डा. प्रदीप के.सी., केन्द्रीय आयुर्वेदिक चिकित्सालयका निर्देशक हुन् । हालमात्रै देशकै सबैभन्दा पुरानो केन्द्रीय आयुर्वेद चिकित्सालयका निर्देशक बनेका डा. के.सी.सँग आयुर्वेद चिकित्साको अवस्था, यसको प्रभावकारिता, केन्द्रीय आयुर्वेद चिकित्सालयको अवस्था, विरामीको चाप, समस्या र भावि योजना लगायत यावत विषयमा हेल्थआवाज डटकमका लागि सिर्जना मगरले गरेको कुराकानीः
केन्द्रीय आयुर्वेद चिकित्सालयका बारेका केही बताइदिनुहोस न ?
यसलाई धेरैले नरदेवी अस्पताल भन्छन् तर यो नरदेवी अस्पतालभन्दा पनि केन्द्रिय आयुर्वेद चिकित्सालय हो । यो नरदेवी भन्ने ठाउँमा छ । यो धेरै पुरानो चिकित्सा प्रदान गर्ने संस्था पनि हो । लगभग हामीले यही साल नै यसको सयौं वार्षिकोत्सव मनाएका छौं । यो वि.सं. १९७४ सालमा स्थापना भएको अस्पताल हो । तर, त्यो बेला पढाउने तथा उपचार गर्ने एकै ठाउँमा हुन्थ्यो । यसले हालसम्म अविछिन्न रुपमा काम गरिरहेको छ ।
चिकित्सालयले के कस्ता खालको सेवा विरामीलाई प्रदान गर्दै आएको छ ?
यो चिसिकत्सालयको नामै छ, आयुर्वेद चिकित्सालय । यसमा आयुर्वेदका विभिन्न चिकित्सकीय पद्धति र विधिहरुमार्फत उपचार गराइन्छ । यसभित्र आयुर्वेदका विभिन्न विधाहरु जस्तैः काय चिकित्सा–जो शरीरको आन्तरिक अंगहरुमा लाग्ने रोगहरुको बारेमा उपचार गर्ने विभाग हो । यस विभाग अन्तर्गत स्नेहन, स्वेदनका साथै पञ्चकर्म चिकित्सा पनि रहेको छ । त्यस्तै, अर्काे शल्य चिकित्सा विभाग छ, जसमा विभिन्न शल्य अर्थात् बाह्य पीडादायक वस्तुहरुलाई शरीरबाट बाहिर निकालेर उपचार गरिन्छ । जस्तै अहिले अर्श, भगन्दर अर्थात् मलद्वारको वरिपरी पिप निस्कने मार्ग बन्ने समस्या आदिमा धेरै चलेको छारसुत्र उपचार विधिलगायत अन्य शल्य चिकित्साबाट उपचार गर्छाै । त्यसबाहेक अर्काे शालाक्यतन्त्र विभाग भन्छौ । शालाक्य भनेको उर्धजत्रुगत अर्थात् घाँटीभन्दा माथिका अंगहरु जस्तै ः नाक, कान, घाटी र आँखाका रोगहरु र समस्याहरुलाई पनि हामी आयुर्वेदको विभिन्न उपचार विधिमार्फत उपचार गर्छौं । त्यसबाहेक अर्काे स्त्रीप्रसुती र कौमारभृत्य विभाग रहेको छ, जसमा महिलाहरुका समस्या तथा बालबच्चाहरुका रोगहरुलाई आयुर्वेदिक तवरबाट उपचार गरिन्छ । र, त्यो बाहेक यस चिकित्सालयमा एउटा शाखाको रुपमा रहेको अकुपञ्चर चिकित्सा पनि छ । अकुपञ्चर चिकित्सा र फिजियोथेरापीका चिकित्सकहरुबाट विभिन्न खालका नसर्ने रोगहरु जस्तै उच्च रक्तचापले उत्पन्न गराएका प्यारालाइसिस बिरामीहरु, शरीर दुखाईका रोगीहरु साथै अन्य सोही बमोजिमका समस्याको उपचार सेवा यहाँ दिइन्छ ।
यो चिकित्सालय १ सय वर्ष पुगिसकेको छ । तर, यति पुरानो भएपनि अन्य पुराना अस्पतालहरुजस्तो किन प्रसिद्ध छैन ?
