पेटरोग विशेषज्ञ डा. भुपेन्द्र बस्नेतले देशकै पुरानो र ठूलो वीर अस्पतालको कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालिसकेका छन् । उनी नेपाल चिकित्सक संघ (एनएमए)को अघिल्लो कार्यकालमा महासचिव थिए । संघको अधिवेशन संघारमा छ । अधिवेसनले नयाँ नेतृत्व चयन गर्नेछ । महासचिवको जिम्मेवारी सम्हालिसकेको हुँदा अब आफ्नो स्वतः अध्यक्षमा दाबेदारी हुने बताइरहेका बस्नेतसँग समग्र नेपालको स्वास्थ्य क्षेत्र, एनएमएको आगामी निर्वाचन, उनको उम्मेदवारी र आगामी कार्यभारका विषयमा हेल्थ आवाजले गरेको कुराकानीको सम्पादित अंशः
वीर अस्पतालको नेतृत्व हस्तान्त्ररण गर्नुभएको एक वर्ष भयो । हस्तान्तरण पछि अस्पतालको अवस्थालाई कसरी मुल्यांकन गर्नुभएको छ ?
नेतृत्वमा रहेर काम गरेको अनुभवको आधारमा भन्ने हो भने नेतृत्वले मात्रै वीर अस्पतालको नेतृत्व धान्न सकिदैन् । यो केन्द्रीय अस्पताल हो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग सिधा सम्पर्क भएको हुन्छ । बजेटदेखि लिएर अस्पतालका नीति नियम बनाउन सबै मन्त्रालयको आवश्यकता पर्छ । मेरै कार्यकालको कुरा गर्ने हो तत्कालीन स्वास्थ्यमन्त्री गगन थापाले वीर अस्पतालमा भएका कमजोरीलाई सुधार्नको निम्ति प्रर्याप्त बजेट तथा जनशक्ति पनि जुटाई दिनु भएको थियो । यति मात्रै नभई बीच—बीचमा फोन गरेर भएका गतिविधीहरुको जानकारी पनि लिइरहनुहुन्थ्यो । नेतृत्वको निम्ति मन्त्रालय, राज्य र नीतिसम्म बाटो खुलाई दिनुभएको थियो । अहिले म नेतृत्वमा नरहेकाले सबै पक्षबारे उति जानकारी छैन् । तर, समग्र रुपमा अस्पतालको स्थिती राम्रो बनाउन अस्पतालका पदाधिकारीहरुको मात्रै नभई मन्त्रालयको चाहना भएमा मात्रै सम्भव छ ।
त्यसपश्चात्का अन्य मन्त्रीहरुसँग पनि काम गर्नुभयो । अन्य मन्त्रीहरुबाट कस्तो सहयोग पाउनुभयो ?
मैले अहिलेसम्म जो जति मन्त्री रहँदा काम गरे । उहाँहरु सबैमा वीर अस्पताल राम्रो हुनुपर्छ भन्ने मान्यता र भावना चाहिँ छ । सबैले वीर अस्पतालमा के को खाँचो छ र हामी कसरी सहयोग गर्न सक्छौं’ भनेर सोध्नु पनि हुन्छ । यो एउटा सकरात्मक पाटो पनि हो । तर, ती कुरालाई नेतृत्वले कति र कसरी समात्न सक्यो भन्ने विषय महत्वपूर्ण रहन्छ । तत्कालीन समयमा गणेश गुरुङ भिसी हुनुहन्थ्यो । दुवाकोटको एउटा प्रोजेक्ट सुरु भएको थियो । तर अहिले सुन्दै छु त्यहाँको माटोका कारण प्रोजेक्ट अगाडि बढ्न अप्ठ्यारो हुँदैछ । यदि माटो, पानी र बाटो राम्रो भएको भए त अरुलाई किन बनाइदेउ भनेर भिख माग्नुपथ्यो होला र ? हामी आफै सबल भइहाल्थ्यौ नि । जब दुबईले समुन्द्रलाई पुरेर त्यहाँ एउटा भवन खडा गर्न सक्छ भने यहाँ भएको एउटा माटोलाई किन व्यवस्थित गर्न सकिदैन् ? आजको टेक्नोलोजीमा सब कुरा सम्भव छ । मात्रै खर्च र समय बढी लाग्ने हुन्छ । अहिले त्यो प्रोजेक्ट ढिलाइका समाचार बाहिर आइरहेका छन् । त्यो आम नेपालीको लागि सुखद् सन्देश होइन् ।
वीर अस्पतालमा देखिएका समस्यालाई कसरी हल गर्न सकिन्छ ?
