प्रा.डा. चन्दा कार्की जीवनको अर्को इनिङ सुरु गर्दैछिन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रतिनिधीसभा सदस्य बन्ने निश्चित भएसँगै व्यस्त चिकित्सकमा पर्ने उनको नयाँ इनिङ सुरु हुन लागेको हो । स्वास्थ्य सेवा र चिकित्सा शिक्षाका विषयमा जानकार रहेकी डा. कार्कीसँग उनको राजनीतिक यात्रा, संसदमा उपस्थिती, त्यहाँ उनले उठाउने सवाल र चिकित्सा पेशाको निरन्तरताका सम्बन्धमा हेल्थआवाजले गरेको कुराकानीः
राजनीतिमा लाग्नुपर्छ भन्ने सोच कहाँबाट आयो ?
राजनीतिमा लाग्छु भनेर कहिल्यै सोचेको थिइनँ । आफ्नो पेशामा दतचित्त भएर ३७ वर्षदेखि काम गरे । एक वर्षअघि कामबाट रिटायरमेन्ट लिएँ । तर, अझै पनि १०—१५ वर्ष केही नयाँ कामको थालनी गरें भनेपनि सक्छु भन्ने लाग्यो । त्यत्तिकै केही नगरी बस्ने मनसाय ममा थिएन ।
विदेशबाट पनि जागिरका लागि अफर नआएका होइनन् । आफ्नै देशमा केही गर्ने भनेरै ती अवसर त्यागेकी हुँ । पछिल्लो समयमा साधारण नागरिकजस्तै म पनि सरकारसँग कतिपय कुरामा निराशा लिएर बसेको नागरिक हुँ । अहिले एक किसिमको परिवर्तनको माहोल आएको देखिएको छ । यो माहोल बालेन्द्र शाहजीले ल्याउनुभएको जस्तो पनि लाग्छ ।
दुई वर्षअघिदेखि डाक्टर साथीहरुसँग सिस्टम परिवर्तन गरिनुपर्छ भन्ने कुरामा छलफल गर्दै आएकी थिएँ । तर, कोठामै मात्रै सिमित भए । कतिपयले तिमी अघि लाग न त भन्नुहुन्थ्यो तर म टिम चाहिन्छ भनेर त्यो पर्खाइमा थिए । हामी कम्तिमा पनि १५ जना हुनुपर्छ ती सबैले परिवार र जिउँज्यानको पनि माया मारेर लागि पर्नुपर्छ, त्यसरी आउने हो भने म तयार छु भनेको थिए । तर, यो कुरालाई कसैले पनि गम्भीर रुपमा लिएको मैले देखिन ।
स्थानीय तहपछि स्वतन्त्र उम्मेदवारहरुको एक किसिमको माहोल थियो । तर, एक्ला–एक्लै केही गर्न सकिन्न भन्ने लाग्थ्यो । त्यसै समयमा राष्ट्रिय स्वतन्त्र पार्टीको उदय भयो, सभापति रवि लामिछानेसँग पहिले गिनिज बुक अफ रेकर्डमा निरन्तर अन्तर्वार्ता लिएर नाम लेखाउनुभएको समयमा उहाँसग अन्तर्वार्ता थियो र त्यही समय हामी पहिलोपटक भेटे भएको थियो । उहाँको टेलिभिजनका कार्यक्रम, उद्धारका कार्यहरु तथा काठमाडौं मेडिकल कलेजमै हुँदा पनि उहाँले सहयोग गरेको कुराले पनि नजिक हुन भूमिका खेल्यो । उहाँले पार्टी निर्माणसँगै चुनावमा जाने कुरा गर्नुभयो । म प्रत्यक्षमा लड्न तयार थिइनँ । पार्टीले समानुपातिकका लागि विश्वास ग¥यो, त्यसलाई सहज स्वीकार गरे । तर, यो मेरो ठूलो च्यालेजिङ काम हो ।
एक वर्ष पहिलेको अन्तर्वार्तामा तपाईंले एकेडेमिक सेक्टरको नेतृत्व गर्ने लक्ष्य रहेको भन्नुभएको थियो किन नीति निर्माण तहकै लागि अग्रसर हुनुभयो ?
