कलेजको मान्यता पाउदैन्थ्यो । त्यसकारण मुख्य इन्डियन फ्याकल्टी नै हुनुहुन्थ्यो ।

त्रिवि शिक्षण र कलेज अफ मेडिकल साइन्सेजमा के कस्तो फरक पाउनुभयो ?
त्यो बेलामा मैले देख्दा महाराजगंज क्याम्पसमा विद्यार्थीहरु सबै छात्रवृत्तिबाट जाने भए । छानिदैं अब्बल भनेर हुन्थ्यो, यहाँ पनि छान्न त छानिन्थे । तर, तुलनात्मक रुपमा इन्ट्रान्समा नाम निकाल्दा सुरुमा निकाल्नेको रोजाइ त्रिवि शिक्षण र क्रमसः अन्त हुन्थ्यो । यहाँ पनि छात्रवृत्तिका २० जना हुन्थे पछि डेढ सय सिट हुँदा ३० जना भए । त्यो सरकारले छात्रवृत्तिमै छनोट गरेर पठाउने भयो । महाराजगंजमा तपाईंले हेर्नुभयो भने सबै छात्रवृत्ति हो । त्यसले गर्दा विद्यार्थीहरु पढाइमा ‘क्रिम अफ द स्टुडेन्ट’ जाने जस्तो भयो । त्यो अलिकति फरक देखें । यहाँ विदेशी विद्यार्थी इन्डियन पनि हुन्थे, अलिअलि माल्दिभ्सबाट आउने, अलिअलि श्रीलंकालगायतबाट आउने गर्थे । पढाइ त मेडिकलको भाषा भनेको अंग्रेजी नै हुने हुँदा समस्या भएन । तेस्रो वर्ष ‘क्लिनिकल’ गएपछि पढाइ इङलिस मिडियममा भएपनि बिरामी जाँच्दा स्थानीय भाषा बोल्नुपथ्र्यो । बिरामीले त अंग्रेजीमा बोल्दैन्, त्यसकारण जहाँ पढेको छ त्यहाँको भाषा त सिक्नैपर्ने हुन्छ । यहाँ विदेशी विद्यार्थी ९० वा ९५ प्रतिशत भारतीय छन् । हिन्दी र नेपाली उस्तै भएकोले त्यति गाह्रो हुँदैन् ।

पहिला सय सिट मेडिकल कलेजले पाउँथे पछि १ सय ५० सिटसम्म पाए । फेरि १ सय सिटमा झारियो । यसले पढाइमा केही असर पार्छ ?
१ सय र १ सय ५० सिटमा टिचरले डेलिभरी गर्ने कुरामा फरक पर्ने जस्तो लाग्दैन । चाहे ७५ लाई बढाउनुस्, चाहे १ सय वा चाहे १ सय ५० लाई पढाउनुहोस् । तर, एउटै बेन्चमा ६, ७ जना बस्ने पढाएको नसुन्ने भयो भने पूर्वाधारको कमी कमजोरी हुन दिन हुँदैन् । अहिले विदेशमा हेर्ने हो भने एउटा ब्याचमा ३ सय विद्यार्थीहरुसम्मलाई पढाउँछ । त्यो भनेको अलिकति पूर्वाधारको पार्ट भयो । किनभने, यो मेडिकल भनेको धेरै ‘डिड्याक्टिक लेक्चर’ मात्र नभएर समस्यामा आधारित सिकाइ हो जुन सानो समूहमा छलफल हुन्छ र ‘क्लिनिकल’मा हामीले ‘ग्रुपवाइज’ गराउँछौं । लेक्चररको कुरा गर्दा साउण्ड सिस्टम राम्रो छ । बस्ने कोठा राम्रो छ भने खासै फरक पर्दैन ।

