इलेक्ट्रोनिक हेल्थ रेकर्ड (EHR) प्रणाली भनेको व्यक्तिको सम्पूर्ण स्वास्थ्य अभिलेखहरु कम्प्युटरमा दाखिला गर्नु हो । आधुनिक स्वास्थ्य प्रणालीमा अस्पताल तथा स्वास्थ्य केन्द्रहरुमा बिरामीको कागजी रुपमा तयार गरिने सम्पूर्ण अभिलेखहरु कम्प्युटरमा राख्नु हो । जुन समयसँगै स्वास्थ्य सेवा केन्द्र तथा अस्पतालहरुमार्फत कम्प्युटरमा प्रविष्ठ गरिन्छ । जसमा व्यक्तिको शारीरिक प्रगतिसहित हेरचाहसँग सम्बन्धित सबै क्लिनिकल डाटाहरु जस्तै व्यक्तिको स्वास्थ्य इतिहास, नोटहरू, समस्याहरू, औषधिहरू, महत्वपूर्ण संकेतहरू, विगतको चिकित्सा इतिहास, खोपहरू, रोगहरु, रोगको निदान, औषधि, उपचार, खोप, एलर्जी, रेडियोलोजी, प्रयोगशाला परीक्षण परिणामहरू समावेस गरिएको हुन्छ ।
जसको उपलब्धताले उपचारमा संग्लन चिकित्सकहरुलाई बिरामीको राम्रो हेरचाह गर्न, उचित निर्णय गर्न र चिकित्सकको कार्यतालिकालाई व्यवस्थित बनाउँछ । बिरामी र चिकित्सकहरू बीचको सम्बन्धलाई बलियो बनाउन सक्दछ । बिरामीको इलेक्ट्रोनिक हेल्थ रेकर्डस् (EHRs) स्वास्थ्य सेवा सम्बन्धि सूचना प्रविधिको अर्को उपलब्धी हो भन्न सकिन्छ ।
इलेक्ट्रोनिक हेल्थ रेकर्ड आवश्यकता अनुसार आधिकारिक प्रयोगकर्ताहरूलाई तत्काल र सुरक्षित रूपमा जानकारी उपलब्ध गराउँदछ । इलेक्ट्रोनिक हेल्थ रेकर्ड संकलन गरिएको स्वास्थ्य केन्द्र वा अस्पतालभन्दा बाहिर पठाउनको लागि बनाइएको हुन्छ र बिरामीको हेरचाहको लागि फराकिलो दृष्टिकोण राख्नुपर्दछ । इलेक्ट्रोनिक हेल्थ रेकर्डको मुख्य विशेषता भनेको व्यक्तिको स्वास्थ्य जानकारी डिजिटल ढाँचामा एकभन्दा बढी स्वास्थ्य केन्द्र, अस्पताल वा अन्य स्वास्थ्य सेवा प्रदायकसँग सजिलै आदान–प्रदान गर्न र आधिकारिक स्वास्थ्य सेवा प्रदान गर्ने केन्द्रहरुमार्फत व्यवस्थापन गर्न सकिन्छ ।
एक स्वास्थ्य केन्द्र वा अस्पतालबाट अर्को स्वास्थ्य केन्द्र वा अस्पतालमा तथा आवश्यकताअनुसार अन्य देशहरुमा समेत इलेक्ट्रोनिक हेल्थ रेकर्ड (EHR) को डाटाहरु पठाउन तथा हेर्न सकिन्छ । एक स्थानबाट अर्को स्थानमा इलेक्ट्रोनिक हेल्थ रेकर्ड प्रणालीको डाटाहरु पठाउन तथा हेर्नको लागि सम्बन्धित व्यक्तिलाई केन्द्रिय प्रणालीको युजर र पासवर्ड प्रदान गर्न सकिन्छ भने सम्बन्धित व्यक्ति स्वयंले आफूसँग भएको स्टोरेज डिभाइसहरु जस्तै पेन ड्राइभ, मेमोरी कार्ड, हार्डडिस्क आदिमा समेत लान सकिन्छ । जसले गर्दा समग्रमा निम्नलिखित फाइदाहरु हुन सक्दछ ।
- EHR ले बिरामीको हेरचाहमा सुधार गर्न सक्छ ।
- चिकित्सकहरुबाट हुनसक्ने गल्तीहरू कम गर्न मद्दत गर्दछ ।
- व्यक्तिको स्वास्थ्य सम्बन्धि सम्पूर्ण जानकारी उपलब्ध गराउँदछ ।