हो, सही कुरा गर्नुभयो । म त्यही क्षेत्रमा लामो समय काम गरेको हुँदा स्वभाविक पनि थयो । एक वर्षभन्दा बढी कुरे पनि । म सेवा निवृत्त भएको सबैलाई थाहा थियो । नेपालमा औलामा गन्न सकिने एकेडेमिक इन्स्टिच्युटहरु छन् । त्यसमा नियुक्ति प्रायः राजनीति तहबाटै हुन्छन् । यहाँ मैले धेरै कुरा नगरौं । तर, चाकरी गर्दै मलाई यसमा राखी देउ भन्ने मेरो स्वभाव होइन् । मेरो कार्य अनि खुबी त प्रायः सबैले देख्नुभएको छ नि । मैले काठमाडौं मेडिकल कलेज, काठमाडौं विश्वविद्यालयमा गरेको कामहरु कतै पनि लुकेको छैन । ३७/३८ वर्ष काम गरेको मेरो इमान्दारितामा सायदै कसैले औंला उठाउनुहुन्छ होला । तर, उहाँहरुले पनि म जत्तिको मान्छेले केही गर्न सक्छ भनेर प्रस्ताव ल्याउनुभएको भए मैले केही गर्थे होला र यो कुरा मेरो हातको पनि भएन । यही बीचमा यो परिवर्तनको लहर आयो र चुनावभन्दा एक महिना अघि मात्र मेरो निर्णय भएको हो, त्यो हिसाबले नै म यता होमिएँ । आखिर जता गएपनि देशकै सेवा गर्ने हो ।
तपाईंको पारिवारिक पृष्ठभूमीका सबै स्थापित पार्टीमै संलग्न हुनुहुन्छ । तर, तपाईंले ती पार्टीमा नगएर किन नयाँ पार्टी रोज्नुभयो ?
पुराना र स्थापित पार्टीबाट त्यस्तो अफर त केही आएका थिएनन् । अहिलेका ठूला पार्टी भन्नाले नेपाली कांग्रेस, नेकपा एमाले वा मधेशको कुरा गर्दा जसपा, लोसपा छन् । मेरो परिवारका पनि केहीले ती पार्टीबाटै जीत हासिल गरेर पनि आउनुभएको छ । म ती पूराना ठूला पार्टीहरुको केही पनि देन छैन भन्दिनँ । किनकी सबैको राम्रो योगदान छ र आफू ठूलो हुनका लागि अरुलाई सानो बनाउनेमा म पर्दिनँ । तर। म एउटा नागरिकको हिसाबले आफू ती पार्टीहरुसँग खुशी छैन । सडक, बाटो, स्वास्थ्य अवस्था यी कुरामा मेरो पनि चित्त बुझाइ छैन । मेरै गाउँमा म केटाकेटी हुँदादेखि नै नजिकका मान्छेहरु पहुँचमा त पुग्नुभएको छ । तर, हालसम्म केही परिवर्तन भएपनि अझै थुप्रै समस्याहरु छन् । मैले आफूले पनि त्यहाँ प्रवेशका लागि केही गरिनँ अनि ती पार्टीहरुको पूराना संगठनहरु भएकाले प्रथामिकतामा मभन्दा बढी लगानी भएका कार्यकर्ता पर्नु स्वभाविक हो । मैले आखिर जहाँ बसेर पनि इमान्दारिताका साथ जनताको लागि काम नै गर्ने भन्ने नै हो ।
पार्टीको घोषणापत्र एकातिर छदैंछन् । संसदमा जाँदैं हुनुहुन्छ विज्ञताको हिसाबले कस्ता एजेन्डाहरु प्राथमिकतामा पर्नेछन् ?
