पोखरा—पोखराको पहिलो युनाइटेड रेफरेन्स ल्याबोरेटरीले युआरएल लाइफ टाइम एचिभमेन्ट एवार्ड प्रा.डा. बुद्धिबहादुर थापा र युआरएल पत्रकारिता पुरस्कार दीपेन्द्र श्रेष्ठलाई प्रदान गर्ने भएको छ ।
पत्रकारिता पुरस्कारका लागि प्रतिभा चयनका लागि प्रेस स्वतन्त्रता सेनानी वद्रीविनोद प्रतीक र लाइफ टाइम एचिभमेन्ट एवार्डका वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. नारायण ओझाको संयोजकत्वमा ८ सदस्सीय प्रतिभा छनोट समिति गठन गरिएको थियो ।
समितिको सिफारिसमा डा. थापा र श्रेष्ठलाई एवार्ड र पुरस्कार प्रदान गर्न लागिएको हो । प्रा.डा. थापा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति हुन् भने श्रेष्ठ पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष हुन् ।
युआरएल पत्रकारिता पुरस्कार यसअघि प्रादेशिक स्तरमा प्रदान गरिँदै आएको थियो । यसपालिदेखि फाउन्डेसनमार्फत् पुरस्कारलाई राष्ट्रियस्तरको बनाई प्रदान गर्न लागिएको हो । पुरस्कार राशी ३३ हजार ३ सय ३३ रुपैयाँ र सम्मानपत्र छ ।
लाइफ टाइम एचिभमेन्ट एवार्ड भने यसपालि पहिलो पटक प्रदान गर्न लागिएको हो । पुरस्कार र एवार्ड आगामी मंसिर २३ गते हुने युआरएलको वार्षिकोत्सव समारोहमा प्रदान गरिने जनाइएको छ ।