सबभन्दा पहिले कुन व्यक्तिको स्थान के हो र कहाँ हो भन्ने कुराको निक्र्यौल गरी उसलाई उसको दक्षता र योग्यताको आधारमा जिम्मा दिइनु पर्दछ । यदि काम गर्ने व्यक्तिको सम्पूर्ण रहन—सहनहरु नियाल्न थालियो भने अस्पताल अघि बढ्न सक्दैन् । यसका लागि अस्पतालका सक्षम एवं योग्य पदाधिकारी र चिकित्सकहरुलाई अगाडि राखेर काम गर्नुपर्ने हुन्छ । अस्पतालप्रति रहेको आम मानिसको चाहना र आस्थालाई पूरा गर्न सकिन्छ । अहिले के देखिन्छ भने सबैमा सरकारी अस्पताल राम्रो भएन भन्ने असन्तुष्टी त छ । तर, सरकारी अस्पताललाई दह्रो बनाउनुपर्छ भन्ने भावना भने कमैमा मात्र देखिन्छ । यसका निम्ति सरकारले प्रशस्त स्रोत र साधनको उपलब्ध गराउनुपर्छ । पर्याप्त स्रोत र साधन वीर अस्पतालले मात्र नभई नेपालका अन्य अस्पतालले पनि प्राप्त गर्न सकेका छैन । यसको निमित्त आवश्यक र लेटेस्ट टेक्नोलोजी र उपयुक्त उपकरण, स्रोत साधन र जनशक्ति पनि प्रदान गरिनुपर्छ । कुनै पनि चिकित्सक एकचोटी सर्टिफिकेट बोकेर आएको खण्डमा उ सधैभरिको विज्ञ हुन सक्दैन् । उत्पादन भएका उपकरणहरुको प्रयोग गर्न र गराउनको निम्ति उसलाई पटक—पटक तालिमहरु पनि प्रदान गराउनुपर्छ । वीर अस्पतालकै कुरा गर्दा मैले आजसम्म कुनै पनि चिकित्सकको निम्ति यो तालिम उपयोगीमूलक छ भनेर तालिमका लागि पठाइएको देखेको छैन ।
योग्यता र दक्षता भएको व्यक्ति चुन्नुपर्ने भन्नुभयो । अहिले कुनै ठाउँमा अनुपयुक्त व्यक्ति र कमजोरी भएको देख्नुभएको छ ?
त्यस्तो पनि भएका छन्, नभएको होइन । यहाँ भएका केही चिकित्सक साथीहरुलाई जबरजस्ती बाहिर पठाइएका छन् । केहीलाई इच्छाबिना नै यहाँ राखिएको पनि छ । उहाँहरुले कुन पक्षको आधारमा बाहिर पठाउने र यहाँ राख्ने गर्नुभयो सायदै उहाँहरुलाई थाहा होला । तर, व्यक्तिको दक्षता र योग्यताको आधारमा जिम्मेवारी प्रदान गरिएको खण्डमा भने त्यसले चाहिँ अस्पताल र आम मानिसको निम्ति सकारात्मक नतिजा ल्याउन सक्छ ।
अस्पताल र चिकित्सकको नेतृत्व सम्हालिसकेको व्यक्ति चिकित्सकहरुको पारिश्रमिकको बहसबारे यहाँको धारणा के हो ?
