पोखरा–गण्डकी प्रदेश मातहतको पहिलो अस्पताल संक्रामक तथा सरुवा रोग अस्पताल सेवा विस्तारको हिसाबले अब्बल बनेको छ । साविकको लेखनाथ लायन्स अस्पतालको भौतिक संरचनालाई लिएर गण्डकी प्रदेश सरकारले कोभिड–१९ महामारी सुरु भएपछि प्रदेश मातहतको अस्पताल बनाएको थियो ।
संक्रामक तथा सरुवा रोग अस्पताल सुरुवाती समयमा कोभिड अस्पतालका रुपमा परिचय बनाएको थियो । अस्पतालले कोभिड बिरामीलाई उत्कृष्ट सेवा दिएको थियो । थप संरचना निर्माण भइरहेको अस्पतालले सेवा प्रभावकारी बनाउन ‘ओपन एमआरएस’ जडान गरेको छ । ‘ओपन एमआरएस’ जडानपश्चात् अब अस्पताल पुग्ने बिरामीले प्रेस्क्रिप्सन तथा विभिन्न रिपोर्ट बोकेर हिँड्नुपर्ने छैन भने सेवा लिन लामो समय लाइनमा बस्नुपर्ने झन्झटसमेत हट्ने भएको छ ।
अस्पतालका निर्देशक डा. विकास गौचन अस्पतालका सबै विवरण कम्प्युटर प्रणालीमा इन्ट्री हुने भएकाले औषधी किन्न फार्मेसी पुग्ने बिरामीले समेत बिना प्रेस्क्रिप्सन सोही प्रणालीमा भएको विवरणअनुसार औषधी लिन सक्ने बताउँछन् । यो प्रणाली गण्डकी प्रदेशका सरकारी अस्पतालमध्ये पहिलो भएको अस्पतालका निर्देशक डा. गौचनको दाबी छ ।
‘ओपन एमआरएस ग्लोबल स्टान्डर्डको यो प्रविधि सरकारी अस्पतालमा गण्डकी प्रदेशमै पहिलो हो,’ उनले भने ।
के हो ओपन एमआरएस ?
अस्पतालमा हुने तथ्यांक कम्प्युटर प्रणालीमा राख्ने र सञ्जालभित्रका जुनसुकै कम्प्युटरमा हेर्न मिल्ने गरी व्यवस्थापन गर्ने तरिका नै ओपन एमआर प्रणाली हो । यसमा डाटा एनालाइसिस छिटो र भरपर्दाे हुन्छ । रजिस्ट्ररमा रेकर्ड राख्नुपर्ने झन्झट हुँदैन । जडानपश्चात् जुनसुकै अस्पताल र फार्मेसी गएपनि बिरामीको रेकर्ड हेर्र्न सकिने हुन्छ ।
‘रगत, पिसाबलगायत जाँच दोहो¥याएर गर्नुपर्दैन, यसबाट समय र पैसाको समेत बचत हुन्छ,’ डा. गौचन भन्छन्, ‘करोडौं रकम पेपर सिस्टममा खर्च भइरहेको छ, त्यो पनि बचत हुन्छ ।’
डा. गौचन ओपन एमआरएस जडानबारे भन्छन्, ‘कम्प्युटर र नेटवर्किङ त हुनप¥यो, डाटा राख्न सर्भर सिस्टम, सबैलाई एउटै ट्रयाकमा हिँडाउन सक्नुप¥यो । त्यसपछि त कुन डाक्टरले जाँच गरे, कति बजे जाँच गर्न सुरु गरे, कतिबजेसम्म जाँच गरे भन्नेसमेत थाहा पाउन सकिन्छ ।’ फार्मेसीमा डाक्टरले दिएको औषधी कम्प्युटर प्रणालीबाट हेरेर औषधी दिन सक्छन् । यो सफ्टवेयरमा सेटिङ भएपछि ल्याब, फार्मेसी, टिकट काउन्टर, एक्सरे, इमर्जेन्सीलगायत जताततै एकैपटक हेर्न सकिन्छ ।
अस्पतालमा ओपन एमआरएस जडान गर्न विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को ५० लाख हाराहारीमा तथा प्रदेश सरकारको ५० लाख सहयोग प्राप्त भएको छ । डा. गौचन भन्छन्, ‘यो मेघा प्रोजेक्ट हो । प्रदेशभरी र देशैभरी नै एउटै सिस्टम सञ्चालन गर्ने योजना हो । अन्य अस्पतालहरुमा पनि जडान गर्ने योजना छ ।’
बयलपाटा अस्पतालमा गरिएको प्रयोगबाट आफूलाई प्रणाली सञ्चालनमा सहयोग पुगेको डा. गौचन सुनाउँछन् । उनले थपे, ‘हामीले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पनि यो प्रणाली जडान गर्ने तयारी गरिरहेका छौं । मैले डब्लुएचओ लाई जेनेभामा नै यो कुरा पु¥याउन खोजिरहेको छु, देशलाई नै डिजिटलाइज गर्नका लागि । यो प्रणालीमा स्वास्थ्य संस्था जोड्न सकियो भने नेपालको स्वास्थ्य क्षेत्रले धेरै नै फड्को मार्छ ।’ उनका अनुसार प्रोजेक्ट पूरा गरी एक कार्यक्रममाझ हस्तान्तरण गर्ने तयारी भइरहेको छ ।
यसअघि पनि संक्रामक तथा सरुवा रोग अस्पतालको सेवा उत्कृष्ट थियो । यो प्रविधि जडान भई पूर्ण सञ्चालनमा आएपश्चात् थप प्रभावकारी सेवा प्राप्त हुने विश्वास गरिएको छ । गत वर्ष संक्रामक अस्पताल उत्कृष्ट कार्यालय तथा निर्देशक डा.विकास गौचन उत्कृष्ट कर्मचारी भई पुरस्कृत भएका थिए ।