जाडो मौसममा बालबालिका बढी प्रभावित हुन्छन् । यस्तो अवस्थामा धेरैजसो श्वासप्रश्वास, झाडापखाला, निमोनिया तथा छाला सुख्खा हुनेजस्ता समस्या देखिन्छ । चिसो मौसममा स्वास्थ्यको विशेष ख्याल राख्नुपर्छ ।
अधिक चिसोबाट बालबालिकामा सामान्य फ्लू, ज्वरो, श्वासप्रश्वास, घाँटीको समस्याले सताउने भएकाले जाडोमा शरीरलाई न्यानो बनाएर राख्नुपर्ने बालरोग विशेषज्ञ डा. सुरेशप्रसाद साह बताउँछन् । साथै जाडोको समयमा नाक बन्द हुने, नाकबाट पानी बग्ने, श्वास फेर्न गाह्रो हुने, रुघाखोकी लाग्ने, घाँटी खसखस हुने, घाँटी दुख्ने, ज्वरो आउने, हाछ्युँ बढी आउने, टन्सिल हुनेजस्ता समस्या देखा पर्छन् ।
मौसम परिवर्तनसँगै बालबालिकाको स्वास्थ्यमा कस्ता समस्याहरू आउँछन् ? चिसोबाट हुने स्वास्य समस्याबाट बालबालिकालाई कसरी जोगाउने ? विराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेशलिटी हस्पिटलका वरिष्ठ बालरोग विशेषज्ञ डा. साहसँग हेल्थ आवजका लागि प्रदेश १ का संयोजक अनिल श्रेष्ठले गरेको कुराकानीः
कोरोना संक्रमणपछि अस्पतालमा बालबालिकाहरूको उपचार कसरी भइरहेको छ ?
अहिले पनि अस्पताल खुल्ला छ । अस्पतालका सबै सेवा सुचारू छन् । ओपीडीमा हामीले विशेष सावधानीहरू अपनाएर बालबालिकाहरूको उपचार गर्दै आएका छौं । कोभिडले गर्दा डाक्टर तथा स्वास्थ्यकर्मीहरुले सचेत भएर बिरामी बालबालिकाहरूको उपचारमा लागि परेका छन् । अहिले कुनै काम पनि रोकिएको छैन ।
कोरोना संक्रमणबाट बालबालिकालाई कसरी जोगाउने ?
विश्वभरी महामारीको रूपमा फैलिएको कोभिड–१९ ले सबै उमेर समूहका मानिसलाई सताएको छ । तर, पनि बालबालिका र ज्येष्ठ नागरिकमा रोगसँग लड्न सक्ने क्षमता कम हुने गर्दछ । त्यही भएर अभिभावकले बालबालिकाहरूको हकमा विशेष ध्यान दिनुपर्छ । दुई वर्ष भन्दा मुनिका बच्चाहरूलाई धैरै ख्याल गर्नु पर्छ ।
२ वर्षभन्दा मुनिका बच्चालाई माक्सको प्रयोग गरिनु हुदैन । दुई वर्षभन्दा माथिका बालबाकिलाहरूको हकमा मास्कको प्रयोग गर्नुका साथै साबुन पानीले राम्रोसँग हात धुन लगाउनु पर्दछ । घरबाट बाहिर हिँड्दा माक्सको प्रयोग र बालबालिकाहरूलाई धैरै भीडभाड भएको ठाउँमा पनि लैजान हुँदैन ।
यतिबेला नेपालमा चिसो मौसम सुरु भएको छ, यो सँगै अस्पतालमा आउने बालबालिकाहरु के समस्या लिएर आउँछन् ?
जाडोको समयमा बालबाकिलाहरूमा देखिने मुख्य समस्या भनेको सामान्य फ्लू र श्वासप्रश्वास सम्बन्धी समस्या हो । यस्तो समस्याबाट जाडो मौसममा बालबालिका बढी प्रभावित हुन्छन् । यस्तो अवस्थामा धेरैजसो श्वासप्रश्वाससम्बन्धी समस्या, झाडापखाला, निमोनिया तथा छाला सुख्खा हुनेजस्ता समस्या देखिन्छ । यसैगरि अहिले मौसम परिवर्तनपछि रूघाखोकी, टन्सिललगायतका समस्या भएर बिरामीहरू आउने गर्छन् । अहिलेको जाडो सुरू मौसम भएको छ ।
यो मौसम परिवर्तनमा बालबालिकाहरूमा बढी भाइरलले सताउने गर्दछ । जाडोको समयमा नाक बन्द हुने, नाकबाट पानी बग्ने, श्वास फेर्न गाह्रो हुने, रुघाखोकी लाग्ने, घाँटी खसखस हुने, घाँटी दुख्ने, ज्वरो आउने, हाछ्युँ बढी आउने, टन्सिल हुनेजस्ता समस्या पनि देखा परेका छन् ।
जाडोमा देखिने स्वास्थ्य समस्याबाट बालबालिकाहरूलाई कसरी जोगाउने ?