स्वास्थ्य मन्त्रालयले ‘एक चिकित्सक, एक स्वास्थ्य संस्था’ भन्ने नीतिको डकुमेन्ट तयार पारी सकेको छ । अब यसलाई कार्यन्वयन गर्नुपर्छ । ‘एक चिकित्सक, एक स्वास्थ्य संस्था’को नीति लागु गर्ने काम स्वास्थ्य मन्त्रालयको हो । मन्त्रालयले यसो गरेमा कुनै पनि चिकित्सकको त्यो संस्थाप्रति बढी अपनत्वको भाव रहन्छ । जसमा उसको माया प्रेम प्रगाढ रही आफ्नो जिम्मेवारी जिम्मेवारपूर्ण ढंगले निर्वाह गर्छ । बिरामीले पनि उचित सेवा सुविधा प्राप्त गर्छन् । हाल चिकित्कसहरुले पाइरहेको सेवा, सुविधाबाट भने यो कुरा सम्भवः देखिदैन् । सेवा, सुविधा चिकित्सको विज्ञता, अनुभव र उसले दिन सक्ने योगदान हेरेर प्रदान गरिनुपर्छ । म कामको शिलशिलामा विदेश पनि गएको थिए । त्यहाँको चिकित्सकको तलबबारे बुझ्दा नेपालको स्थितीजस्तै थियो । तर, त्यहाँका डाक्टरले जति ओभर टाइम गरी बिरामीलाई सेवा प्रदान गर्छ, त्यही अनुसारको उसले प्रोत्साहन स्परुप बोनस प्राप्त गर्दोरहेछ । अब चिकित्सकले बोनसको निम्ति थप काम गर्दा यसबाट ऊ स्वयंलाई त फाइदा पुग्छ नै, सँगसँगै यसबाट बिरामीहरु पनि लाभान्वित हुन्छन् । तर, नेपालको स्थिती हेर्ने हो भने कुनै पनि चिकित्सक जतिसुकै मरिमेटेर सेवा प्रदान गरोस्, उसले त्यसबाट केही पनि हासिल गर्दैन । मलाई के लाग्छ भने एमबीबीएस गरेका डाक्टरले कम्तिमा पनि २ लाख तलब पाउनुपर्छ । त्यो भन्दा माथिका चिकित्सकहरुले क्रमशः ३ र ४ लाखसम्म पाउनुपर्छ । र, उसको अनुभवअनुसार पनि तलब बढाउदैं लैजानु पर्दछ । होइन भने आजको चिकित्सकको तलबको स्थिती हेर्दा उनीहरुलाई आफ्नै परिवार पाल्न पनि गाह्रो हुने अवस्था छ । जसकारण उनीहरु आफ्नो दैनिकी धान्नको निम्ति विभिन्न ठाउँहरुमा काम गर्नुपर्ने बाध्यतामा छन् । यो बाध्यता हटाउनको निम्ति ‘एक चिकित्सक, एक स्वास्थ्य संस्था’सँगै उपयुक्त तलब प्रदान गर्नुपर्छ ।
चिकित्सकको सुरक्षाको सवाल पनि टड्कारो रुपमा उठिरहन्छ नि ?
चिकित्सकहरुको सुरक्षाको पक्षलाई पनि ख्याल गरिनुपर्दछ । पछिल्लो पटक निकालिएको आचारसंहितामा चिकित्सा क्षेत्रलाई त एक किसिमले सम्बोधन गरेकै छ । तर, चिकित्सकलाई सजिलैसँग कारवाही गर्न सकिने पक्षमा भने मेरो सहमति छैन । कुनै पनि चिकित्सकको दक्षतालाई चेक जाँच गर्ने भनेको सोही पाटो अन्तर्गत उक्त चिकित्सकभन्दा बढी दक्षता र विज्ञता रहेको सिनियर चिकित्सकको हुन्छ । जस्तो, यदि मैले केही गल्ती गरे भने त्यो गल्ती हो वा होइन भनेर मेरै क्षेत्रमा पोख्त र मभन्दा बढी अनुभवी डाक्टरले मात्रै छुट्याउन सक्छ । अन्यथा कुनै पनि विशेषज्ञले त्यो पक्षको निक्र्यौल गर्नै सक्दैनन् । तसर्थ, चिकित्सकलाई गरिने कारवाही पनि कुन आधारमा गरिने भन्ने पक्षको पनि स्पष्ट हुन जरुरी छ । उक्त आचारसंहितालाई सच्याउनुपर्नेछ ।
