२०८१ असार २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशधौलागिरी अस्पताललाई १०० शैय्यामा स्तरोन्नती गर्न जग्गा व्यवस्थापन गर्न मन्त्री थापाको आग्रह

धौलागिरी अस्पताललाई १०० शैय्यामा स्तरोन्नती गर्न जग्गा व्यवस्थापन गर्न मन्त्री थापाको आग्रह

गण्डकीका सबै जिल्लालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिदैं


पोखरा— गण्डकीका सामाजिक तथा स्वास्थ्यमन्त्री विन्दुकुमार थापाले धौलागिरी अस्पतालको स्तरोन्नती गर्दै दक्ष चिकित्सकद्वारा उपचार सेवा प्रवाह गर्ने योजना अगाडि बढाइएको बताएका छन् । बुधबार पूर्ण खोपयुक्त बाग्लुङ जिल्ला घोषणा कार्यक्रममा बोल्दै उनले धौलागिरी अस्पताललाई १०० शैय्यामा स्तरोन्नतीका लागि ३५ रोपनी जग्गा आवश्यक रहेको बताए ।

‘धौलागिरी अस्पतालको स्तरोन्नती गर्दै दक्ष चिकित्सकद्वारा उपचार सेवा प्रवाह गर्ने प्रयास स्वरुप ५० शैय्या स्वीकृत भइसकेको र १०० शैय्या स्वीकृतिका लागि जग्गा मुख्य आवश्यकता छ,’ मन्त्री थापाले, ‘१०० शैयाको अस्पताल स्वीकृतिका लागि ३५ रोपनी जग्गा आवश्यक हुने भएकाले जग्गा व्यवस्थापन गर्न आग्रह गर्दछु ।’ आव २०८१÷८२ का लागि धौलागिरी अस्पतालका लागि मात्र ५ करोड ३१ लाख ६८ हजार रुपैयाँ विनियोजन गरिएको उनले उल्लेख गरे ।

कार्यक्रममा बागलुङलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । गण्डकीका सामाजिक तथा स्वास्थ्यमन्त्री थापाले जिल्लालाई पूर्ण खोप सुनिश्चिता तथा दिगोपना घोषणा गरेका हुन् ।

यस्तै, जिल्लाका १० वटै पालिकालाई पूर्ण खोप सुनिश्चिता पालिका घोषणा पश्चात् तनहुँलाई पनि पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । १६ महिनादेखि ५९ महिनासम्मका सम्पूर्ण बालबालिकालाई राष्ट्रिय खोप कार्यक्रमको तालिकाअनुसार १५ महिनाभित्र पाउनुपर्ने सबै खोप लगाइसकेको सुनिश्चिततासहित मंगलबार एक कार्यक्रम आयोजना गरी पूर्ण खोप जिल्ला घोषणा गरिएको थियो ।

यसअघि असार महिनामा नै मनाङलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको थियो । पर्वत जिल्लालाई २०७५ जेठ ३१ गते पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएकोमा २०८१ असार ५ गते पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ ।

स्याङ्जाका १४ हजार ८८ बालबालिकालाई पूर्ण खोप लगाएसँगै स्याङ्जा पूर्ण सुनिश्चितताको घोषणा गरिएको छ । जन्मेदेखि १५ महिनाका ३ हजार ४ सय ५७ जना र १६ देखि ५९ महिनाका १० हजार ६ सय ३१ जना बालबालिकाले पूर्ण खोप लगाइएपश्चात सुनिश्चित घोषणा गरिएको हो ।

१६ देखि ५९ महिनासम्मका कुल ५ हजार २ सय ८७ जनाले राष्ट्रिय खोप तालिकाअनुसार खोप पाइसकेको निश्चित गरी पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालय पर्वतले जनाएको छ ।

म्याग्दीलाई २०७१ चैतमा पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा भएको थियो । नेपालको छैटौं र गण्डकीको पहिलो खोप सुनिश्चित तथा दिगोपना घोषणा भएको जिल्ला म्याग्दी रहेको थियो । कास्कीलाई असार २० गते बिहीबार पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गर्ने बताइएको छ ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