यो गज्जबको प्रश्न होे । प्रश्न सोध्न जति सजिलो छ, उत्तर दिन त्यति नै गाह्रो छ । यो आयुर्वेदिक चिकित्सा पद्धति भनेको पहिलेदेखि नै परम्परागत रुपमा मानिसले घर—घरमा सबैलाई ज्ञात भएको विषय हो । जस्तै, तपाईलाई रुघा लाग्यो भने अदुवा पानी खानुपर्छ भनेर तपाइलाई बुवाआमाले सिकाउनुभयो । त्यो पनि एउटा भान्छाको आयुर्वेद हो । आयुर्वेद भन्ने शब्द मान्छेले नबुभ्mने तर घरेलु उपचारका रुपमा सबैले चिनिने भएकोले त्यो एउटा शब्दसँगको कुरा हो । त्यसबाहेक पछिल्लो समयमा यो आयुर्वेद चिकित्सा पद्धतिलाई हामीले व्यवस्थित गर्न नसकेको र व्यवसायिक गर्न नसकेको हो यसलाई हामी ब्यवसायिकता भन्छौ । एउटा वस्तुलाई कसरी प्रस्तुत गरिन्छ त्यसै अनुसार त्यसको प्रभाव जनमानसमा पर्छ । हामी प्रस्तुतीकरणमा पछि परेको हुनाले यो कमैले नबुझेको र नसुनेको हुन सक्छ । हाम्रा कुरालाई जनता तथा जनमानसमा हामीले राम्रोसँग भन्न नसकेको, आफ्नो विज्ञापन गर्न नसकेको र प्रष्ट कुरा जनमानसमा पु¥याउन नसकेको कारणले हो । नत्र भने आयुर्वेद अथवा यो भित्रका कुराहरु नबुझेको र नसुनेको कोही पनि हुनुहुन्न । हामीले यसलाई प्रष्ट रुपमा भन्न सकेनौं । आफूलाई व्यवसायीकृत गर्न सकेनौ त्यही कारणले हो । यसलाई हामीले अब नयाँ ढंगले सोच्नुपर्छ । मान्छेहरु नयाँ—नयाँ कुरा पढेर आएका छन् । देश—विदेश गएर सिकेर आएका छन् । आयुर्वेद चिकित्सालाई जनमानसमा पु¥याउने गरी हामीले कुनै विशेष खालको संयन्त्र खोजी गरिहेका छौं ।
मासिक रुपमा औसत कति जना बिरामीहरु उपचारका लागि आउँछन् ?
