पोखरा—तनहुँको शुक्लागण्डकी नगरपालिका—५ बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा डायलाइसिस सेवा छिट्टै नियमित सञ्चालनमा आउने भएको छ ।
केन्द्रमा डायलाइसिस सेवा सञ्चालनका लागि गत हप्ताको बुधबार एक र शुक्रबार एक जना पुरुषको परीक्षण डायलाइसिस गरिएको केन्द्रका कार्यकारी प्रमुख डा. रामकुमार श्रेष्ठले जानकारी दिए । उनकाअनुसार सेवा सञ्चालनका लागि गरिएको परीक्षण सफल भएको छ । दुवै जनाको निशुल्क डायलाइसिस गरिएको थियो ।
सात वटा मेसिन भएपनि पाँच वटा मेसिनबाट सेवा सञ्चालन गर्न लागि तयारी भइरहेको छ भने दुई वटा ब्याकअपमा रहनेछन् । एक सिफ्ट चलाउँदा १५ जनाले नियमित सेवा प्राप्त गर्न सक्ने डा. श्रेष्ठको भनाइ छ ।
डा. श्रेष्ठका अनुसार स्वास्थ्य विभाग नर्सिङ महाशाखाबाट अनुगमनमा आएर अनुगमन र विपन्नबाट स्वीकृती पाएपछि नियमित र निःशुल्क सेवा सुचारु हुनेछ । अस्पतालकै जनशक्तिलाई तालिम दिएर सेवा सञ्चालन गर्न लागिएको भएपनि पछिका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालसँग समन्वय गरी नेफ्रो सेवा दिने योजना बनाएको उनी बताउँछन् ।
सेवा सञ्चालनका लागि लायन्स क्लब अफ खैरेनीटार, म्याग्दे र लायन्स क्लब अफ शुक्लागण्डकी सिस्टर्सलगायतले मेसिन सहयोग गरेका थिए । अस्पतालमा चिकित्सक, स्टाफ नर्सिङ र कर्मचारीसमेत गरी ११० जना कार्यरत छन् ।

गण्डकी प्रदेशमाा डायलाइसिस गर्न पालो पर्खनेको संख्या ९९ रहेको बताइएको छ । स्वास्थ्य मन्त्रालयकाअनुसार ९१४ बिरामीमध्ये ८१५ जनाले डायलाइसिस सेवा लिइरहेका छन् भने ९९ जना प्रतीक्षा सूचीमा रहेका छन् ।
गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयले १६८ डायलाइसिस मेसिन सञ्चालन भएकोमा १४० सञ्चालित रहेको र २७ वटा बिग्रिएको सार्वजनिक गरेको छ ।