केटाकेटीदेखि नै धेरै घोषणापत्र देखियो । तर, ती घोषणापत्र चुनावका लागि मात्र सिमित भएँ । घोषणापत्रअनुसारका कानमहरु देखिएन् । आजसम्म भएको त्यही नै हो । रास्वपाले पनि त्यसैकारण घोषणापत्र नभनेर बाचा भनेर छ । काम चुनौतीपूर्ण छ र हामी गएर एकै रातमा सबै कुरा बदल्न पनि सक्दैनौँ । तर, सोच, बाटो परिवर्तन हुनसक्छ । गलत गर्ने मान्छेहरु डराएर त्यो रोकियो भने पनि ठूलो कुरा हो । ६ वर्षदेखि नबनेको भैसेपाटीको बाटो आज दुई चार जना गएर आवाज उठाउँदा काम सुरु हुन थाल्यो । त्यसकारण जनाताको प्रमुख मुद्धा भनेकै खानेपानी, यातायात, स्वास्थ्य, बाटो, रोजगारी हो, ठूला कुरा त नेपालीलाई केही चाहिएको छैन । तर, उठेका मुद्धाहरुका लागि जनताको साथ लिए बोलिदियो भने ठूलो हुन्छ जस्तो मलाई लाग्छ । म अहिले गएर मन्त्री हुने पनि होइन, प्रधानमन्त्री हुने पनि होइन तर आफ्नो स्थानमा बसेर बलियो आवाज भएर संसदमा मात्रै होइन्, समाजमा पनि गएर हामीले केही गर्न सक्नुपर्छ । गाउँका बिरामीहरुलाई एम्बुलेन्सको व्यवस्था गर्न सकियो भनेपनि ठूलो कुरा हुन्छ । तर, चुनावमा उठ्यो, जित्यो अनि त्यसपछि हरायो चाहिँ हुनुभएन । जिल्ला—जिल्लामा बसेर जनताको पीरमर्का बुझेर हिँड्ने नेता त कमै छन् र यो ट्रेण्ड चाहिँ बदल्नुपर्छ कि भन्ने मलाई लाग्छ ।
निर्वाचन क्षेत्रमा पनि निकै खटिनुभयो । समग्रमा चुनावको अनुभव कस्तो रह्यो ?
समानुपातिकमा एउटा निश्चित क्षेत्र भन्ने हुँदैन्, यसमा देशैभरिको मत गनिन्छ । एक महिनाअघि मात्रै निर्णय भएकाले मसँग धेरै समय थिएन । मैले घरदैलो कार्यक्रमहरु पनि गरें । काठमाडौं, पोखरा, वीरगन्ज, जनकपुर यी सबै ठाउँका मानिसहरुले सामाजिक सञ्जालहरुबाट पनि थाहा पाइसकेकोले सबै रास्वपाबारे जानकार थिए । तर, गाउँघरमा खासै थिएन । मैले महोत्तरीकै ५००—६०० घरमा पुगें । उहाँहरुलाई यो राष्ट्रिय स्वतन्त्र पार्टी भनेको के हो, घण्टी के ? भन्ने थाहा थिएन । मलाई डाक्टरको रुपमा चिनेकाले तपाईं पनि लाग्नुभयो भन्नुहुन्थ्यो ? सायद त्यसैले होला महोत्तरीबाट ८—९ हजार मत आयो । त्यो गाउँघरमा जाँदा त्यहाँ शिक्षाको एउटा आधार पनि छैन्, बच्चाको शरीरमा कपडा पनि छैनन्, घरमा पानीको लाइन पनि छैन, स्वास्थ्यको लागि नजिक पहुँच छैन्, भएपनि खर्च धान्ने स्थिती छैन, किसानको आफ्नै मर्का छ, बाटोघाटो छैन । म सानो हुँदादेखि भएको परिवर्तन भनेको बिजुली बत्ती र केही पक्की घर मात्रै हुन् । त्यो पनि उनीहरुका छोराछोरी विदेशमा गएर कमाएर ल्याएकाले बनाएको स्थिती छ । नेपाल सरकाररले केही जिम्मेवारी बहन गरेजस्तो लागेको छैन । गाउँमा एम्बुलेन्स सेवा चाहियो भनेर केटाकेटीको क्लबले माग्दा पनि नदिएको स्थिती छ । त्यो एम्बुलेन्स पनि भारतीय राजदूतावासले दिनुपर्ने, आफ्नो खर्चमा एम्बुलेन्सको सेवा देउभन्दा पनि नदिने स्थिती छ । चार पुस्तादेखि हामीसँग जोडिएका मानिसले नागरिकता नपाएर रोइरहेका छन् । पाउने मान्छेले त नागरिकता पाउनुपर्यो नि । साधारण र सिधा मान्छेको कुरा सुनिदिने कोही भएनन् ।
२०६३ पछिका स्वास्थ्यमन्त्री हेर्ने हो भने प्रायः मधेश प्रदेशबाटै छन् । तर, स्वास्थ्य सुचांकहरु हेर्ने हो त्यहीको कमजोर छ । किन ?