यो केन्द्रीय अस्पताल हो । यो केन्द्रीय अस्पताल भएतापनि वीर अस्पताल, शिक्षण अस्पताल अथवा प्रसुती केन्द्र र टेकुको अस्पतालजस्तोे बिरामीको चाप यहाँ छैन् । अघि नै भनिसके यहाँको सेवाको स्तर खस्कदो छ । अनि हामीले आयुर्वेद चिकित्साबारे जनताहरुलाई प्रष्ट रुपमा भन्न सकेनौं । यही नरदेवी छेउछाउको मानिसहरुलाई पनि थाहा छैन् यहाँ के–के रोगको उपचार हुन्छ भन्ने कुरा । यसले गर्दा विरामीको चाप उति धेरै छैन् । धेरै पहिले हामीले पढ्ने बेलामा बिरामीको ठूलो चाप हुन्थ्यो । अहिले त्यस्तो चाप नभएको नै हो तर बिरामी नै नभएको अवस्था चाहिँ होइन । दैनिक रुपमा एक दुई सय जतिको हाराहारी बिरामीहरु आउनु हुन्छ । र यहाँ जसले विशिष्ट सेवा दियो, जसले गुुणस्तरीय र प्रभावकारी सेवा दिनुभएको छ । ती शाखाहरुमा अहिले पनि बिरामीहरुको संख्या थेग्न नसक्ने छ । तर, आयुर्वेद भनेर आफूले आफूलाई र हामीले अरुलाई चिनाउन सकेनौ । र, हामीले दिन सक्ने के कुरा हो अरुभन्दा फरक त्यो कुरा जनताले थाहा पाउन सकेनन् । अरु अस्पतालहरु जस्तो वीर अस्पतालकै कुरा गर्नुहुन्छ भने त्यहाँ कतिपय बिरामीहरुका लागि उपचारका विधी छैनन् होला । त्यस्तो अवस्थामा हामीले यो परम्परागत र पुरक चिकित्साबाट उपचार गर्न सकिने धेरै ठाँउहरु छन् । यो कुरा हामीले वीर अस्पताललाई भन्न सकेनौ, बुझाउन सकेनौ । डाक्टर साब यो रोगको बिरामी हामीलाई पठाउनुहोस् भनेर भन्ने सकेनौं । हामीले यो कुराहरु गर्न सक्यौ र यो पक्षको उपचार गर्न सक्छौ भनी अरुलाई भन्न सक्यौ भने त्यसपछि बिरामीहरुको चाप बढिहाल्छ ।
प्रायःजसो कस्तो प्रकारका समस्याहरु लिएर बिरामीहरु यहाँ आउने गर्दछन् ?
यो अस्पतालमा धेरै पहिलेदेखि नै जीर्ण रोगहरु लिएर विरामीहरु आउने गर्नुहुन्छ । अन्त धेरै ठाउँमा हिडेर, थाकेर र उपचार नै सम्भव नभएर र नभएपछि अन्तिम अवस्थामा एकपट गइहालौ न त के हुन्छ भनेर हेर्ने हिसाबले पनि धेरै बिरामीहरु आउने गर्नुहुन्छ । तर, हाम्रो नजरमा पछिल्लो समयमा विशेषगरी नसर्ने जीर्ण रोगीहरु नै बढी आउने गर्नुहुन्छ । पेटको समस्यामा सबभन्दा बढी अम्लपित्तकै रोगी बढी छन् । जण्डिसको प्रख्यात अस्पताल भनेर पहिल्यैदेखि चिनिएको अस्पताल हो । त्यस्तै प्यारालाइसिस, अर्श (पाईल्स), भगन्दर (फिस्टुला) का बिरामीहरु धेरै आउनुहुन्छ । पञ्चकर्ममार्फत उपचार गर्नको लागि आउने बिरामीहरु पनि धेरै हुनुहुन्छ । मुखहरु बागिंने, पेट दुख्ने, निन्द्रा नआउने, जोर्नीहरुका समस्याहरु लिएर बिरामीहरु यहाँ आउने गर्छन् । यी सबै रोगहरुको निदानमा हामीले राम्रै गरिरहेका छौं । हालसालै शालाक्यतन्त्र अन्तर्गत आँखा सम्बन्धीका उपचारहरु पनि सुरु गरेका छौं । काठमाडौंमा रहेको धेरै धुँवा धुलोका कारण आँखामा चिलाउँछन् । अस्पतालतिर गयौ भने आइड्रपहरु दिनुहुन्छ तर पनि निको हुँदैन । त्यसमा हाम्रोमा विशेष खालको उपचार विधी छ । त्यसले गर्दा बिरामीलाई पनि राम्रो भएको छ । शल्य चिकित्सा अन्र्तगत क्षारसुत्र चिकित्सा विधि प्रख्यात हुँदै गएको छ । छिट्टै नै अग्निकर्म, कपिङ, अलाबुवृत्त, आयुर्वेदिक अभ्यङ्ग, मर्म चिकित्सा आदि सुरु गर्न गैरहेका छौँ ।
के कारणले आयुर्वेद चिकित्सालयको अवस्था खस्कदो क्रममा पुगेको हो ?
