२०८१ कात्तिक २, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशस्याङ्जा अस्पतालमा एनआईसीयु र पीआईसीयु सेवा सुरू

स्याङ्जा अस्पतालमा एनआईसीयु र पीआईसीयु सेवा सुरू


पोखरा—स्याङ्जा जिल्ला अस्पतालमा एनआईसीयु र पीआईसीयु सेवा सुरु भएको छ । सोमबार गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री विन्दुकुमार थापाले स्याङ्जा जिल्ला अस्पतालमा थपिएको बालरोग सम्बन्धि सघन उपचार सेवा पीआईसियु र एनआईसीयु सेवाको शुभारम्भ गरेका हुन् ।

मन्त्री थापाले नागरिकको स्वास्थ्य उपचारमा अस्पतालको काम प्रशंसनीय भएको बताउँदै अझै प्रभावकारी र विश्वसनीय बनाउँदै लैजानुपर्नेमा जोड दिए । मन्त्री थापाले स्याङ्जा अस्पताललाई ३ करोड ८ लाख २६ हजार रुपैयाँ प्रदेश सरकारले बजेट बिनियोजन गरेको बताए ।

अस्पतालका मेसु सुशीलकुमार मरासिनीले वि.सं. २०५७ सालमा स्थापना भएको स्याङ्जा अस्पतालले ५६ शैय्याको सेवा प्रवाह गरिरहेको जानकारी गराए । डा. मरासिनीका अनुसार जन्मेदेखि २८ दिनसम्मको शिशुलाई एनआईसीयु, १४ वर्षसम्मका बालबालिकालाई पीआईसीयुमार्फत उपचार गरिन्छ । अस्पतालमा हाल ८ शैय्यामार्फत् यो सेवा सुरु गरिएको हो ।

डा. विनोद गैह्रेले शिशु तथा बालरोग सघन उपचार सेवाका लागि आवश्यक उपचार पद्धति, जनशक्ति, उपकरणबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।

शिशु तथा बालरोग सघन उपचार सेवा सुरु भएसँगै स्याङ्जाबाट उपचारका लागि अन्य अस्पतालमा एनआईसीयु र पीआईसीयुको खोजीमा भौतारिनुपर्ने बाध्यता हटेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष इन्द्रबहादुर गोदारले बताए ।
अस्पतालमा ८४ जना कर्मचारी कार्यरत रहेकोमा १३ जना मात्रै स्थायी दरबन्दी छ ।


क्याटेगोरी : गण्डकी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