त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)को २०७०–२०७५ ब्याचकी टपर हुन्Ðप्रतिभा सुवेदी । किष्ट मेडिकल कलेजबाट नेपाल सरकारको छात्रवृतिमा एमबीबीएस टप गरेकी सुवेदीले हेल्थ आवाजसँग आफ्नो मेहनत र भविष्यको योजनाका विषयमा यसरी साटेकी छन्ः
परिवारको सहयोग
मैले एसएलसीसम्म कीर्तिपुरको राराहिल मेमोरियल स्कुलमा पढें । प्लस टु बबरमहलस्थित नेपाल मेगा कलेजमा गरेकी हुँ । शिक्षकहरुको साथ, सहयोग एवम् आफ्नो मेहनतका कारण पढाइमा सधैं अब्बल नै रहे । त्यसपछि शिक्षा मन्त्रालयको इन्ट्रान्स परीक्षामा २० औं नम्बरमा नाम निस्केपछि पूर्ण छात्रवृत्ति पाएर अध्ययनका लागि किष्ट मेडिकल कलेज रोजे । किष्टमा आएर पनि धेरै परिश्रम गरे तर आफ्नो मेहनतभन्दा बढी आफ्नो गुरुवर्गको मार्गदर्शनलाई म आफ्नो सफलताको श्रेय दिन्छु ।
चाहे त्यो मेरो पढाइ होस् वा अन्य कुनै कार्य वा निर्णय, मेरो परिवारले मलाई सधैं सतप्रतिशत साथ दिएको छ । छोरीको पढाइलाई असर पर्ला भनेर घरमा कुनै टेन्सनको कुरा हुँदा पनि मलाई सुनाइँदैथ्यो । मेरो समय खेर नजाओस् भनेर आमाले कहिल्यै घरको काम लगाउनुभएन । मलाई फुक्काफाल भएर आफ्नो पढाइमा लागिरहन प्रेरित गर्नुभयो । अहिले घरायसी कामहरुमा अलि कमजोर नै छु ।
एमबीबीएसको तयारीमा पनि परिवारबाट कुनै तनाव भएन । तिमीले नाम निकाल्न सकेनौ भने पनि डाक्टर बन्ने तिम्रो सपना म पुरा गर्छु भनेर दह्रो साथ परिवारबाट पाइरहेकी थिए । बुवा हमेशा भन्नुहुन्थ्यो, ‘जसोतसो जोडेर भएपनि तिमीलाई डाक्टर बनाउँछु ।’ तर, म भने छात्रवृत्तिमै नाम निकालेर नै पढ्छु भन्नेमा प्रतिबद्ध थिएँ । भनिन्छ, सफलता परिश्रमीहरु हातको कमाल हो । मैले पनि त्यही पाएँ ।
मेरो विचारमा सबैभन्दा महत्वपूर्ण कुरा परिश्रम नै हो । एक दिनको वा एक हप्ताको क्षणिक मेहनतभन्दा पनि हरेक दिनको निरन्तर परिश्रमले नै टपर बन्न सकिन्छ । परीक्षाका लागि अथवा आमाबुबाका लागिभन्दा पनि आफू स्वयं नै आफ्नो पढाइ र पेशाप्रति उत्पे्ररित हुन जरुरी छ ।
साथीहरुको साथ
साह्रै नै आत्मीय साथीहरु पाएकोमा म आफूलाई एकदमै भाग्यशाली ठान्छु । ५ वर्ष होस्टेल नै बसेर पढेकाले एमबीबीएस अवधिका उतार-चढावमा उनीहरुले ठूलो साथ र सहयोग दिएका छन् । निकट साथीहरु धेरै भएपनि मेरा दुई मित्र भारती पण्डित र जितेन्द्रप्रसाद शाहको नाम चाहिँ मैले लिनैपर्ने हुन्छ ।
दुर्गममा सेवा गर्ने रहर
भविष्य त कसले देखेको छ र । जे पनि हुन सक्छ । तर, अहिलेसम्मको मेरो इच्छा इन्टरनल मेडिसिन पढ्ने हो । त्यसभित्रको विशेषज्ञता भनेको पढ्दै र काम गर्दै जाँदा थाहा होला । तर, हालसालै ड्रम्र्याटोलोजी अर्थात् छाला विभागमा पनि मेरो रुची बढेको छ । अहिलेसम्मको मेरो रहर मुलुकका दुर्गम क्षेत्रमा गएर नै काम गर्नेछ । दुर्गममा काम गर्दाको आत्मसन्तुष्टी सुगममा काम गर्दा पाइदैंनजस्तो लाग्छ ।
आँशु थाम्न नसक्ने म
मेरो राम्रो बानी लगनशीलता नै होला । चाहे त्यो मेरो पढाइ होस या साहित्य एवम् वक्तृत्वकलाजस्ता अन्य रुचीका अन्य विषय । म जे गर्छु आफ्नो मनबाटै गर्छु । त्यसमा पूरै दत्तचित्त भएर लाग्छु । मेरो नराम्रो बानी भनौं या कमजोरी भनौं, मेरो संवेदनशील स्वाभाव हो । अलि कमजोर मुटुकी छु । त्यही भएर कसैले केही भन्यो भने चाँडैं मन दुख्छ । अनि आँशु थाम्न सक्दिन् ।
नयाँलाई सुझाव
सर्वप्रथम आफ्नो व्यक्तिगत इच्छा भएका विद्यार्थीलाई म एमबीबीएस पढ्ने सल्लाह दिन्छु । आफ्नो ज्ञान र सीपले विरामीको ज्यान जोगाउन पाउँदा हुने खुशी सांसारिक खुशीभन्दा धेरै माथि छ । तर, यस क्षेत्रका आफ्नै चुनौतीहरु छन् । त्यसकारण परिश्रम अपरिहार्य छ ।
एमबीबीएस पाठ्यक्रम अथाह भएकाले गुरुवर्ग तथा अग्रजहरुको ठूलो भूमिका रहेको हुन्छ । के पढ्ने, कताबाट पढ्ने भन्ने कुरामा उहाँहरुको निर्देशनको खाँचो पर्छ । त्यसमाथि पनि बिरामी सम्बन्धि कतिपय कुराहरु किताब पढेरभन्दा पनि बिरामीलाई नै जाँचेर सिकिन्छ । यो सन्दर्भमा उहाँहरुको निर्देशन, अनुभव तथा ज्ञान कोशेढुंगा नै सावित हुन्छ । त्यसैगरी यो पढाइ एकदमै गाह्रो भएकाले कडा मेहनतका बाबजुद पनि धेरै विद्यार्थीहरुको नतिजा राम्रो भैरहेको हुँदैन । त्यस्तो समयमा परिवार अनि गुरुवर्गले विद्यार्थीहरुलाई हतोत्साहित गर्नुहुँदैन । अझै मेहनत गर्न थप प्रोत्साहन दिनुपर्छ । र, सन्तानको इच्छा विपरीत आफ्नो चाहनाका लागि उनीहरुलाई यो विधामा धकेल्नु पनि अनुचित हुन्छ ।