पोखरा—पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा १३ जनामा मिर्गाैला प्रत्यारोपण गरिएको छ । प्रत्यारोपण गरिएकामध्ये एक जनामा भने प्रत्यारोपण सफल हुन नसकेको अस्पतालका निर्देशक प्रा.डा. भरतबहादुर खत्रीले जानकारी दिए ।
अस्पतालमा मिर्गाैला प्रत्यारोपणको सुरुवाती चरणमा काठमाडौंको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको सहयोगमा सेवा दिइएको थियो । प्रा.डा. खत्रीका अनुसार ८ जनाको प्रत्यारोपण गर्ने समयसम्म काठमाडौंको टिमले सघाइरहेको थियो भने थप ५ जनाको अस्पतालकै जनशक्तिबाट मिर्गौला प्रत्यारोपण गरिएको हो ।
वि.संं. २०८० को साउनबाट अस्पतालले आफ्नै जनशक्तिबाट सेवा दिन सक्षम भएको अस्पतालका सूचना अधिकारी सुशीलकुमार अर्यालले बताए । ‘अहिले काठमाडौंबाट एक जना सर्जन केस हेरी आउने गर्नुहुन्छ तर टिम नै आउनुपर्ने अवस्था छैन,’ उनले भने । पोखरामा मिर्गाैला प्रत्यारोपणमा ३ जना सर्जन, ३ जना फिजिसियन, स्टाफ नर्सलगायले सेवा दिइरहेको अस्पतालले जनाएको छ ।
९ असार २०७९ मा पहिलो पटक पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मिर्गाैला प्रत्यारोपण गरिएको थियो । त्यतिबेला काठमाडौंबाट आउने चिकित्सकीय टिमको अगुवाईमा प्रत्यारोपण गरिएको थियो ।
अस्पतालमा १२० जनाले मिर्गाैला डायलाइसिस सेवा लिइरहेका छन् । १८ वटा मेसिनबाट ३ सिफ्टमा सेवा दिइरहेको प्रा.डा. खत्री बताउँछन् । उनका अनुसार अस्पतालमा हाल ७० जना पालो कुरेर बसेका छन् । केही समय अघि गण्डकीमा डायलाइसिस गर्न पालो कुर्नु नपर्ने बताइएको थियो ।