चीनको वुहान इपिसेन्टर बनाएर सुरु भएको कोरोना भाइरस (कोभिड—१९) जापान, दक्षिण कोरिया, युरोप, अमेरिका हुँदै भारतमा तीब्र रुपमा फैलिरहेको छ । भारतसँग खुला सीमा क्षेत्र रहेको नेपालमा पनि अहिले क्रमसः दक्षिणतिरका सीमा क्षेत्रका गाउँहरुबाट कोरोना भित्रिन थालेको देखिन्छ । शुक्रबारसम्मको तथ्यांकअनुसार तराईका जिल्लाहरुमा धेरै कोरोना संक्रमितहरु भेटिएका छन् । स्वास्थ्यमन्त्रालयकाअनुसार अहिलेसम्म तराईका १८ वटा जिल्लामा कोरोना संक्रमितहरु फेला परेका छन् । तिनीहरुमध्ये अधिकांश भारतबाट फर्केकाहरु छन् ।
भारतले लकडाउन गरेलगतै चैत ११ बाट नेपाल सरकारले पनि लकडाउन सुरु गर्यो । विदेशबाट आयातित केसहरु रोक्न ९ चैतमै अन्तर्राष्ट्रिय उडानहरुमा रोक लगाइएको थियो । अन्तर्राष्ट्रिय उडानमा रोक लगाइएपछि कोरोना महामारी फैलिरहेको विश्वका देशहरुबाट हुने सक्ने सम्भावित संकट टर्यो । लगतै, सरकारले सीमा नाका सिल गर्दै बेलैमा लकडाउन पनि घोषणा गर्यो । केही हदसम्म वा भनौ केही समयसम्म भएपनि कोरोनाको फैलावटलाई त्यसले रोक्न सहयोगी भूमिका खेल्यो । तर, दक्षिणतिरका सीमा नाकाबाट भित्रिने नेपालीहरुको संख्यामा कमी आएन ।
अझ भारतले केही समयअघि लकडाउन खुकुलो गरेपछि भारतबाट आउने नेपालीको संख्या उल्लेख्य वृद्धि भएको छ । दक्षिणतिर रहेको खुला बोर्डरले गर्दा अहिले नेपाल कोरोनाको महामारीको चपेटामा परेको छ । सरकारले घोषणा गरेको लकडाउनलाई केही हदसम्म जनताले पालना गरेका थिए । तर, सरकारको पूर्व तयारी बिना गरेको लकडाउनले कोरोना धेरै रोक्न सकेन । भारतसँगको खुला बोर्डर कोरोनाको समयमा पनि चुनौती सावित भयो । अहिले पनि सबैभन्दा चुनौतीपूर्ण पक्ष भारतबाट फर्केका नेपालीहरुको परीक्षण र व्यवस्थापनमा देखिएको छ ।
अमेरिका, इटलीजस्तो उन्नत स्वास्थ्य प्रणाली भएका देशहरु समेत कोरोनाको अगाडि घुडा टेकेको अवस्थामा नेपालले कसरी सामना गर्छ, त्यो त पछि समयले नै देखाउला । तर, यसले अरु धेरै चुनौतीहरु नेपालका अगाडि थपिदिएको छ । त्यसमध्ये एक चुनौती सिमित स्वास्थ्यकर्मी रहेको नेपालमा सुरुकै दिनमा नै स्वास्थ्यकर्मीहरुमा पनि कोरोनाको संक्रमण देखिनु पनि हो । कोरोनाको उपचारमा संलग्न केही स्वास्थ्यकर्मीलाई सुरुको अवस्थामा नै आइसोलेसनमा राख्नु पर्दा अग्रपंक्तिमा रहेर काम गरिरहेका स्वास्थ्यकर्मीमाझ मनोबल गिर्न जान्छ । त्यसैले सरकारले स्वास्थ्यकर्मीको मनोबल गिर्न नदिन उनीहरुले पूर्णतया सुरक्षित बनाएर कोभिड—१९ संक्रमितको उपचारमा खटाउनुपर्छ ।
