विश्वराज काफ्ले
रजिष्ट्रार, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला
तपाईंहरुको समिति आएको दुई वर्ष भयो । यो समयावधिमा के–के गर्नुभयो ?
प्रतिष्ठानका स्पष्ट कार्यभारका हाम्रा तीन वटा क्षेत्र छन् । एउटा स्वास्थ्य सेवा प्रदान गर्ने । जुम्लामा स्वास्थ्य सेवा दिने र कर्णालीका अन्य जिल्लामा गुणस्तरीय स्वास्थ्य सेवालाई विस्तार गर्ने । त्यसपछि, स्वास्थ्य शिक्षा, जुन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको ऐनमा लेखिएको छ । र, अर्को भनेको अनुसन्धानमूलक कार्यहरु । अब स्वास्थ्य सेवाअन्तर्गत सबैभन्दा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जहाँ ३ सय बेडको अस्पताल छ । पहिले यसबाट दिन सकेका आईसीयु, ब्लड बैंक मेसिन, अस्पतालको आफ्नो फार्मेसी, सिटीस्क्यानलगायतका सेवा अहिले सञ्चालनमा आएका छन् । थप डेन्टल सेवा, नाक, कान, घाँटीलगायतका सेवाहरु हामीले थप्यौं ताकि हामीले गुणस्तरीय विशेषज्ञ सेवा प्रदान गर्ने काम ग¥यौं । त्यसपछि हामीले कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय, केन्द्रीय सरकारसँग समन्वय गरेर कर्णाली प्रदेशका अन्य जिल्लामा चिकित्सक नै पठाउने र त्यही सेवा दिने गरीरहेका छौं । जस्तोे हुम्लामा हामीसँग एक जना चिकित्सक हुनुहुन्छ । पश्चिम रुकुम, जाजरकोट, कालिकोट, मुगुमा महिनाको एक पटक फिक्स क्याम्प चलाउने गरेका छौं । यो वर्ष त अझै कर्णाली प्रदेश सरकारसँग सामाजिक विकास मन्त्रालयसँग मिलेर कर्णालीका दुर्गम–दुर्गम गाउँमा पनि हामीले अप्रेसनसहितको सेवा प्रदान ग¥यौं । आङ खसेका महिलाहरुको पनि सफल अप्रेसन ग¥यौं ।
महत्वपूर्ण मानिएको दोस्रो कार्यभारबारेमा पनि विस्तृतमा बताइदिनुहोस न ?
दोस्रो, कार्यभार स्वास्थ्य शिक्षाका कार्यक्रम संचालन गर्ने हो । स्वास्थ्य शिक्षा अन्तर्गत अघिल्लो वर्ष हामी जानु भन्दाअघि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एचए र स्टाफ नर्सको मात्र पढाइ हुन्थ्यो । त्यो भनेको पिसिएल लेभलको कायक्रम जुन सिटीईभिटीअन्तर्गत पनि हुन्छ । विश्वविद्यालयमा ब्याचलर्स र मास्टर्स लेभलका कार्यक्रमहरु चाहिन्छ भन्ने हिसाबले हामीले विभिन्न किसिमका कार्यशाला, गोष्ठीहरु ग¥यौ । पाठ्यक्रम निर्माण ग¥यौं । थप छलफल ग¥यौं । नेपाल नर्सिङ काउन्सिलले ब्याचलर्स इन मिडवाइफ्री अघिल्लो वर्ष सुरु गर्न सक्यौं । त्यस्तै ब्याचलर्स इन पब्लिक हेल्थ सुरु ग¥यौं । एनेस्थेसिया एसिस्टेन्ट कार्यक्रम सुरु भयो । यो वर्ष चाहिँ हामीले नेपाल मेडिकल काउन्सिलसँग समन्वय गरेर मास्टर्स लेभलको एमडिजीपी कार्यक्रम पनि स्वीकृती पायौं । अब हामीले पूरा शक्ति एमबीबीएस कार्यक्रममा लगाएका छौं । अनुसन्धानमा हामीले अहिले कासको ३ वटा भोलुम जर्नल निस्किसकेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएका विभिन्न डाक्टरहरुले आफ्नो जर्नलहरु निकाल्नुभएको छ । र, अहिले अनुसन्धानसँग सम्बन्धित थप कार्यहरु पनि गरिरहेका छौं ।
मुख्य कुरा मेडिकल कलेज सञ्चालनको कुरा छ । धेरैले भन्ने गरेको कुरा के भने कर्णालीमा चिकित्सक पढाउनलाई चाहिने विरामी पुग्दैनन् । कसरी सञ्चालन गर्नुहुन्छ ?
