२०८१ पुस ७, आईतबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचारराप्ती प्रतिष्ठानबाट बर्खास्त गरिएकी प्रा.डा. ऋतु बराल भन्छिन, ‘मलाई राजनीति गाँसेर टार्गेट बनाइयो’

राप्ती प्रतिष्ठानबाट बर्खास्त गरिएकी प्रा.डा. ऋतु बराल भन्छिन, ‘मलाई राजनीति गाँसेर टार्गेट बनाइयो’


प्रा.डा. ऋतु शर्मा बराल, पूर्व कार्यवाहक निर्देशक, राप्ती प्रतिष्ठान

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पदाधिकारी बीचको विवाद नयाँ कुरा होइन । कहिले उपकुलपतिलाई सरकारले बर्खास्त गर्छ, अदालतले अन्तरिम आदेश दिएर रोकिदिन्छ त कहिले उपकुलपति आफै अन्य पदाधिकारी निलम्बन र बर्खास्ती गर्छिन् । पछिल्लो समय प्रा.डा. ऋतु शर्मा बराललाई कार्यबाहक निर्देशकबाट हटाउन फोटोसहित पत्रपत्रिकामा सूचना निकालिएपछि स्वास्थ्य क्षेत्रमा निकै चर्चा पायो । सोही विषयमा प्रा.डा. बरालसँग गरिएको कुराकानीः

कार्यवाहक निर्देशकबाट एक्कासी किन बर्खास्त गरियो ?
मैले ०७५ चैत २४ गते मैले राजीनामा दिएको हुँ । राजीनामा दिएर म काठमाडौं आए । त्यही दिन नै उहाँहरुले राजीनामाबारे भनेर मलाई पत्र पठाउनुभयो । त्यसमा मैले राजीनामा दिदाको कारण खुलाएकी थिए, त्यो कारणलाई उहाँलाई चित्त बुझाउनुभएन । उहाँहरुले तपाईले दिएको कारण हामीलाई चित्त बुझेन्, हामी स्पष्टीकरण लिन्छौं तपाई यही आएर हाम्रो उपस्थितीमा स्पष्टीकरण दिनुपर्छ भनेर पठाउनुभयो । मेरो वकिलले राजीनामा दिइसकेको मान्छे स्पष्टीकरण दिनु नपर्ने सल्लाह दिनुभयो ।

त्यसपछि, के के कुरा भयो ?
त्यसपछि फेरि उहाँहरुले बरबुझारथ सम्बन्धमा भनेर अर्को पत्र पठाउनुभयो । त्यसमा तपाईले गर्नुपर्ने बरबुझारथको सामान र स्पष्टीकरण यतै आएर बुझाउनु भन्ने लेखिएको थियो । त्यसमा टाइम लिमिट दिनुभएको थिएन, अनि टाइम लिमिट छैन् हामी चाँडैं बुझाउला भन्ने भयो । त्यसको केही दिनपछि नै स्पष्टीकरण र बरबुझारथ गर्न तीन दिनभित्र आउनु भनेर उहाँहरुले अर्को पत्र पठाउनुभयो । उनीहरुले सोधेको स्पष्टीकरण बुँदागत रुपमै लेखेर उनीहरुको अफिसमा दर्ता गराइदिएँ । बैशाख ७ गते त्यो दर्ता गरिसकेको अवस्थामा पनि कान्तिपुरमा स्पष्टीकरण र बरबुझारथ गर्न आउनुहोला भनेर सूचना आयो ।

बरबुझारथ पनि नगर्नु भएको भनेर उहाँहरुले पत्रिकामा सूचना नै निकाल्नुभयो नि ?
बैशाख ७ गते अन्तिम दिन थियो, त्यही दिनको बेलुका मैले स्पष्टीकरण लेखेर पठाएँ । त्यसमा क्वार्टरको साँचो काम गर्ने बहिनीको हातमा छोडेर आएको कुरा खुलाएकी छु । उनले अफिसमा रजिष्ट्रारलाई बुझाइदिएकी हुन् । अरु, बरबुझारथ गर्नुपर्ने मसँग केही पनि सामान थिएन । तपाईंहरुलाई लाग्छ केही छ भने अफिसमा त हामी लिँदाखेरि सही गरेर लिन्छौं मैले लिएको छु भने त्यहाँ मैले लिएको ओरिजिनल कपी देखाउनुहोस्, अनि फर्काइदिन्छु भनेर लेखें ।

तपाइले ल्यापटप र डकुमेन्ट बुझाउनुभएकाे छैन रे नी ?