तपाईं मेडिकल काउन्सिलमा पनि बस्नुभयो, क्लिनिकल प्राक्टिस पनि गर्नुहुन्छ र एउटा प्रोफेसरको रुपमा शैक्षिक गतिविधिका रुपमा पनि सक्रिय हुनुहुन्छ । यो तीन वटा पक्षबाट अहिलेको मेडिकल एजुकेशनलाई हेर्दा कतातिर गइरहेको जस्तो लाग्छ ?
मैले दुई कार्यकाल नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य भएर काम गरें । यो आठ वर्षमा मेडिकल काउन्सिलले निर्देशित गरेको स्ट्याण्डर्ड कस्तो किसिमको हुनुपर्छ भनेर मेडिकल काउन्सिलको वि.सं. २०२० बाटै स्थापना भएको हो । त्यहाँ गएर काउन्सिलको हिसाबमा हेर्दा नेपाल मेडिकल काउन्सिलले एउटा ‘क्वालिटी एजुकेसन प्लस क्वालिटी’ हेल्थकेयरको विषयमा मुख्यतयाः रहेको पाइयो । जसले एउटा रेगुलर बडी नेपालमा मेडिकल शिक्षा पनि गुणस्तर हुनुप¥यो र स्वास्थ्य सेवा पनि गुणस्तर हुनुपर्‍यो । त्यसपछि अरु इथिकल, इलिजिबिलिटी र आचरण विरुद्धमा काम गर्‍यो भने पनि त्यो किसिमको अन्य विभिन्न कमिटीहरु छन् । रजिष्ट्रेसन कम्पनी, नेपाली डाक्टरलाई रजिष्ट्रेसन गर्ने, विदेशी डाक्टरलाई नेपालमा काम गर्दा रजिष्ट्रेसन गर्ने विभिन्न कमिटी छ । हाल आएर चिकित्सा शिक्षा आयोगले गर्ने गर्छ । सबै मेडिकल रिलेटेड निकायहरुलाई रेगुलेशन गर्ने गर्छ । तर, त्यो बेलामा मेडिकल काउन्सिलको सदस्यको रुपमा विभिन्न मेडिकल कलेजको इन्सट्रक्सन गर्ने, निरीक्षण गर्ने, सिट निर्धारण गर्दा त्यो सिट पाउन योग्य छ कि छैन, यदि गरेको छ भने के कारणले गर्दा त्यो सिट तोकियो, कुनै बेलामा घटाइएको छ भने के—के कारणले घटाइयो ? त्यो सबै निर्देशिकाअनुसार नै त्यो बेलामा काम गरिएको थियो ।

काउन्सिलका काम चिकित्सा शिक्षा आयोगले गरिरहेको छ । तपाईलाई के लाग्छ, चिकित्सा शिक्षा आयोग अहिले जुन काम गरिहेको छ त्यो काउन्सिललाई दिएको भए काउन्सिलबाट हुन सक्ने थियो कि थिएन ?
मेरो विचारमा प्रष्ट रुपमा भन्नुपर्दा एउटा सोचले नेपालमा एउटा छाता संस्था आयो । त्यसकै उपजको रुपमा चिकित्सा शिक्षा आयोग आयो । जसले मेडिकल मात्र नभएर पारामेडिकल र सिटीईभिटी पनि आयोगबाट नै रेगुलेशन भइरहेको छ । त्यो बेलामा नेपाल मेडिकल काउन्सिल संस्था स्थापना भएर कति वर्षसम्म नेपालमा इन्स्टिच्युट अफ मेडिसिन मात्र थियो । त्यसपछि प्राइभेट मेडिकल कलेज वि.सं. २०४६ सालपछि तत्कालीन भारतसँगको सहयोगमा आएको हो । यो कलेज अफ मेडिकल साइन्सेज पनि त्यही नेपाल सरकारको आग्रहअनुसार आएर खुल्यो, मनिपाल पनि त्यही हो । नेपालगन्जको मेडिकल कलेज त्यही हो । त्यसपछि बल्ल मेडिकल काउन्सिलको रोल अझ धेरै हुन थाल्यो ।

पहिला एउटा मात्र थियो । पछि धरान खुल्यो । त्यसपछि अरु—अरु कलेज खुल्दै गए । त्यसपछि बल्ल मेडिकल शिक्षा भनेर नेपालमै जनशक्ति उत्पादन गर्न थालियो । पहिला नेपाली विद्यार्थी विदेशमा छात्रवृत्तिमा गएर पढेर शिक्षा लिएर डाक्टर बनेर नेपालमा फर्किन्थे । तर, पछि नेपालमै किन गर्न नसक्ने ? भन्ने हिसाबमा त्यो भएको हो । जसका कारण आज तपाईले हेर्नुभयो भने आज पनि देशमा सरकारी कलेजहरुबाट प्रोडक्सन भएको डाक्टरको संख्या र प्राइभेट मेडिकलको संख्या हेर्नुभयो भने स्पष्ट हुन्छ । निजी मेडिकल कलेजको भूमिका कति हो भन्ने कुरा सानो उदाहरण कोभिडको समय थियो । त्यो बेलामा प्राइभेट सेक्टरले सरकारसँग हातेमालो गरेर गर्न सक्यो । त्यसले गर्दा मात्र नेपालमा कोभिडको अरु देशमा जस्तो भयावह हाम्रो देशमा भएन् । त्यसकारण अवश्य नै नेपालमा प्राइभेट सेक्टरले ठूलै टेवा पुर्‍याएको मलाई लाग्छ ।

