दुई हप्ता अगाडि एक ४४ वर्षीय युवा अत्याधिक ज्वरो आउने, खोकी लाग्ने, घाटी दुख्ने, जीउ दुख्ने, वाक वाक लाग्ने, जाडो लाग्ने समस्या लिएर लेखकसँग परामर्शको लागि आइपुगेका थिए। सो समयमा कोभिड-१९ संक्रमितको संख्या दैनिक औसतमा १५-१६ सयको हाराहारीमा थियो।तसर्थ कोभिड-१९ भाइरस शंका गर्नु स्वाभाविक पनि थियो। तर, पिसिआर गर्दा कोरोना नेगेटिभ देखियो । काेभिडसँग मिल्दो जुल्दो लक्षण हुने अर्को भाइरस फ्लुको परीक्षण गर्दा भने टाइप “बी” फ्लु भाइरस देखियो । योभन्दा अगाडि पनि फ्लू ‘बी’ संक्रमितहरुमा लक्षणहरु अत्याधिक कडा देखिने गरेका लेखकसँग अनुभवहरु छन्।
इन्फ्लुएन्जा भाइरस अर्थात् छोटकरीमा फ्लु भाइरस ४ प्रकारका छन्। फ्लुको प्रकारलाई ‘ए’, ‘बी’, ‘सी’ र ‘डी’ नामfकरण गरिएको छ। ‘डी’ प्रकारको फ्लुबाहेक बाँकी सबै प्रकारले मानिसमा संक्रमण गर्ने गर्दछ। तर, फ्लु ‘ए’ र ‘बी’ ले विशेषत मानिसमा कडा लक्षणहरु देखाउने गर्दछ। फ्लु ‘ए’ले बेला-बेलामा पेनडेमिकको रुप पनि लिने गर्दछ ।
१९०० औं शताब्दी सुरु भए यता फ्लु ‘ए’ ले विश्वमा पाँच पटकसम्म पेनडेमिकको रुप लिइसकेको छ। कोभिड-१९ भाइरसको महामारीभन्दा अगाडि सन् २००९ मा स्वाइन फ्लुको नामले चिनिने H1N1pdm09 फ्लु ‘ए’ भाइरसले पेनडेमिकको रुप लिएको थियो। फ्लु ‘बी’ भाइरस हरेक फ्लु सिजनमा फ्लु ‘ए’ सँगै देखिने गरेको पाइन्छ । तर, हालसम्म पेनडेमिकको रुप भने लिएको छैन। फ्लु ‘ए’ र ‘बी’ का लक्षणहरु लगभग एकै हुने गर्दछन्। सामान्यतयः फ्लु ‘बी’ भन्दा ‘ए’ कडा हुने मानिन्छ।
तर, पछिल्लो समय फ्लु ‘बी’ का बिरामीमा लक्षणहरु कडा देखिदैं गैरहेको देखिन्छ । बालबालिकामा पनि फ्लु ‘बी’ भाइरसले प्रभावित पार्ने गरेको विभिन्न अनुसन्धानहरुले देखाएका छन्। हालै भारतीय मिडिया ‘द हिन्दु’का अनुसार नर्थ बेनगल राज्यमा केही बालबालिकाहरुको मृत्युका कारक मध्यमा फ्लु ‘बी’ पनि रहेको जनाइएको थियो । तसर्थ, नेपालमा पनि फ्लुको सिजन नजिकिइसकेको र फ्लु ‘बी’ ले आक्रामक रुप लिदैं गर्दा अभिभावकहरुले बालबालिकाको स्वास्थ्यमा चनाखो हुनुपर्ने आवश्यकता देखिन्छ।
फ्लु ‘बी’ भाइरस लक्षणहरु ज्वरो आउने, जाडो हुने, खोकी लाग्ने, घाँटी दुख्ने, जीउ दुख्ने, थकित हुने आदि हुने गर्दछ। ज्वरो ३८ डिग्री वा सो भन्दा बढी, खोकी लागेमा, श्वासप्रश्वासमा समस्या दश दिनभित्र देखिएको भए त्यो फ्लु सक्रमण भएको हुन सक्दछ। यसलाई ‘इन्फ्लुएन्जा लाइक इल्नेस’ पनि भन्ने गरिन्छ। तर, यसको निदान भने प्रयोगशाला परीक्षणपछि मात्र गर्न सकिन्छ।
