पोखरा—पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षण अस्पताल पश्चिमाञ्चल अस्पतालमा स्वास्थ्य बीमा सेवा लिने बिरामीले तिरेको करिब ५० लाख रुपैयाँ बीमा रिफन्ड भन्दै कर्मचारीले खल्ती भरेको पुष्टि भएको छ । रातिको समयमा कर्मचारीले रिफन्ड गरेको रकम अपत्यारिलो तरिकाले बढेपछि अस्पतालका शाखा अधिकृत सुशीलकुमार अर्यालको संयोजकत्वमा लेखा अधिकृत हेमन्त ढकाल र आईटीका दीपक केसी सदस्य रहेको छानबिन समिति गठन गरिएको थियो ।
छानबिन समितिले त्यहाँ कार्यरत केही कर्मचारी रिफन्डका नाममा रकम आफूले लिएको फेला पारेको छ । उक्त कार्यमा ६ जना संलग्न भएको र करिब ५० लाख रुपैयाँ हिनामिना गरिएको प्रतिवेदन पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति समक्ष पेस गरेको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्रोतकाअनुसार अहिले प्रतिवेदन अध्ययन र थप प्रमाण खोजीको काम भइरहेको छ ।
समितिले बुझाएको प्रतिवेदन अध्ययनपछि प्रतिष्ठानको कार्यकारी परिषद्ले १५ चैत्रमा घोटाला भएको निष्कर्ष निकालेको थियो । १० फागुनमा सिस्टममा स्वास्थ्य बीमा तर्फको काउन्टरमा अस्वाभाविक रिफन्ड देखिएको थियो । लगतै २० फागुनमा छानबिनका लागि कार्यदल गठन गरिएको थियो ।
छानबिन समितिका संयोजक अर्याल कार्यकारी परिषद्ले प्रतिवेदन अध्ययन गरेपछि कारबाही प्रक्रिया अघि बढ्ने बताउँछन् । ‘अस्पतालको नियम तथा मौजुदा कानुनअनुसार दोषीलाई कारबाही हुन्छ,’ उनले भने, ‘प्रतिवेदन नै पूर्ण होइन्, मूल्यांकन गर्दा थपघट हुन पनि सक्छ ।’
अर्यालकाअनुसार प्रतिवेदनबाट घोटाला भएको पुष्टि हुन्छ । ‘को कसलाई के कस्तो कारबाही हुन्छ भन्ने कार्यकारी परिषद्ले निर्णय गर्छ । हेरौं अब एक हप्तामा टुंगिएला,’ उनले थपे । घोटालाबारे छानबिन गरी २५ फागुनमै प्रतिवेदन बुझाउने समयसीमा भएपनि अध्ययन गर्नुपर्ने समय बढी लागेपछि १ चैत्रमा कार्यदलले प्रतिवेदन बुझाएको थियो ।