पोखरा—पोखरा विश्वविद्यालय गत भदौदेखि सञ्चालनमा ल्याइएको १ सय बेडको शिक्षण अस्पताल गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले उद्घाटन गरेका छन् । उनले उद्घाटन समारोहमा बोल्दैं प्रदेश सरकारले १ सय शैय्याको अस्पताल सञ्चालन अनुमति दिएकाले मेडिकल शिक्षासँगै गुणस्तरीय सेवा प्रदान गर्नुपर्ने बताए ।
पोखरा ३० खुदीमा रहेको अस्पतालमा वि.सं. २०८० भदौबाट बालरोग, स्त्री तथा प्रसुति, हाडजोर्नी तथा नसा, दन्त चिकित्सालगायत सेवा सुरु भइसकेका छन् । यस्तै, फार्मेसी, आकस्मिक सेवा, ईसिजी, एक्सरेलगायत सेवा पनि सञ्चालनमा छन् ।
विश्वविद्यालयले पब्लिक हेल्थ, फार्मेसी, बिपिटी, बीएस्सी नर्सिङ, बीएनएस कार्यक्रममा पठनपाठन हुने भएकाले अस्पतालमा विद्यार्थीले प्रयोगात्मक अभ्यास गर्नेछन् ।
अस्पतालले शल्यक्रिया सेवा, आईसीयु, एनआईसीयु तथा अन्तरंग सेवा सञ्चालनको तयारी छ । अस्पतालमा ६ जना कन्सल्ट्यान्ट डाक्टर र ६ जना मेडिकल अफिसरसहित अन्य कर्मचारीको व्यवस्था गरिएको अस्पतालले जनाएको छ ।
एमबीबीएस अध्यापन सुरु गर्न कम्तीमा ३ सय शैय्याको अस्पताल चाहिने भएकोले त्यसैअनुसार तयारी गरिएको स्वास्थ्य विज्ञान संकायका डिन अमर नागिलाले बताए ।
पोखरा विश्वविद्यालयको शिक्षण अस्पतालमा उपकरण तथा भवनका लागि करिब १५ करोड लागत लागेको अस्पताल स्रोतले जनाएको छ । थप नयाँ १ भवन ७ करोड रुपैयाँ लगानीमा बनेको छ ।