मैले ल्यापटप र डकुमेन्टहरू केहीपनि लगेकाे छैन । लगेकाे भए प्रमाण देखाउनु पर्याे ।

त्यसो भए सार्वजनिक सूचना किन आयो त ?
त्यो स्पष्टीकरण बुझाएपछि १० जेठमा मेरो नाममा कान्तिपुरमा सूचना निस्कियो, बरबुझारथ गर्न आउनु भनेर । त्यसमा पनि समय तोकेको थिएन । सार्वजनिक सूचनाको म्याद ३५ दिन हुन्छ । त्यसपछि जेठ २३ गते मिति भएको चिठी मलाई असारको ४ गते इमेलमा आयो । त्यसमा पनि तपाईंले बरबुझारथ पनि नगरेको र स्पष्टीकरण पनि नदिएको कारणले तपाईलाई हामी किन कानुनी कारवाही नगर्ने र तपाईलाई हामी किन बर्खास्त नगर्ने २४ घण्टाभित्र भन्नु भनेर लेखिएको रहेछ । असार ५ गते ११ बजे त मलाई तपाईंलाई बर्खास्त गरिएको छ भनेर पत्र पठायो । राजीनामा गरेको मान्छेलाई बर्खास्त गरियो । त्यसको एक घण्टापछि तपाईलाई कानुनी कारवाही गर्छु भनेर अर्को इमेल आयो । म हेल्पलेस थिए, मैले केही गर्नै सकिन् । जेठ १० गते र असार ६ गते फेरि अर्को सूचना कान्तिपुरमा बर्खास्त र कानुनी कारवाही भन्दैं निकाल्यो । के कानुनले पनि उनीहरुलाई यस्तो गर्न दिन्छ ?


नियतगत रुपमा तपाईलाई दुःख दिन गरिएको हो भन्नेजस्तो कुरा गर्नुभयो । प्रतिष्ठानमा तपाईको कसैसँग दुश्मनी थियो ?

हामी जाँदाखेरि दाङमा राम्रो काम गर्ने, नयाँ प्रतिष्ठान आउँदैछ, पीजी सुरु गर्छौं भनेर गएका हौं । तर, त्यहाँ गएपछि के भयो भने अहिले नयाँ निर्देशक किन ल्याउने, भर्खर भर्खर हस्पिटल सुरु हुँदैछ, प्रतिष्ठानसँग पैसा पनि छैन् र एकेडेमिक पनि सुरु नभैसकेको अवस्थामा डिनको कामभन्दा पनि निर्देशकको काम बढी हुन्छ निर्देशक पनि हेरिदेउ न भन्ने कुरा भयो । ल ठीकै छ भनेर मैले निर्देशकको हिसाबमा काम गरिराखेको थिए । त्यसपछि के भयो, उहाँहरु कर्मचारीहरुलाई धेरै दुःख दिन थाल्नुभयो ।

उहाँहरु भन्दाखेरि को ? स्पष्ट खुलाइदिनुहोस न ?
उपकुलपतिले कर्मचारीलाई दुःख दिन थाल्नुभयो । हाम्रो विकास समिति हुन्छ नि त, त्यसमा ५६ जना जति कर्मचारी थिए । उनीहरुको तलब नै नदिने गर्न थाले । दशै, तिहार र माघीमा पनि विकास समितिबाट राखिएका कर्मचारीलाई मैले सक्दो प्रयास गर्दा पनि तलब खुवाउन सकिएन । मेरो असमझदारी सुरु भएको त्यहीँबाट हो । अस्पतालले दैनिक १ लाख कमाइराखेको थियो । तलब दिन गाह्रो पनि थिएन । तर, उहाँले तलब निकासा गर्न मान्नुभएन । पैसा छ भने किन नदिने पनि भने । उहाँले हुँदै हुँदैन मन्त्रालयले दिन्छ, जनार्दन पन्थीले दिन्छ म किन दिने ? भन्नुभयो । अनि, त्यसपछि मलाई एकदम गाह्रो भयो ।

स्टाफको तलब नै किन रोक्नुभएको रहेछ ?
मलाई त्यो थाहा नै भएन, उहाँहरुको अर्कै किसिमको ट्याक्टीस हुँदोरहेछ । म त सिधा हिसाबमा काम गर्ने मान्छे परें । मैले बुझ्नै सकिन कि उहाँले किन रोक्न खोज्नुभएको हो । जम्मा भैराखेको पैसा त आफ्नै स्टाफले काम गरेर आएको हो । तलब नदिएपछि कर्मचारी आन्दोलनमा गए । डेढ दुई महिना त आन्दोलन नै भयो । त्यो बीचमा सानो—सानो कुरा लिएर कर्मचारीलाई निष्काशन गर्न थालियो ।