- नक्कली स्वास्थ्य परीक्षण घटाउँछ ।
- उपचारमा हुने ढिलाइ कम गर्छ ।
- बिरामीहरूलाई निर्णय लिनको लागि राम्रोसँग जानकारी गराउँदछ ।
- राष्ट्रियस्तरको पूर्ण डिजिटल तथ्यांक तयार गर्न मद्दत गर्दछ ।
नेपालमा EHR प्रणालीको राष्ट्रियस्तरबाट सम्बन्धित निकायहरुले हालसम्म कुनै निर्णय भएको नदेखिएता पनि बेला– बेलामा यसबारेमा छलफल भने हुने गरेको छ । इलेक्ट्रोनिक हेल्थ रेकर्ड प्रणाली भनेको व्यक्तिको सम्पूर्ण स्वास्थ्य अभिलेख विधुतीयकरणको पूर्ण रुप हो । तर, नेपालको स्वास्थ्य सम्बन्धि सम्बन्धित निकायहरु भने टुक्रे स्वास्थ्य डाटाहरु संकलनको लागि आ–आफ्नै छुट्टै सफ्टवेयर, वेभसाइट, पोर्टलजस्ता माध्यमहरु प्रयोग गरिरहेको छ । जुन नेपाल सरकारअन्तर्गतको सम्पूर्ण स्वास्थ्य केन्द्र तथा अस्पतालमार्फत अनिवार्य कम्प्युटरमा इन्ट्री गर्नुपर्ने हुन्छ ।
तर, नेपाल सरकारअन्तर्गतको स्वास्थ्य संस्था तथा अस्पतालहरुमा सूचना प्रविधि सम्बन्धि दक्ष जनशक्तिको कमी, अपर्याप्त पूर्वाधार, छुट्टाछुट्टै विषय र विधाको लागि छुट्टाछुट्टै सफ्टवेयर, वेभसाइट, पोर्टल आदि कुराहरुले गर्दा झन्झटिलो हुने भएकोले वास्तविक डाटा पाउनसमेत गाह्रो छ । नेपालको सरकारीस्तरबाट कुनै ठोस निर्णय नभएपनि अहिले केहि निजी क्षेत्रका अस्पतालहरु भने EHR प्रणालीको अवधारणा व्यापकरुपले सुरुवात भइरहेको छ । EHR र EMR को परिकल्पनासहितको सफ्टवेयरहरु अहिले केहि सफ्टवेयर निर्माता कम्पनीहरुमार्फत केही निजी स्वास्थ्य संस्था तथा केही सरकारी अस्पतालहरुमा समेत संचालनमा रहेको छ । इलेक्ट्रोनिक हेल्थ रेकर्ड (EHR)मा व्यक्तिको सम्पूर्ण शारीरिक स्वास्थ्य अभिलेख रहेको हुन्छ भने इलेक्ट्रोनिक मेडिकल रेकर्ड (EMR) मा बिरामीको उपचारको क्रममा रहेको मेडिकल तथा क्लिनिकल डाटाहरुको अभिलेख हुन्छ ।
रास्ट्रियस्तरमा इलेक्ट्रोनिक हेल्थ रेकर्ड (EHR) प्रणाली सुरुवात गर्नुभन्दा पहिले नेपालको सम्बन्धित निकायबाट यस बारेमा आवश्यक तयारीसहित महत्वपूर्ण निर्णयहरु गर्नुपर्ने देखिन्छ । नेपालमा रहेका सम्पूर्ण निजी तथा सरकारी स्वास्थ्य संस्था, अस्पतालहरुबाट अनिवार्य रुपले केन्द्रीय इलेक्ट्रोनिक हेल्थ रेकर्ड (EHR) प्रणालीमा डाटाहरु इन्ट्री गर्न गराउन आवश्यक पूर्वाधार, दक्ष जनशक्ति, आइपर्ने चुनौतीहरुको निक्र्योल गरी सुरु गर्न ढिलो गर्न नहुने देखिन्छ । नागरिकको स्वास्थ्यसँग सम्बन्धित विषय भएको हुनाले यो प्रणाली अपरिहार्य भइसकेको छ । EHRs प्रणालीको कार्यन्वयनले हाम्रो राष्ट्रको लागि स्वस्थ भविष्य निर्माण गर्न मद्दत गर्नेछ ।
(लेखक विगत १५ वर्षदेखि स्वास्थ्य सम्बन्धि सूचना प्रविधीको क्षेत्रमा कार्यरत छन् ।)