अहिले हाम्रो स्वास्थ्य क्षेत्रमा कस्ता समस्या देख्नुहुन्छ ? विशेष गरेर मेडिकल शिक्षाका क्षेत्रमा ?
मेडिकल शिक्षाका क्षेत्रमा प्रि—क्लिनिकल र क्लिनिकल छ । नेपालमा अहिले पनि पहिलो च्वाइस प्रि—क्लिनिकल बेसिक साइन्स पढ्न चाहनेलाई छ । किनभने, फ्याकलिटी पोजिसनमा जान चाहनेलाई स्नातकोत्तर गरेकै हुनुपर्‍यो । स्नातकोत्तर गरेर प्रि—क्लिनिकल साइन्स लिइयो भने उहाँहरु टिचर हुनु भयो । तर, क्लिनिकल प्राक्टिस नहुने भयो । त्यही कुरा एउटा मेडिसिनको प्रोफेसरले पढाउने पनि भयो, बिरामी जाँच्ने पनि भयो । तर, त्यही एनाटोमीको प्रोफेसरले एनाटोमी मात्र पढाउने भयो । बिरामीसँग उहाँको सम्पर्क नहुने भयो । त्यो यहाँ मात्र होइन विश्वमै छ । हाम्रो नजिकको देश भारतमा पनि यसको एकदमै समस्या छ । यसको टिचरहरु कम छ । नेपालमा अहिले पनि कम छ । क्लिनिकल पाटोमा नेपाली जनशक्ति नै प्रोफेसरको लेभलमा पुगिसक्नुभएको छ । तर, अहिले पनि बेसिक साइन्समा हामी विशेष गरेर भारतीय डाक्टरहरुसँग भर पर्नु परेको छ ।

अहिले हामीले लिइरहेको स्वास्थ नीति ठिक छ ? यहाँ जति पनि उत्पादन भएका विद्यार्थीहरु छन्, उनीहरुको टार्गेट यहाँ पास गर्ने त्यस पछि विदेशहरु छन् किन ?
यसमा हामी सबैले सोच्नुपर्ने छ । अहिले एमबीबीएस पास गरेर हरेक वर्ष करिब—करिब २ हजारदेखि २ हजार २ सयसम्म निस्किन्छन् । त्यही हिसाबमा पहिला त पोष्ट ग्रयाजुयट गर्नेको सिटहरु एकदमै कम थियो । अहिले गर्‍यो भने ४ सयदेखि ५ सयको बीचमा छ । एमबीबीएस प्रोडक्सन २ हजार २ सय छ । तर पिजीमा जम्मा ५ सय सिट छ भनेपछि १ हजार ५ सय, १ हजार ७ सयले त सिट नपाउने भयो । पूरै दक्ष जनशक्ति भनेको त एउटा स्नातकोत्तर गरेको भयो । त्यो मौका कसरी बढाउन सकिन्छ । बढाउने भनेर क्वालिटी कम्प्रोमाइज गर्न भएन । तर, त्यसलाई कसरी बढाउन सकिन्छ भन्ने हामी सबैले नै मिलेर सोच्नुपर्नेछ ।

नेपालमा सन् २००९ मा मेडिकल काउन्सिलमा रजिस्टर्ड भएका ९—१० हजार डाक्टर थिए । अहिले हेर्नुभयो भने करिब—करिब ३४ हजार डाक्टर छ । तर, मलाई लागेको नेपाललाई कति जना डाक्टर चाहियो त ? जस्तो इटालीमा हेर्नुभयो भने धेरै ट्याक्सी ड्राइभर डाक्टर हुन्छ भन्छन् । इटालीमा डाक्टर क्याब ड्राइभरसम्म हुन्छ । त्यति धेरै हुन्छ । सरकारले नेपालको जनसंख्याअनुसार डब्लुएचओको जुन मापदण्ड छ त्यहीअनुसार जनशक्तिको विकास र उनीहरुलाई काम दिदै लानुपर्छ ।