जाडोको समयमा सरसफाइमा विशेष ध्यान दिनुपर्दछ । तातो लुगा लगाएर बच्चालाई तातो खानेकुरा खुवाउनु पर्छ । सामान्य रुघाखोकी वा ज्वरो आउँदा डाक्टरको सल्लाहबिना वा औषधि पसलबाट किनेर बच्चालाई औषधिको सेवन गराइने गरिन्छ । यो गलत हो । डाक्टरको सल्लाहविना बच्चालाई औषधिको सेवन गराउन र अनावश्यक एन्टिबायोटिकको प्रयोग गर्न हुँदैन ।
ब्याक्टेरियाले गरेको श्वासप्रश्वाससम्बन्धी समस्या हो भनेमात्र एन्टिबायोटिक दिएर उपचार गर्नुपर्ने हुन्छ । तर, सामान्य भाइरलको संक्रमण भाइरसको कारणले हुने गर्छ । ब्याक्टेरियाले समस्या नगरेको खण्डमा एन्टिबायोटिक दिएर गरिएको उपचारले रोग निको हुँदैन । कोभिडको संक्रमण पनि बढिरहेको बेलामा सामान्य रुघाखोकी वा नाकबाट पानी बग्ने मात्र समस्या छ भने अस्पतालमा आउनुभन्दा पनि घरेलु उपचार पनि प्रभावकारी हुन सक्छ । जाडोको समयमा घरमै न्यानो बनाएर तातो कपडा लगाई, तातो खाना र धेरै झोलिलो पदार्थको सेवन गर्ने, नुनपानीले कुल्ला गर्ने, नाक बन्द भए नाकमा नुनपानी हाल्ने तथा बाफ लिएरमात्र पनि जाडोमा देखिने समस्याको सामधान गर्न सकिन्छ । बच्चालाई प्रशस्त मात्रामा पोषण तत्वयुक्त सागसब्जी, फलफूल तथा खानेकुराको सेवन गराउनु पर्छ । कमजोर भएपछि निको हुन समय लाग्नुका साथै बच्चालाई अन्य रोग लाग्ने सम्भावना पनि बढ्छ ।
त्यसैले चिसो लाग्ने खाना तथा फ्रिजमा राखिएका खानेकुराबाहेकका अन्य खाना बारिरहनु पर्दैन । ठूला बच्चालाई कागती, सुन्तलालगायतका भिटामीन सीयुक्त आहारको सेवन गराउनु पर्छ । भिटामिन सीले शरीरमा भएको रोगविरुद्ध लड्ने क्षमताको विकास गर्छ र शरीरमा कुनै प्रकारको रोग पनि लाग्न दिँदैन । यदि ६ महिनाभन्दा कम उमेरका शिशु भएमा आमाको दूधको सेवन गराउने तथा आमाको छातिमा न्यानो हुने गरी टँसाएर राख्नु पर्छ । आमाले बच्चालाई आफ्नो जिउसँग जोडेर राख्दा न्यानो हुन्छ र संक्रमणबाट बचाउन सकिन्छ । सामान्य फ्लूले मात्र सताएमा ६ महिनाभन्दा माथिका बच्चालाई महको सेवन पनि गराउन सकिन्छ । महले नाकबाट बग्ने पानीलाई पातलो बनाएर कफसमेत जम्मा हुन दिँदैन ।
जाडोमा बालबालिकाको छाला सुख्खा हुने गर्दछ । यसबाट कसरी जोगाउन सकिन्छ ?
जब हाम्रो शरीरको छाला सुख्खा हुन्छ तब छालासम्बन्धी रोगहरू बल्झिएर आउँछन् । बाहिरी वातावरणको तापक्रम हाम्रो शरीरको भन्दा कम हुन्छ तब हाम्रो शरीरको ताप वातावरणले तान्न थाल्छ । यसले गर्दा हाम्रो शरीरबाट पानीको मात्रा छिन्न भइरहेको हुन्छ र छाला सुख्खा हुन्छ ।
बालबालिकाको छालाको समस्या समाधानमा हामीले विशेष ध्यान दिनुपर्छ । खानपानमा विशेष ध्यान दिनुपर्छ । हरियो सागसब्जीका साथै प्रशस्त पानी पिउनाले सुख्खा छालाको समस्या समाधान हुन्छ । यस्तै छालामा टाँसिने गरी सुती कपडाको प्रयोग गरिने, धरै तातो पानीले सावरबाट सीधै ननुहाउने, एक बाल्टी मनतातो पानीमा दुई चम्चा नुन राखेर नुहाउने गर्नाले छाला सुख्खा हुन पाउँदैन । कडा खालको साबुनको प्रयोग नगर्ने, बेबी लोसन र नरिवलको तेल प्रयोग गर्नाले पनि छाला सुख्खा हुनबाट जोगाउन सकिन्छ ।
बालबालिकालाई चिसो मौसमबाट जोगाउन अभिभावलाई केही सुझाव दिनुहुन्छ ?
बालबालिका भोलीका देशका कर्णदार हुन् । सानो उमेरमा उनीहरूलाई हामीले विशेष ख्याल गर्नु पर्छ । अभिभावकले आफ्नो बच्चालाई समय दिनुपर्छ । सबै तरिकाबाट आफ्नो बच्चालाई स्वस्थ्य राख्न सरसफाइमा विशेष ध्यान दिन आग्रह गर्दछु । बालबालिकाहरूलाई सरसफाइमा विशेष ध्यान राखियो भने आधा भन्दा बढी रोक नलाग्ने भएकोले यसतर्फ ध्यान दिन अभिभावकलाई आग्रह गर्दछु । त्यसैले बालबालिकालाई चिसोबाट हुने स्वास्थ्य समस्याबाट जोगाउनका लागि अभिभावक नै सचेत हुनुपर्छ ।