किन यस्तो गरियो होला, के कारणले पूर्वाग्रह भयो होला त तपाईंमाथि ?
त्यो त मलाई पनि थाहा छैन् । आर्थिक कारण त यसमा नहोला, किनभने निर्देशक भएपनि मैले आर्थिकको त्यहाँ केही पनि छोएको छैन् । मलाई तीन लाखसम्म चलाउन पाउने अधिकार भनेर एउटा चिठ्ठी चाहिँ दिएको थियो तर म बसुन्जेल एउटा चेक पनि काटिन । किनभने, त्यो रजिष्ट्रारले गर्ने हो भनेर मैले छोडिदिएको हो ।

त्यसो भए के पोलिटिकल पूर्वाग्रह थियो कि त ?
म पोलिटिकल मान्छे चाहिँ हैन, म प्रोफेसनल नै हो । कुनै पोलिटिकल पार्टीसँग त्यस्तो त होइन । तर, उहाँहरुलाई लाग्योजस्तो लाग्छ मलाई । सरकारलाई उनीहरुको कुरा केही भन्देकोजस्तो लाग्यो कि ? कतिपयले उनीहरुलाई त्यस्तो लाग्या भएर तिमीलाई टार्गेट गर्‍या हो रे भन्थे । त्यहाँ विस्तारै–विस्तारै रजिष्ट्रार र भिसीको गुट बस्ने, उनीहरुले के—के गर्ने हामीलाई खुलस्त नभन्ने अवस्था हुन थाल्यो ।

भनेपछि तपाईहरुमाथि उनीहरु काम कारवाहीमा पूर्वाग्रही देखिए ?
एकदमै देखियो । मेरा स्टाफहरुले पनि त्यो कुरा भन्न थाले । स्टाफहरु हड्तालमा गैसकेपछि उनीहरुसँग वार्ता गर्दाखेरि निर्देशकलाई पनि त वार्तामा बोलाउनुपर्‍यो नि । मलाई त बोलाउंदैं नबोलाउने भिसी मात्रै वार्तामा बस्ने । अनि भिसीले हुन्छ भने हुन्छ हुन्न भने हुन्न । पद निर्देशकको भन्ने, अनि भन्न बोल्न ठाउँ नै नदिने । रजिष्ट्रारले भिसीले भनेको सबै कुरा मान्ने भएकाले सँगै लाने, म त यस्तो हुन्न है भन्ने मान्छे भएकाले मलाई लग्दैं नलग्ने ।

तपाईमाथि त्यहाँ कार्यरत रहँदै झापाको बी एण्ड सी अस्पताल गएको भन्ने आरोप पनि छ नि ?
म बी एण्ड सी गएकै छैन । मेरो बुवा विरामी भएकाले म घरमै बसिरहेकी छु । मेरो श्रीमानको घर झापा हो, उहाँ झापा गएका बेला बी एण्ड सी जानुभयो । म श्रीमानसँगै बी एण्ड सी गएका बेला फोटो खिचिएछ । त्यहाँ क्यान्सर सेन्टर बन्न लागेको रहेछ, प्याथोलोजीको सेवा यस्तो—यस्तो हुन्छ भनेर मैले त्यहाँ बोलेकी हुँ । अरु केही नि गरेकी छैन ।

भनेपछि, त्यो झुटो प्रचार हो ?
त्यतिमात्र हो र उहाँहरुले मेरो फोटो देखाएर बि एण्ड सीलाई के—के लेखेछन् । फ्लानो मान्छे यहाँ राजीनमा स्वीकृत नभको, के—के लिएर गएको अनेक लेखेर पठाएछन् । त्यहाँको मान्छे छक्क छन् । किनभने, मैले अहिलेसम्म त्यहाँ अप्लाइ नै गरेकी छैन् । जान्छु कि जान्न भन्ने पनि थाहा छैन् मलाई । मेरो श्रीमान पो जानुभयो त, म त गएकी छैन नि ।

प्रतिष्ठित पदमा बसिसकेको मान्छे, फोटोसहित सार्वजनिक सूचना नै आयो तपाईंका नाममा । अब तपार्इं के गर्नुहुन्छ ?
यो त सरासर गलत छ । मसँग कागजहरु सबै तयारी अवस्थामा छन । कानुनी उपचार लिने कि के गर्ने म मेरो वकिलहरुसँग सल्लाह गर्छु । मलाई चाहिँ अन्याय भएको छ । म आफ्नो ल्याबमा बसेर काम गर्ने मान्छे, मैले कसलाई भन्ने ?

यो पनि पढ्नुहोस :

राप्ती प्रतिष्ठानकी उपकुलपती प्रा.डा. संगीता भण्डारी भन्छिन ‘उहाँको सातपुस्ते त निकालेका छैनौं नि’


क्याटेगोरी : अन्तर्वार्ता / विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