अहिले नेपाललगायत संसारका अधिकांश देश कोरोना भाइरस (कोभिड—१९) को चपेटामा परेर बाहिर निस्किन खोजिरहेको बेला हाम्रो देशमा बस्ने बिभिन्न क्षेत्रमा काम गर्ने मानिसहरुलाई कोभिड—१९ ले असर पुर्याइरहेको छ । यसको असर व्यवसायिक मान्छेमा मात्र सिमित नभई विद्यार्थीहरुमा अझ बढी देखिदै गएको छ । यस विषम परिस्थितिको कारण एसईई, उच्च माध्यमिक तहलगायत विश्वविद्यालयको परीक्षा पनि हुन नसकेका कारण विद्यार्थीहरुको पठनपाठनको उत्साह र मनोबल गिरेको छ ।
कोभिड—१९ का कारण परीक्षा दिन नपाएका वा आउँदो एक दुई महिनाभित्र परिक्षा हुने विद्यार्थीमा यसको प्रभाव बढी देखिएको छ । परीक्षा सकेर बसेका विद्यार्थीहरुको शिक्षण सिकाइलाई निरन्तरता दिन विभिन्न विद्यालय, क्याम्पस र विश्व विद्यालयले इन्टरनेटमार्फत अनलाइन प्रविधीबाट कक्षा संचालन गरी पाठ्यक्रमलाई अगाडि बढाइरहेको सुन्नमा आएको छ । तर, पाठ्यक्रम पूरा गरी परीक्षा दिन तयार भएका विद्यार्थीहरुको अवस्थालाई सरकार र सरोकारवालाहरुले अलि कम महत्व दिएको पो हो कि जस्तो देखिएको छ ।
यो कोरोना विरुद्वको गतिविधी कति लामो जान्छ भन्ने कुरा हामी कसैलाई पनि थाहा नहुँदा यी विद्यार्थीहरुको अमूल्य समय खेर नजाने गरी सरकार र सरोकारवालाहरुले छिटो निर्णय गरे राम्रो हुने थियो । यस्तो महामारीको बेला देश विदेशको खबर र हाम्रो समाजमा यसले पारेको प्रभावको कारणले परीक्षाको सन्मुखमा रहेका विद्यार्थीहरुको मनोविज्ञान कस्तो होला ?
केही दिनयता हाम्रो देशमा पनि यो रोगले महामारीको स्वरुप लिंदै गएको छ । यस्तो परिस्थितीमा विद्यार्थीहरुले कसरी परीक्षाको वस्तुगत तयारी गरिरहेका होलान् ? कसैको ध्यान पुगे जस्तो लाग्दैन । यतिबेला अधिकांश विद्यार्थीहरुको ध्यान आफ्नो भविष्यलाई लिएर सोसल मिडिया, संचार जगत र सरकारको मुखपत्रहरुमा छ ।
त्रासदीको वीचमा परीक्षा तयारीको लागि गरिने मेहनतको मनोवैज्ञानिक पक्ष कसले विचार गरिदिन्छ ? यस्तै अवस्थामा सरकारले परीक्षा संचालन गरिहाल्यो भने पनि विश्व स्वास्थ्य संगठनलगायत अन्तर्राष्ट्रिय एजेन्सीले दिएको निर्देशिका बमोजिम कम्तीमा पनि ६ महिनादेखि २ वर्षसम्म भौतिक दूरी राख्नुपर्ने हुन्छ । यस्तो सल्लाह दिएको परिप्रेक्ष्यमा एउटै कक्षाकोठामा धेरै संख्यामा विद्यार्थी राखेर परीक्षा संचालन गर्दा आउन सक्ने परिणामको डर र त्रास मनमा लिएर परिक्षामा बस्दा विद्यार्थीहरुले कस्तो नतिजा ल्याउन सक्छन् ?
यस्तो अवस्थाबाट मुक्त हुनको लागि र उच्च मनोवलका साथ सबै परीक्षार्थीहरुलाई परीक्षामा संग्लग्न गराउन परीक्षा प्रणालीमा केही हेरफेर गर्न सकिन्छ जस्तो लाग्छ । जस्तै विद्यार्थीहरुको कक्षा मुल्यांकन, आन्तरिक मुल्यांकन, प्रयोगात्मक मुल्यांकनलगायत अन्य कुनै वैज्ञानिक तरिका अपनाउन सकिन्छ । इन्टरनेटको माध्यमबाट घरमा नै बसेर परीक्षा लिन सकिने ब्यवस्था बनाउन सकिन्छ ।
यदि यो पनि सम्भव नभएको खण्डमा आउने शैक्षिक योजना र पाठ्यक्रमलाई अगाडि बढाइ अध्ययन अवधी पूरा भएपछि एकै पटक परीक्षा गराउन पनि सकिन्छ कि ! यसरी महामारीको प्रकोपमा परेका विद्यार्थीहरुको मनोबल उच्च बनाएर मानसिक तनाव कम गरी शैक्षिक गतिविधी संचालन गर्न सरोकारवालाहरुको समयमै ध्यान जान जरुरी देखिन्छ ।
(आचार्य इन्स्टिच्युट अफ मेडिसिनमा मास्टर इन नर्सिंग अध्ययनरत विद्यार्थी हुन् ।)