सामान्यतयाः फ्लु एकदेखि दुई हप्तासम्ममा आफै निको भएर जाने गर्दछ । तर, केहीलाई भने विभिन्न जटिलताहरु देखिने गर्दछन्। निमोनिया फ्लु संक्रमणपछि देखिने मुख्य स्वास्थ्य समस्या हो। तर, मस्तिष्क तथा मुटु सुन्निने समस्या लगायत विभिन्न अंगहरुसमेत प्रभावित हुन सक्दछ। अमेरिकामा गत वर्ष यस्तै फ्लुसँग सम्बन्धित स्वास्थ्य जटिलताको कारणले ४ लाख ९० हजार ६ सय जना संक्रमितहरु अस्पताल भर्ना तथा ३४ हजार २ सयको मृत्यु भएको अनुमान गरिएको थियो। नेपालमा भने फ्लुको कारणले भर्ना तथा मृत्यु हुनेको यकिन तथ्यांक छैन । नेपालमा फाल्गुन-चैत्र र श्रावण-भाद्र महिना फ्लुको सिजन मानिन्छ। हाल नेपालमा फ्लुको सिजन चलिरहेको छ।
यो वर्ष श्रावण अन्ततिर नेपालमा सबैभन्दा बढी फ्लु भाइरस निदान भएको देखिन्छ। यो वर्ष नेपालमा विशेषत फ्लु ‘ए’अन्तर्गत हङकङ फ्लुको नामले चिनिने एच-३ भाइरस तथा फ्लु ‘बी’ अन्तर्गत ‘भिक्टोरिया लिनिज’ देखिदैं आइरहेको छ। फ्लु ‘बी’ अन्तर्गत भिक्टोरिया तथा यामगाता गरी दुई लिनिजहरु छन्। पछिल्लो दुई साताको तथ्यांक हेर्दा फ्लु ‘बी’ बढ्दै गएको देखिन्छ।
फ्लु ‘ए’ भन्दा दोब्बर संख्यामा फ्लु ‘बी’ भाइरस देखिएको छ। चाखलाग्दो कुरा के छ भने, फ्लु ‘बी’अन्तर्गत पर्ने दुई लिनिजमा नपर्ने नयाँ भाइरस पनि यथेस्ट देखिएको छ।अझ गत वर्षको तथ्यांकले त निदान भएका फ्लु ‘बी’अन्तर्गत सबै संक्रमितमा नयाँ भाइरस देखिएको थियो।यद्यपी, यसको कहिले प्रवेश वा प्रादुर्भाव भयो तथा उपस्थितिबाट स्वास्थ्यमा पारिरहेको वा पार्न सक्ने प्रभावको बारेमा भने यकिन जानकारी छैन।
गत वर्ष फ्लुको तथ्यांक हेर्दा फ्लु ‘ए’ को तुलनामा फ्लु ‘बी’ अत्याधिक न्यून देखिएको थियो । तर, यो वर्ष फ्लु ‘बी’ आक्रामक रुपमा प्रस्तुत भएको देखिन्छ । सामान्यतयाः संक्रमितहरु कडा लक्षण देखिएपछि मात्र अस्पताल पुग्ने र परीक्षण गर्ने गर्दछन् । यो वर्ष फ्लु ‘बी’ तुलनात्मक रुपमा फ्लु ‘ए’ भन्दा बढी कडा भएकोले नै तथ्यांकमा बढेको देखिन्छ। फ्लु विशेष गरेर जेष्ठ नागरिक, दीर्घ रोगका बिरामी तथा बालबालिका कडा हुने भएकोले लक्षणहरु मिल्दोजुल्दो भए तुरुन्त परीक्षण तथा आवश्यकताअनुसार जाँच/उपचार गराउनु पर्दछ । किनभने, हाल नेपालमा फ्लुको सिजन चलिरहेको छ।