अहिले चिकित्सा शिक्षा आयोगले लिएको इन्ट्रान्सको कुरा गर्ने हो भने एमडी, एमएसभित्र टपटेन भित्र वा टप १५ भित्र नाम निकालेकाले पनि पढ्नको लागि बाहिर नै गइरहेको देखिन्छ यस्तो किन हुन्छ ?
त्यसलाई हामी एउटा भाषामा ‘ब्रेन ड्रेन’ भन्छौं । त्यो सबैले गम्भीर भएर सोच्नुपर्ने कुरा हो । किनभने, उत्पादन भयो नेपालमा, उसले ब्याचलर त नेपालमै पढ्यो । अनि, हामीले प्रोडक्सन गर्ने अनि सेवा गर्न जाने विदेश भएको छ । त्यो किन भइरहेको छ भन्ने कुरा बुझ्नुपर्‍यो । हामी गइरहेको छ, गइरहेको छ भन्छौं । तर किन त ? यो दुई तीन वटा कारण हेर्दा एउटा नेपालमा ‘पे’ स्केल लो’ छ । त्यही अमेरिकामा गएर गर्‍यो भने सुरुवाती पारिश्रमिक नै १ लाख रुपैयाँ हुन्छ । अहिलेको हिसाबमा एक करोडको हिसाबमा भयो, त्यहाँ सिस्टम छ । सिस्टममा काम गरेपछि त्यो डाक्टरलाई पनि ‘सेक्युरिटी फिल’ हुन्छ । अहिले नेपालमा के छ भने काम गर्दा ‘पे स्केल लो’ छ । भोलि ‘क्यारियर’ ‘अपरच्युनिटी’का हिसाबले माथि पुग्दै जानेमा शंका छ । डाक्टर भएर काम गर्दा सेक्युरिटीको प्रश्नहरु हामी सुन्छौं, त्यसमा डर छ ।

चिकित्सकहरुले उपचारमा लापरवाही गर्छन् भन्ने छ, के साँच्चै लापरवाही गरेका हुन्छन् ?
लापरवाही भनेर म कदापी मान्न सक्दिनँ । लापरवाही भनेको दुईवटा कुरा हुनुपर्‍यो । कुनै पनि डाक्टरले यो बिरामी भोलि गएर बाँचोस् वा मरोस् म पैसा असुल्छु भनेर गर्नुपर्‍यो, त्यो कसैले पनि गर्दैनन् । उसले गरेको त्रुटि हुन सक्छ तर लापरवाही भन्न मिल्दैन् । मैले लाइसेन्स लिएरै गाडी चलाइरहेको छु तर मबाट गल्ती नै हुँदैन भन्ने त छैन नि ! म बाट पनि गल्ती हुन सक्छ । तर, त्यो गल्ती कसरी भयो ? भन्ने कुरा पनि त आउँछ । गाडी मैले विस्तारै चलाइरहेको छु । जेब्रा क्रसिङमा गाडी रोक्न खोज्दा—खोज्दै पनि रोकिएन भने त मादक पदार्थ सेवन गरेको व्यक्तिलाई जत्तिकै सजाय हुनु भएन । भनेको डाक्टरबाट पनि त्रुटि हुन सक्छ । त्यो गर्दा कस्तो सोचविचारले गरेको छ हेर्नुपर्छ । उसले काम गर्दागर्दै पनि हुन सक्ने घटना हो । सबै बिरामीको शल्याक्रिया गर्दा सय प्रतिशत नै ठिक भएर जान्छन् भन्ने त छैन । सबै आईसीयुमा राखेको बिरामी निको भएरै जान्छन् भन्ने छैन । त्यसमा जनचेतना जगाउनुपर्ने सबै नागरिक समाजको दायित्व छ ।