मेरो विचारमा कुनै पनि देशलाई राम्रो बनाउने मुख्य कुरा नै स्वास्थ्य हो । दरिलो स्वास्थ्य प्रणाली हुनुपर्छ । अरु क्षेत्र हेरिकन स्वास्थ्यमा काम भएका छन्, त्यो मान्नुपर्छ । माओवादी युद्धको त्यो संकटको अवस्थामा पनि सबैतिर खोप कार्यक्रमहरु भए, हामीलाई यूएनले एवार्ड पनि दिएको छ । तर, अहिले काम गर्ने माहोल पनि छैन । मेरा दुईजना साथीहरुले कार्यकाल नै पूरा नगरी सरकारी जागिर छाड्नुभयो । भन्न त अरु केही कारण होला तर के वेथितीले गर्दा त्यो भयो कि वा महिलाकर्मी भएकाले त्यो भयो ? यो सबै बुझिदिनुपर्ने अवस्था छ । हामी कहाँ राम्रो नीति नभएको होइन, नीति राम्रो छ । तर, त्यसको प्रयोगमा इमान्दारिता छैन । पत्रपत्रिकाले सम्पूर्ण स्वास्थ्य अवस्थाका बारेमा लेखेका छन्, बोलेका छन् । तर, हामीकहाँ जे कामको लागि पनि पैसा नै अघि सार्नुपर्ने स्थिती छ ।
संसदमा आधा दर्जनभन्दा बढी चिकित्सक संसदमा पुग्नु भएको छ । फरक पार्टीबाट हुनुहुन्छ । के तपाईंहरु स्वास्थ्यका विषयवस्तुमा एक भएर अगाडि बढ्न सक्नुहोला ?
जति पनि चिकित्सक जो मेरो पार्टी वा अन्य पूराना पार्टीबाट आउँदै हुनुहुन्छ, उहाँहरु सबैलाई मैले चिनेको छु । उहाँहरुले उठाउनुभएको मुद्धा पनि जनताकै हो । यदि जनताको भलो हुने काममा म पार्टीभन्दा माथि उठेर बोल्छु । जनहितका लागि बोल्नेको पक्षमा उभिन्छु । मुख्यतः जनता नै हुन र यसमा दुईमत हुनुपर्ने केही कुरा छैन । कहिलेकाहीँ आफ्नो क्षेत्रका लागि गर्नको लागि मतभेद होलान् । तर, आफूले बोलेको क्षेत्रमा किन जाँदैछौं र त्यो किन महत्वपूर्ण छ भन्ने कुरा त हामीले नै बोल्ने हो । त्यसलाई सरकारी, गैरसरकारी जुनै ठाउँबाट जुटाएर भएपनि जनताले पाउनुपर्यो । फरक मत आउलान् जस्तो मलाई लाग्दैन्, किनकी डाक्टरहरु बिरामीसँग जोडिएका हुन्छन् । उनीहरुको एजेण्डा पनि मिल्न सक्छन् । नियतको कुराको जिम्मा लिन सकिँदैन तर मिलेर जानुपर्छ ।
तपाईंले चिकित्सा पेसासँगै चिकित्सा शिक्षाको लागि पनि लामो समय काम गर्नुभएको छ । चिकित्सा शिक्षा आयोग बनेपछि यसका सकारात्मक र नकारात्मक दुवै कोणबाट बहस भइरहेका छन् । संसदमा तपाईंको उपस्थितीले चिकित्सा शिक्षाले कति प्राथमिकता पाउँछ ?