पहिलो कुरा अस्पतालको स्वीकृत दरवन्दीअनुसार विशेषज्ञ जनशक्तिको पदपूर्ति हुन सकेको छैन । जसकारण पूर्ण रुपमा चिकित्सा विभागहरु सञ्चालन गर्न समस्या देखिएको छ । विभिन्न विभागका नवौं/दशौ तहका डाक्टरहरु लोकसेवाबाट पनि हामीले माग गर्न नसकेका र विगतमा दक्ष जनशक्ति नभएको कारण आठौं तहका डाक्टरहरुले नै सेवा प्रदान गर्नुपर्ने अवस्था रहेको छ । म भर्खरै आएको हुनाले यसअघि जनशक्तिको पदपूर्ति गर्न माग किन गरिएन ? अथवा पदपूर्तिको लागि लगातार संस्थागत प्रयत्न किन हुन सकेन ? मैले बुझ्न सकेको छैन् । भएकै जनशक्तिहरु पनि हाल समायोजनको कारणले अन्यत्र जानुपर्ने अवस्था आएको छ । विशेषज्ञ जनशक्ति बजारमा हुँदाहुँदैं पनि सेवा प्रदान गर्न गाह्रो परिरहेको अवस्था छ । त्यो बाहेक प्रशासनिक क्षेत्रमा यो क्षेत्र लामो समयसम्म निर्देशकबिहीन हुनु पनि एक कारण हुन सक्छ । वि सं २०६५ सालदेखि हालसम्म निमित्त निर्देशकको रुपमा प्रशासनिक हेरफेरले पनि केही असर गरेको छ ।
यसबाहेक अस्पतालमा मिही बलियो भयो मिहीको वरिपरी हिँड्ने जनशक्तिहरु पनि मिहीबाट टाढा भाग्न सक्दैनन् । तर, मिही नै डगमगाएको कारण यसको अवस्था नाजुक हुन पुग्यो । कर्मचारीहरुले पनि आफ्नो क्लिनिकहरु खोल्ने, त्यही बिरामी बोलाउने र औषधीहरु अन्त किन्न पठाउने, अस्पतालले उपलब्ध गराउने निःशुल्क औषधि समयमा नबनाउने आदि कारणले पनि अस्पतालको अवस्था खस्केको हो । यस्तै, ब्यवस्थापन गर्न नसकिएको फोहोरमैला, अस्पतालको भित्री संरचनागत ठाउँहरु मर्मत तथा सम्भार गर्न नसकिएको कारण चिकित्सालयको बाहिरी मुहार नै एकदमै कुरुप बनेको छ । अस्पतालमा गरिने जथाभावी अनाधिकृत पार्किङका कारण पनि समस्या भैरहेको छ । यो अस्पताल अहिले सुन पसलेदेखि नुन पसलेसम्मको पार्किङस्थल बनेको छ । के पनि सुन्नमा आएको छ भने लागु दुव्र्यसनकारीहरु अस्पतालमा नै पसी आफ्नो कामहरु गर्छन् रे । यसबाट अस्पताल असुरक्षित समेत हुन पुगेको छ । व्यवस्थापन गर्न नसकिएको फोहोरमैला, सिमित उपलब्ध स्रोत साधन आदिका कारण एउटा ऐतिहासिक चिकित्सालयको यस्तो अवस्था हुन पुगेको हो । यदि हामीले यस पक्षमा विशेष ध्यान दिइएन भने यो अस्पताल इतिहासमा नै सिमित रहने देखिन्छ ।
अस्पतालमा दुई बजेपछि चिकित्सक नै हुँदैनन् भन्ने गुनासो पनि सुनिन्छ नि ?