राजधानी बाहिर त छदैंछ, काठमाडौंमै पनि चिकित्सकहरु सुरक्षित छैनन् । कुनै पनि सामाग्री तथा उपकरणको अभावमा चिकित्सकले बिरामीको उपचार गर्न नसक्दा मानिसहरु चिकित्सकको दक्षतामाथि नै प्रश्न उठाउँछन् । चिकित्सक भएर मात्रै कुनै पनि बिरामीको उपचार सम्भव हुँदैन । यसका लागि उसलाई आवश्यक स्रोत र साधन पनि प्रदान गरिनुपर्छ । कुनै पनि ठाउँमा चिकित्सक छ तर उपचारको निम्ति आवश्यक उपकरण र सेवा सुविधा नै छैन भने उसले कसरी उपचार गरोस् ? तर, मिडियाहरुले चिकित्सकको दक्षतामाथि प्रश्न उठाउँदैं चिकित्सकलाई बहिष्कार नै गरिदिन्छन् । समग्र समस्याको निराकरणको निमित्त राज्यले चिकित्सकलाई आवश्यक सेवा, सुविधा र सुरक्षासहित उपकरण र प्रविधी उपलब्धताको ग्यारेण्टी गर्नुपर्छ ।
नयाँ आएको स्वास्थ्य नीतिका विषयमा तपाईको के भन्नुहुन्छ ?
नयाँ स्वास्थ्य नीति संघीयताअनुसार मर्म अनुसार नै आएको छ । तर, समस्या कहाँनेर छ भने त्यो नीति कार्यन्वयन गर्ने क्रममा समस्या छ । जस्तै संविधानमा उल्लेख भएअनुसार कुनै पनि अस्पतालले बिरामीलाई आकस्मिक सेवाबाट वञ्चित गराउन पाइदैंन् । तर, अहिलेसम्म कुन चाहिँ अस्पतालले पैसा नभएको बिरामीलाई अस्पताल सेवा उपलब्ध गराएका छन् र? यस अर्थमा त, बिरामीको नैसर्गिक अधिकार खोसिएको होइन र ? भन्नाले स्वास्थ्य क्षेत्रमा बजेट, दक्ष जनशक्ति तथा आवश्यक उपकरण र प्रविधिको अभाव छ । यो सबै पक्षको परिपूर्ति नभएसम्म यसबाट आमजनताले सेवा सुविधा पाउन सक्ने स्थिती छैन् ।
अब प्रसंग बदलौं, नेपाल चिकित्सक संघ (एनएमए) रहेर पनि पहिले काम गर्नुभयो । त्यहाँभित्र रहँदा र बाहिर रहँदा के फरक पाउनुभयो ?
चिकित्सक स्वयं आफै, अस्पताल, जनमानसका या अन्य कारणले पहिले भन्दा धेरै चुनौती थपिएका छन् । अब समग्र स्वास्थ्य क्षेत्रको चुनौती चिर्न चिकित्सकको नेतृत्व लिड गर्नुपर्ने देखिन्छ । स्वास्थ्य क्षेत्रसँग जोडिएका सम्पूर्ण विकृति, कानुन, नीति, क्षेत्र, हक अधिकारका साथै चिकित्सकहरुको सम्पूर्ण सेवा, सुविधा, हक अधिकार तथा सुरक्षाका आदि विषयहरुसँग डिल गर्न सक्ने नेतृत्व आउनुपर्छजस्तो लाग्छ ।
निर्वाचन पनि हुने तयारीमा छ, भनेपछि यी सबै चुनौती चिर्न नेतृत्वमा तपाइको दावी हो ?