अहिले कोरोना भयको सुई क्रमसः काठमाडौंतर्फ सोझिदैं गएको छ । देशका विभिन्न ठाउँबाट उपचारका लागि भनेर बिरामीहरु काठमाडौं आउने क्रम जारीे छ । कतिपय केसहरुले बिरामीले आफ्नो ‘ट्राभल हिस्ट्री’ लुकाउने गरेको देखिएको छ । यसले उपचार गर्न कठिनाई त एकातिर छदैंछ, बिना व्यक्तिगत सुरक्षण उपकरण (पीपीई) बिरामीको उपचार गर्नुपर्दा चिकित्सक आफै कोरोनाको शिकार हुने डर अझै बढी छ । ४० दिनभन्दा बढीको लकडाउनमा सरकारले पर्याप्त आइसोलेसन अस्पताल, पीपीई र अन्य स्वास्थ्य उपकरणको व्यवस्थापन गरिसक्नुपर्ने थियो । तर, अहिलेसम्म चाहिने जति मात्रामा पीपीई, एन९५ माक्सलगायतका अत्यन्त जरुरी स्वास्थ्य उपकरणको समेत व्यवस्थापन हुन सकेको छैन । जसले कोरोना संक्रमित बिरामीको उपचारका लागि अग्रपंक्तिमा खटिने चिकित्सकहरुमाझ थप भयको वातावरण सिर्जना गरेको छ ।
सुरुवाती दिनमा जब काठमाडौंमा केही कोरोनाका आयातीत केसहरु देखिए । काठमाडौं छाडेर बाहिर जानेहरुको लहर देखियो । लकडाउनको झण्डै एक महिनापछि जब राजधानीबाहिर कोरोना संक्रमणका केसहरु बढ्न थाले, मासिनहरु ती ठाउँबाट रातविरात काठमाडौं भित्रिन थाले । अहिले पनि त्यो क्रम रोकिएको छैन । यसले काठमाडौंमा पनि क्रमसः जोखिम बढाउँदैं लगेको अवस्था छ । किनभने, कुनै समय कोरोना बिरामीमुक्त भैसकेको काठमाडौंमा पछिल्ला केही दिनदेखि आयातीय केसहरु बढी भेटिरहेका छन् । यसले काठमाडौंलाई पुनः कोरोनोको उच्च जोखिममा पारेको छ ।
नेपालमा कोरोना संक्रमित बिरामीको डाटा हेर्ने हो भने भारतबाट आएकाहरुमा र उनीहरुको सम्पर्कमा आएकाहरुमा अत्याधिक देखिएको छ । त्यसकारण सीमाबाट भित्रिनेहरुको व्यवस्था सबैभन्दा ठूलो चुनौती बनेको छ । अहिले बल कोरोनाको कोर्टमा भएपनि हामीले केही हदसम्म कोरोनालाई जित्न सक्ने अवस्था अझै देखिन्छ । सरकारले घोषणा गरेको लकडाउन हामीले पूर्ण रुपमा पालना गरेर घरमा नै बस्नुपर्छ । भारतबाट आएको व्यक्तिको सम्पर्कमा नजाने र भारतबाट आएको व्यक्तिलाई आफन्तले आफै आइसोलेसनमा राख्नुपर्छ । यसले कोरोनाको फैलावटलाई कम गर्न सहयोग गर्नेछ । कोरोना महामारी सरकार र डाक्टरले मात्र रोकथाम गर्न सक्दैनन् । यसलाई रोक्न जनस्तरबाट नै बलियो पहलकदमी आवश्यक छ । नागरिक, सरकार र स्वास्थ्यकर्मीको बलियो र योजनावद्ध सहकार्यले मात्रै कोरोना भाइरसमाथि विजय पाउन सम्भव छ ।