एउटा सफल व्यवसायी डाक्टर हुनुहुन्छ । राजनीतितिर जाने इच्छा कसरी आयो ?
मेरो पारिवारिक पृष्ठभूमी हेर्नुभयो भने मेरो बुवादेखि नै एउटा राजनीतिक परिवार हो । त्यसले केही न केही प्रभाव मलाई पारेकै हो । त्यही हिसाबमा कलेज जाँदा पनि र बंगलादेशमै एमबीबीएस पढी राख्दा पनि त्यहाँका नेपाली विद्यार्थीहरुको अध्यक्ष हुन पुगे । पोलिटिक्स भनेपछि मलाई नेतृत्व भन्ने लाग्छ । त्यसलाई तपाई पोलिटिक्स भन्नुस कि एनजीयो भन्नुस, कि क्लब भन्नुस् । त्यो भनेको मुख्य कुरा लिडरसीप हो । हाम्रो अगाडि वि.सं. २०४६ सालको आन्दोलन भयो, वि.सं. २०६२–६३ मा भयो । त्यो बेलामा म टिचिङमा नै काम गर्थे । राज्यको संरचना, प्रजातन्त्र, लोकतन्त्र यो सबै हेर्दा सचेत नागरिकको हिसाबमा अवश्य पनि हामी जस्तो एउटा पढेलेखेको मान्छेमा त्यसमा इच्छा आउनु स्वभाविक नै हो । किनभने, त्यसले कतै न कतै प्रत्यक्ष—अप्रत्यक्ष रुपमा हामीलाई असर पारेकै हुन्छ । त्यसकारण हामी पढे लेखेको मान्छेले अलिकति सचेत हुनु सामान्य कुरा हो । त्यसमा पनि अलिकति केही गर्‍यौ भन्ने भाव मेडिकल क्षेत्रमा भनौं अथवा देशकको लागि पनि केही गर्न सकिन्छ कि भन्ने एउटा सकारात्मक विचार थियो ।

यही सिलसिलाअनुसार मेडिकल काउन्सिलमा चुनावबाटै निर्वाचित भएको हो । त्यसलाई राजनीति भनेपनि मेडिकल पोलिटिक्स त हो । भोट त माग्न जानै पर्‍यो । डाक्टरले भोट नै हाल्ने हो । चुनावमा जिते यस्तो गर्छु त भन्नै पर्‍यो । त्यो पनि एक किसिमको पोलिटिक्स नै हो भन्ने मान्छु म । तर, मैले अहिलेसम्म कुनै पनि पार्टीको झण्डा बोकेर हिडेको छैन् । बरु, अहिले भर्खरै एउटा पार्टीमा आवद्ध भए । अहिले राष्ट्रिय स्वतन्त्र पार्टीबाट केही गरौं भन्ने थियो । एउटा मौकाको खोजीमा थिए । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति रवि लामिछानेजी चितवन क्षेत्र नं २ जहाँ म बस्छु त्यहीबाट दुई पटक निर्वाचित हुनुभयो । एक पटक उहाँसँग कुरा भयो । मेरो अग्रजहरु जसले राम्रो—नराम्रो छुट्याउनु हुन्छ । उहाँहरुसँग पनि मैले धेरै छलफल गरें । पद लिनु मेरा लागि ठूलो कुरा होइन् । तर, पद लिएर काम गर्न सकेन भने त्यो त फेलियर हो । त्यो कुरा विचार गरिसकेपछि बागमती प्रदेशको स्वास्थ तथा जनसंख्या विभागको प्रमुख भएर काम गर्नुपर्‍यो भनेपछि त्यसलाई मैले स्वीकार गरें । हाल बागमती प्रदेशको स्वास्थ्य तथा जनसंख्या विभागको प्रमुख भएर काम गरिरहेको छु ।

अब पूरै राजनीतिमा लाग्नुहुन्छ कि आफ्नो पेशालाई पनि निरन्तरता दिनुहुन्छ ?
स्वास्थ्य तथा जनसंख्या विभागको प्रमुख भनेको मेरो विज्ञतासँग जोडिएको भयो । तर, मलाई मौका र अवसर आयो भने अवश्य अरु क्षेत्रमा जहाँ जेमा जति जरुरत छ र मैले राम्रो काम गर्न सक्छु भने त्यहाँ मैले जिम्मेवारी लिनुपर्छ भन्ने मलाई लाग्छ ।


क्याटेगोरी : अन्तर्वार्ता / विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