यसमा सबैभन्दा महत्वपूर्ण कुरा नै यही हो । बाहिर जुन किसिमको हल्ला छ, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको ऐनमै लेखिएको छ, कर्णालीको कार्यक्षेत्र ९ वटा जिल्ला छ । त्यमध्ये हरेक जिल्लामा डाक्टर नै खटाएर उपचार दिने हो । कासमा अर्को महत्वपूर्ण के छ भने, प्रतिष्ठानको ऐनमै छ, ४५ प्रतिशत आरक्षण छ । आरक्षण भनेको पिछडिएको क्षेत्रको ९ वटा जिल्लाको मान्छेले चिकित्सा शिक्षा पढ्न पाउनुहुन्छ । त्यो डाक्टरले पछि गाउँमा गएर अनिवार्य दुई वर्ष सेवा गर्नुहुन्छ । त्यसले हरेक गाउँ–गाउँमा स्वास्थ्य सेवा पुग्छ । अर्को कुरा के छ भने, कर्णालीमा भएका र ठूला प्रदेश अस्पतालदेखि लिएर सबै प्रदेश अस्पतालसँग सहकार्य गर्ने एमओयु भएको छ । त्यसमा के लेखिएको छ भने, कर्णाली प्रदेशका सम्पूर्ण जिल्लामा भोलि स्वास्थ्य सेवाका निम्ति कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक कार्यक्रम सञ्चालन गर्न, प्रयोग गर्न पाउने भन्ने छ । अर्को के छ भने, भेरी अस्पताल, सेति अस्पताल, महाकाली अस्पतालसँग पनि हामीले एमओयु गरेका छौं । भोलि त्यहाँ पनि गएर विद्यार्थीहरुले प्राक्टिकल्ली सिक्न पाउँछन् । त्यसरी हामीले क्वालिटी बढाउने तयारी गरेका छौं ।
कास आफैंमा स्वायत्त संस्था हो । अहिले केन्द्रीय सरकारले ठूलो सहयोग गरेको छ । सधैं केन्द्र सरकारले सहयोग नगर्न सक्छ । आफ्नै स्रोतको विकास आधार के छन् ?
यस विषयमा, हामी त्यहाँका स्थानीय जनतासँग बस्दा यो कुरा आएको थियो । हामीले सरकारसँग पनि भन्यौं, स्वायत्तता भैसकेपछि आर्थिक रुपमा पनि स्वायत्त हुनुपर्छ । हामीले बढीभन्दा बढी शैक्षिक कार्यक्रम सञ्चालन गर्नुको उद्देश्य पनि त्यही हो । हामी सकेसम्म अहिले भएकै जनशक्तिबाट धेरैभन्दा धेरै शैक्षिक कार्यक्रम सञ्चालन गर्न सक्यौं भने, विरामीबाट धेरै मुल्य असुल्ने हाम्रो लक्ष्य छैन । गुणस्तरीय सेवा सस्तो मूल्यमा दिने र शैक्षिक कार्यक्रम धेरै सञ्चालन गर्ने ताकि अबको केही वर्षभित्र प्रतिष्ठान आत्मनिर्भर होस् भन्ने हिसाबले हामीले कार्य गरिरहेका छौं ।
पहिले प्रदेश सरकारले राम्रो सहयोग गरिरहेको भन्ने सुन्नमा आएको थियो । अहिले खटपट भएको भन्ने आएको सुनिन्छ नि ?
त्यस्तो छैन् । यसै वर्ष मात्र हामीले प्रदेश सरकारसँग छलफल र सम्झौता गरी कर्णाली प्रदेशका धेरै जिल्लामा विशेषज्ञ सेवा सुरु ग¥यौं । साउनदेखि नै प्रदेश सरकारसँग थप छलफल गरी आगामी वर्षका कार्यक्रम तयार गर्दैछौं । प्रदेश सरकारसँग हाम्रो नङ र मासुको जस्तै सम्बन्ध छ । हामीले सधैं समन्वय गरेर काम गरिरहेका छौं ।
सरकारले प्रदेश अस्पताललाई नै प्रतिष्ठान बनाउने भनेर जुन कार्य सुरु गरेको छ । त्यसमा त अलि विवादजस्तो देखियो नि ?