यो एकदमै राम्रो प्रश्न गर्नुभयो । चिकित्सा शिक्षा सम्बन्धी कुरा उठ्छन् नै । यो विषयले जनताहरुलाई छुन्छ नै र मैले चिकित्सा शिक्षामा २१ वर्ष काम गरेको छु । यस सम्बन्धी मलाई राम्रै ज्ञान छ । स्वास्थ्य शिक्षा सरकारकै दायित्व हो, हाम्रो संविधानले नै त्यो ग्यारेण्टी गरेको छ । सँगसँगै पब्लिक प्राइभेट सहकार्यता पनि हुन्छ । तर, यसलाई मिलाउन नसकिएको अवस्था छ । लोभलालचमा फसेको अवस्था छ । डा. गोविन्द केसीको आन्दोलनले गर्दा चिकित्सा शिक्षा आयोग गठन भएको छ । तर, प्राइभेटको कुरा गर्दा धेरै बेथिती र अन्य कुराहरु आएका छन् र अझै नसुध्रिएको अवस्था छ ।
यसलाई अझै जनमुखी बनाउनुपर्छ र सरकारको दायित्व राम्रोसँग निभाउनुपर्छ । यस्ता धेरै कुरा छन् । सरकारले नियमन गर्दै सहज बनाउनुपर्छ । सरकारी निकायहरु वीर अस्पताल, पाटन अस्पताल, त्रिवि शिक्षण अस्पताल, धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पताल, जिल्लाका अस्पतालहरुको अवस्था सुध्रिनुपर्यो । सरकारको हेरचाहमा भएका यी सम्पूर्ण अस्पतालहरु रोलमोडलका रुपमा विकास गर्नुपर्छ । यसका लागि बाटो पनि नखाजेको अवस्था छ । अब बाटो खोजिनुपर्यो अवस्था आइसकेको छ । जनताले त्यहाँ गुणस्तरीय सेवा सहज रुपमा प्राप्त गर्न सक्नुपर्यो । मानिसहरुले यो कुरालाई सानो भन्छन् तर म यी साना कुरालाई नै महत्व दिने मान्छेमा पर्छु ।
राजनीतिमा लागेपछि चिकित्सा पेशामा कसरी सक्रिय रहनुहुन्छ ?
मेरो विचारमा राजनीति गर्ने मान्छेले एउटा पेशा गरेर खानुपर्छ । मैले हेर्न बाँकी छ, संसदको कामले मेरो कति समय माग्छ । तर, राजनीति गर्ने मान्छेको एउटा पेशा चाहिन्छ र त्यो भयो भने गलत गरेर ऊ अघि बढ्न पाउँदैन् । मैले पनि पछि राजनीति छाडेपछि यही पेशामा फर्किनुपर्छ सरकारको पेन्सन खाएर जिन्दगी काट्छुजस्तो लाग्दैन् । सांसदको हिसाबले पाउने सेवासुविधा पाउँला । तर, त्यहाँबाट प्राप्त कुराले नै सबै कुरा धान्न सक्ला जस्तो लाग्दैन् । स्वास्थ्य भनेको सेवा हो र मेरो कारण कसैको ज्यान बच्छ भने त्यो नै मेरो लागि ठूलो कुरा हो । तर, समय कसरी व्यवस्थापन हुन्छ हेर्न बाँकी छ । संसदमा मेरो ज्यादा समय दिनुपर्ने भयो भने यो अर्को पुस्तालाई हस्तान्तरण गरेर त्यहाँ समय दिन्छु ।