हो, यो आंशिक रुपमा सत्य हो । हामीले अस्पतालभित्र आगामी दिनहरुमा विस्तारित स्वास्थ्य सेवा (ईएचएस) ३ देखि ५ बजेसम्म समय तोकी सो बमोजिम सेवा दिने सोच बनाएका छौं । तर, हाल संघमा समायोजन भएका चिकित्सकहरु समयमै पदस्थापना नभएको र हाल सेवारत चिकित्सकहरु पनि हतार गरेर समायोजन भएको प्रदेशमा गैसक्नुभएको छ । समायोजनका कारण र सिमित जनशक्तिको कारण पनि यो समस्या देखिएको हो । अब छिट्टै ब्यवस्थित रुपमा हामीले सेवा उपलब्ध गराउनेछौं ।
अस्पतालले बिरामीहरुबाट कतिको आम्दानी गरिरहेको छ ?
यो अस्पताल कुनै नाफामूलक हिसाबले सञ्चालित अस्पताल होइन् । नेपाल सरकारको सहयोगमा सञ्चालित अस्पताल भएकाले कतिपय अवस्थामा हामीले सिमित स्रोत साधनबाट उपलब्ध औषधिहरु र सेवाहरु प्रदान गर्दै आएका छौं । जसबाट दैनिक ५० देखि ८० हजारको हाराहारीमा रकम संकलन हुने गरेको छ । यसबाहेक क्यान्टिन, ल्याब, सटरकोठाहरुबाट आउने भाडा आदिबाट हुने मासिक आम्दानी यकिन त छैन् । तर, त्यहाँबाट पनि अस्पताललाई आम्दानी भैरहेको छ ।
अस्पताललाई गुणस्तरीय बनाउनको निम्ति तपाईंको योजना के छ ?
योजना धेरै हुन सक्छन् । छोटकरीमा भन्नुपर्दा सकेसम्म धेरै बिरामीहरुलाई गुणस्तरीय सेवा उपलब्ध गराउनु नै हाम्रो पहिलो ध्येय रहेको छ । यसका लागि चिकित्सालयको आन्तरिक सुधार नै पहिलो योजना हो । चिकित्सकहरुलाई आन्तरिक तवरमा सुधार गर्ने र उहाँहरुलाई नैतिक जिम्मेवारी बहन गर्न लगाउनु नै पहिलो कदम हुन आउँछ । उहाँहरुले सरकारी तलब खाइसकेपछि नैतिकता बहन गरी हाँसीखुशीका साथ तोकिएको समयसम्म सेवा प्रदान गर्र्नैपर्छ । उहाँहरुमा यस विषयमा सुधार नभएसम्म अरु नयाँ सुधार केही हुन सक्दैन् । र अर्को हो, गुणस्तरीय औषधिको वितरण । अहिले बजारमा आयुर्वेदिक औषधिहरु गुणस्तरहीन भए भन्ने कुरा आइरहेको छ । मेरो योजना यहाँ उत्पादित औषधिहरु म आफैले ढुक्कसँग खानसक्ने हामीले बनाउनेछौँ र ढुक्कका साथ बिरामीहरुलाई निःशुल्क वितरण गर्नेछौँ । यसैगरी, नर्सिङ सेवाको विस्तार गर्ने पनि हाम्रो योजना रहेको छ, जसमा पनि चिकित्सकको ठूलो हात हुन्छ । यसबाहेक प्रशासनिक क्षेत्रको सुधारका कुराहरु पनि अगाडि बढाउने योजनामा छु । हामीले सरकारबाट अपेक्षाकृत सहयोग त पाइराखेका छौँ तर हामी यस क्षेत्रमा सरकारको निगरानीपूर्ण सहयोग र लगानी चाहान्छौं । सरकारले यस अस्पतालमा गरिएको लगानीको पनि लेखाजोखा राख्नु आवश्यक छ । तसर्थ, सरकारले यसबारे प्रत्यक्ष जानकारी हासिल गरी आर्थिक रुपमा सहयोग गर्नुपर्छ । अन्यथा, हामी अपांग सरह हुन्छौं । आशा छ, नेपाल सरकारले यस विषयमा सकारात्मक भै सहयोग गर्नेछ ।