त्यो नेपाल सरकारको मन्त्रिपरिषद्बाट निर्णय भएको छ । प्रदेश सरकारले चाहिँ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि सुर्खेतमा मेडिकल कलेज भनेर आएको थियो । तर, केन्द्रीय मन्त्रालयले अहिले पूर्वाधार विकास कार्यालय भनेर सुर्खेतमा खडा गरेको छ । त्यो शिक्षा मन्त्रालयअन्तर्गत रहेको हामीले बुझेका छौं ।
कुलपपि एवं प्रधानमन्त्री, तत्कालीन स्वास्थ्य राज्यमन्त्रीलगायत अघिल्लो सिनेटमा प्रधानमन्त्री पनि जुम्लामा पुग्नुभयो । हामीले त्यही बेला कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्तरोन्नतीका लागि केन्द्रीय र प्रदेश सरकार दुवैको सहयोगको आवश्यकता रहेको भनेका थियौ । र, सबैले यसका लागि पहल गर्छौ भन्नुभएको छ ।
भोलि दुईवटा मेडिकल इन्स्टिच्युट भयो भने त्यसले केही असर गर्छ कि गर्देन ?
कर्णाली प्रदेशमा दुईवटा स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालन हुनका लागि तत्काल आर्थिक र प्राविधिक रुपमा पनि गाह्रो छ । त्यसैले हामीले के सोचेका छौं भने, कर्णाली प्रदेशबाट एउटा मोडेल स्थापित गराउँछाैं । अहिले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुन जुम्लामा छ, त्यसबाट शैक्षिका कार्यक्रमहरु, एमबीबीएस सञ्चालन गरौं । सुर्खेतमा भएको एउटा अस्पताल छ, त्यसलाई चाहिँ सुविधा सम्पन्न टर्सरी लेभलको हस्पिटल बनाऔं । ताकी कर्णालीका कुनै पनि मानिस उपचारका लागि बाहिर जान नपरोस् । यस विषयमा हामीले प्रदेश सरकारसँग छलफल गरेका छौं । छलफल जारी छ । यो सकारात्मक रुपमा टुङ्गिन्छ भन्ने हामीलाई लागिरहेको छ ।
अहिले एमबीबीएसको पाठ्यक्रम विकास गर्न सुरु गर्नुभएको छ । कर्णालीमा अरुको भन्दा फरक पाठ्यक्रम चाहिन्छ भन्ने कुरा पनि आएको छ । के फरक हुन्छ?
यसमा चाहिँ धेरै विज्ञहरुको, पाठ्यक्रम निर्माणमा संलग्न विशेषज्ञहरुको सुझाव के छ भने, सबैको एउटै स्ट्याण्डराइजेसन हुनुपर्छ, राष्ट्रिय अन्तर्राष्ट्रिय पाठ्यक्रमसँग म्याच पनि हुनुप¥यो । सँगसँगै कर्र्णालीमा, दुर्गम क्षेत्रमा काम गर्ने जनशक्ति हुनुप¥यो । अरुभन्दा पृथक हुनुप¥यो । समाजमा गएर सेवा दिने र गाउँमा बसेर काम गर्ने तीब्र इच्छा भएको डाक्टर हुनुपर्छ भन्ने सुझाव आएको छ । हामी सकेसम्म स्ट्यान्डर पनि मेन्टेन गर्ने र दुर्गममा बसेर काम गर्ने डाक्टरउ त्पादन गर्ने गरी कम्युनिटी बेसिसमा आधारित भएर पनि पाठ्यक्रम निर्माण गर्न चाहन्छौं ।
किन एमडिपीजीलाई विशेष प्राथमिता दिनुभएको हो ?
हामी अरुमा नलागेर किन एमडिजिपीमा लागेको हो भने, एक त हामीसँग फ्याकल्टी नै पीजि एमडिजीपीको मात्र हुनहुन्थ्यो । अब अहिले त अरु विषयको पनि प्राध्यापकहरु आउनुभएको छ । तर, एमडिजिपी भनेको दुर्गममा काम गर्ने, पिछडिएको क्षेत्रमा एमडिजिपीको आवश्यकता छ, एकदमै आपतकालीन अवस्थामा एमडिजिपी त्यो ठाउँको अत्यावश्यक भएकाले हामीले भोलि प्रदेश सरकार र केन्द्र सरकारसँग छलफल गरेर दुर्गममै काम गर्ने पाठ्यक्रम बनिसकेको छ ।