मैले २०६७÷६८ मा नै महासचिवको रुपमा काम गरिसकें । त्यसबेला हामीले दरबन्दीको कुराहरु निकालेका थियौं । त्यतिबेला हामीले नियमावलीमा गरेको काम, आज स्वास्थ्य सुरक्षा सम्बन्धि ऐनको रुपमा कार्यन्वयन भएको छ । त्यस समयमा जुनियर चिकित्सकको समस्या बुझी समाधान गर्न र उहाँहरुको सजिलोको निम्ति जुनियर चिकित्सक विङ पनि बनाएका थियौं । महासचिवको रुपमा म थिए र हाल कान्तिमा रहनुभएको डा. विष्णु रत गिरी सदस्य सचिव हुनुहुन्थ्यो । जुनियर चिकित्सकका लागि तलब तथा सुरक्षाको कुरा त छदैंछ त्यसबाहेक विकराल समस्या उहाँहरुको निम्ति माथिल्लो तहको पढाइ रहेको छ । तसर्थ, यस्ता समस्याहरुको विषयमा छलफल गर्नको निम्ति उक्त विङ बनाएका थियौं । सुरक्षाको कुरा गर्नुपर्दा उहाँहरुको पेशागत रुपमा अस्पताल बाहिर त छ नै यसबाहेक पनि उहाँहरुलाई सरकारी होस् वा निजी अस्पतालमा कसरी सुरक्षित गर्ने त भन्ने विषयमा अबको दिनमा हामीले गम्भीर रुपमा सोच्नुपर्ने अवस्था छ ।
यी सबै कुराहरु अगाडि बढाउनको निम्ति अध्यक्षमा तपाईंको उमेदवारी हुन्छ ?
मैले ती सबै कुराहरु अगाडि बढाइसकेको थिए । अब चाहिँ संघीय सरकारको हिसाबमा चिकित्सकहरुको मात्रै नभएर सम्पूर्ण स्वास्थ्यकर्मीहरुको दरबन्दी बढाउनुपर्ने अवस्था रहेको छ । यो मात्र नभई जुनियर चिकित्सकहरुलाई उहाँहरुको आवश्यकतालाई मध्यनजर गर्दै सोही अनुरुप अवसरहरु प्रदान गरिनु पर्दछ । यसैगरी, पेशागत रुप आफ्नो ठाउँमा छ र यस क्षेत्रको मर्यादालाई कसरी कायम राख्ने, चिकित्सकप्रति पहिलेकोजस्तो सम्माननीय दृष्टिकोणलाई कसरी कायम राखी अगाडि लैजाने भन्ने पक्षलाई समेट्दै मैले अघि बढ्नको निम्ति यसमा आफ्नो दाबी राखेको छु ।
प्रजातान्त्रिक र प्रगतिशील दुई प्यानल त बन्लान ?
अब त्यहाँ पक्कै देखिन्छ ।
भनेपछि तपाईले पुनः खेमाको नेतृत्व गर्नुहुन्छ ?
पक्कै पनि म प्रजातन्त्रमा विश्वास राख्छु र यसमा कुनै शंकै छैन । तर, वामपन्थी र प्रजातान्त्रिक खेमाभन्दा पनि सर्वप्रथम सम्पूर्ण चिकित्सकको एक समूह बन्नुपर्छ र चिकित्सकको नेतृत्व उनीहरुकै हकहितलाई पहिलो प्राथमिकता दिएर अघि बढ्नुपर्छ भन्ने मेरो सोचाइ छ ।
अनि प्रजातान्त्रिक खेमामा पनि दाबेदारी धेरै छन् नि त?
दाबेदारी हुनु त स्वभाविक नै हो । झन् प्रजातान्त्रिक खेमामा नहुने त कुरै भएन ।
त्यो अवस्थामा सहमतिको सम्भावना कति रहन्छ त?
हेर्नुहोस्, अहिलेसम्म मैले एक कार्यकाल महासचिव र दुई कार्यकालमा साधारण सदस्य भएर काम गरे । र, हाल पनि म चिकित्सक संघको परिषद्मा काम गरिराखेकै छु । र मलाई लाग्छ मैले आफ्नो जिम्मेवारी जिम्मेवारीपूर्ण रुपमा निर्वाह गरेको छु । त्यो त तपाईंहरुले आँकलन गर्ने कुरा हो । म एक डिएम गरेको डाक्टर हुँ । चिकित्सा विज्ञानको क्षेत्रमा पनि म प्रोफेसरको लेभलमा छु । यस अर्थमा सिनियारिटी, अनुभवी र योग्यताको आधारमा म अध्यक्षको एक योग्य दाबेदार हुँ ।