कलेजोदेखि शरीरका विभिन्न अंगमा देखिने रगत नसाको डल्लोलाई ‘हिमान्जियोमा’ भनिन्छ । अन्य अंगको तुलनामा कलेजोमा हिमान्जियोमाको समस्या धेरै प्रतिशत व्यक्तिहरुमा देखिन्छ । स्वास्थ्यमा देखिने विभिन्न समस्याका कारणले पेटको अल्ट्रासाउण्ड गर्ने गरिन्छ । यसरी अल्ट्रासाउण्ड धेरै गरिने भएकाले आजभोलि धेरै जनामा ‘कलेजोको हिमान्जियोमा’ देखिने गरेको छ ।
‘कलेजो हिमान्जियोमा’ देखिएपछि मानिसहरु अत्तालिने गर्छन् । तर, यो आफैमा एउटा ठूलो रोग नभएको कारण डराउनु पर्दैन् । यो कलेजोमा मात्र नभएर शरीरका विभिन्न ठाउँमा पनि देखिन्छ । तर, कलेजोमा नै देखिएपछि मानिसमा एक किसिमको त्रास हुन्छ । स–साना रगतका नसाहरु मिलेर गुजुमुज्ज डल्लो हुनु ‘कलेजो हिमान्जियोमा’ हो । तर, यो क्यान्सरजस्तो डरलाग्दो रोग चाहिँ होइन् । यसबारे भएका अध्ययनका रिपोर्टअनुसार यो रोग १५—२० प्रतिशत मानिसमा देखिन सक्छ । कलेजोको हिमान्जियोमा देखिहालेमा समस्या देखिइहाल्दैन्् । तर, एकदमै थोरै प्रतिशत व्यक्तिहरुमा भने यसबाट केही समस्या देखिन सक्छन् ।
‘कलेजोको हिमान्जियोमा’ १—२ सेन्टीमिटरदेखि १५—२० सेन्टीमिटरसम्म ठूलो हुन सक्छ । प्रायःजसो व्यक्तिमा सानै आकारको देखिन्छ । धेरैजसो मानिसमा सानो साइजमै बस्ने र बढी हालेमा पनि यसको साइज विस्तारै बढ्ने हुन्छ । कहिलेकाही आकार ठूलो हुँदै गएपछि भने केही समस्या देखिन सक्छन् । आकार ठूलो भएपछि कलेजोमा यसले आफ्नो ठाउँ बनाउने भयो, जसकारण कलेजोमा बाधा पुग्ने हुन्छ । यही कारण बिरामीको पेट दुख्ने वा केही अप्ठ्यारो महसुस हुन सक्छ । तर, ‘कलेजोको हिमान्जियोमा’को कारणले देखिने समस्याहरु अन्य रोगसँग पनि मिल्दाजुल्दा हुन्छन् । ‘कलेजोको हिमान्जियोमा’ भएका बिरामीका लक्षणहरु निश्चित हुँदैनन् ।
एकदमै थोरै प्रतिशत व्यक्तिहरुमा मात्र ‘कलेजोको हिमान्जियोमा’ले समस्या देखिन सक्छ । कहिलेकाहीँ धेरै ठूलो भएमा यो डल्लो फुट्न सक्ने सम्भावना रहन्छ । तर, यो विरलै केस हो । कतै ठोक्किंदा र चोट लाग्दा भने फुट्न सक्छ । अर्को भनेको कलेजोको छेउमा पित्तनली नजिक भयो भने यसले नसा च्याप्दिने हुन्छ । पित्तनली ब्लक हुँदा जन्डिस पनि हुन सक्छ । तर, धेरैमा यो समस्या देखिदैन् । र, अर्को महत्वपूर्ण कुरा के भने यसको आकार ठूलो भएपनि क्यान्सर हुन्छ भन्ने मानसिकता गलत हो ।
कसरी पत्ता लाग्छ ?
बिरामीको लक्षणका आधारमा मात्रै यो रोग यही नै हो भनेर भन्न सकिदैन् । अल्ट्रासाउण्ड गर्दा कलेजोको हिमान्जियोमा देखिन सक्छ । तर, हिमान्जियोमा नै हो भनेर पत्ता लगाउन र अन्य रोग हो वा हैन भनेर सिटिस्क्यान, एमआरआई र रगत परीक्षणहरु गराउने गरिन्छ । सिटिस्क्यान, एमआरआईले कलेजोको कुन ठाउँमा छ, कत्रो आकारको छ, समस्या निम्त्याउन सक्छ कि सक्दैन विस्तृत रुपमा देखाउँछ । यसैका आधारमा के कस्तो उपचार गर्ने निर्धारण गरिन्छ ।
उपचार विधि
‘कलेजोको हिमान्जियोमा’ देखिदैमा डराउनु पर्दैन् । धेरैजसो व्यक्तिमा यो १० सेन्टीमिटरभन्दा ठूलो भएमा यसले केही समस्या निम्त्याउन सक्ने सम्भावना हुन्छ । जबसम्म यसले समस्या दिदैन्, यसको उपचार गराइहाल्नुपर्छ भन्ने हुँदैन् । जसको उपचार गर्नुपर्ने हुँदैन, त्यस्ता बिरामीहरुलाई समय—समयमा भिडियो एक्सरे गरेर हेर्नका लागि फ्लोअपमा राख्न सक्छौं ।
उपचार नै गर्नुपर्ने अवस्थामा भने एउटा शल्यक्रिया र अर्को विना शल्यक्रिया उपचार गर्ने विधी हुन्छ । यद्यपि, धेरै प्रतिशत बिरामीमा यसको उपचार नै गर्नुपर्दैन् । आकारले मात्र शल्यक्रिया गर्नुपर्छ भन्दा पनि समस्या नदेखाएसम्म उपचार गर्ने जरुरत हुँदैन् ।
कलेजोभित्र हिमान्जियोमा गहिरोमा छ भने र उपचार गर्नैपर्ने परिस्थितीमा भने कलेजो काट्नैपर्ने हुन सक्छ । कलेजोकै शल्यक्रिया गर्नुप¥यो पनि जटिल हुन जान्छ । चिरेर नै शल्यक्रिया गर्दा झन बढी जटिलता आउँछ । हामीले पनि एकदमै थोरै प्रतिशत ‘कलेजोको हिमान्जियोमा’को शल्यक्रिया गरेका छौं । केही व्यक्तिको २५ सेन्टीमिटरसम्मको ‘कलेजोको हिमान्जियोमा’ पनि हामीले शल्यक्रिया गरेका छौँ । कोही बिरामीको अप्रेशन गर्न नमिलेमा इन्टरभेसनल रेडियोलोजी विधीबाट त्यसमा जाने नसाहरुलाई बन्द गर्न सकिन्छ । यसले डल्लो सुकाउने काम गर्छ । तर, पूरा निर्मुल हुने भने हुँदैन् ।
अर्को कुरा, रेडिएसन थेरापीबाट पनि उपचार गरेर आकार घटाउन सकिने विधी छ । यो विधि पनि शल्यक्रियाजस्तो सतप्रतिशत भने हुँदैन । कलेजोबाट यसलाई निकालिसकेपछि बाँकी रहेको कलेजोको भागमा फेरि पलाउन सक्दैन् भन्ने चाहिँ होइन् । तर, एकदमै थोरै प्रतिशतमा मात्रै फेरि आउन सक्छ । आइहालेमा पनि यो ठूलो हुन निकै समय लाग्छ, त्यही कारण आतिहाल्नुपर्दैन् । यसको कारण ठोस यही भन्ने छैन । यो जसलाई पनि देखिन सक्छ ।