पोखरा—कडा स्वभाव, प्रष्ट विचार, सिनियर अनमी इन्दिरा न्यौपानेको विशेषता । भक्तपुर झौखेल ३ (हालको चाँगुनारायण नपा) की उनले यही स्वभावलाई सहारा बनाएर स्वास्थ्य क्षेत्रमा ३६ वर्ष बिताइन् । जसमध्ये उनको ३० वर्षे सेवा अवधि कास्कीको मादी गाउँपालिका–३ स्थित याङ्जाकोट स्वास्थ्य चौकीमा बित्यो । अनिवार्य अवकाश हुन चानचुन ११ महिना बाँकी रहँदा उनको सिन्धुली सरुवा भएको छ । २ ग्रेड वृद्धिको अपेक्षासहित उनी सिन्धुलीका लागि रमाना लिएर मादीबाट बाहिरिएकी छिन् ।
वि. सं. २०४८ मा हेमजाकोट भन्दै याङ्जाकोट पुगेकी उनले त्यहीँ ३० वर्ष सेवा गरिन् । त्यतिबेला उनको परिवार पोखरामा रहेकाले दोलखाबाट पोखरा नजिकको हेमजाकोट रोजाइमा परेको थियो । वि.सं २०४२ मा दोलखा र सिन्धुलीको भीमादमा १/१ वर्ष अस्थायी सेवा गरिन् । दोलखाको स्वास्थ्य चौकीमा वि.सं. २०४४ बाट स्थायी सेवा थालेकी न्यौपाने आमाबाट प्रभावित भएको बताउँछिन् । उनकी आमाले छोरी स्वास्थ्यकर्मी भएपछि दुर्गमका बासिन्दाको सेवा दिनुपर्छ भनेको उनलाई अहिले पनि ताजै भएर आउँछ । उनकी बहिनीले उपचारमा साह्रै दुःख पाएकाले आमाले उनलाई दुर्गममा बासिन्दाको सेवा गर्न सुझाएकी थिइन् ।
सेवा र संघर्षमा ३० वर्ष बिताएको याङ्जाकोट स्वास्थ्य चौकीमै अबका ११ महिना बिताउने चाहना भने पूरा हुन पाएको छैन । ३ वर्षअघि समायोजनका क्रममा सिन्धुली सरुवा भएको भएपनि उनले याङ्जाकोट स्वास्थ्य चौकीमा नै सेवा दिइरहेकी थिइन् । याङ्जाकोट सुगम र बसिरहूँ झैं लाग्ने वातावरण नभए पनि राजनीतिक चाप्लुसी र चाकरी गर्न नचाहेका कारण यति लामो समयसम्म घरपायक वा सुगममा सरुवा हुन नसकेको उनी बताउँछिन् ।
पोखरा महेन्द्रपुलबाट पैदल जाँदा स्वस्थ र फुर्तिलो मान्छेलाई नै कम्तीमा साढे ४ घन्टा लाग्थ्यो । ‘त्यहाँ जान त हिँडेजस्तो होइन, दौडेजस्तो हिडाइ हुन्थ्यो,’ उनी भन्छिन् । जतिबेला न्यौपाने याङ्जाकोट पुगिन् त्यतिबेला सडक देख्न नै पोखरा आइपुग्नुपथ्र्याे । महेन्द्रपुल आएपछि मात्रै ट्याक्सी पाइने उनको भोगाइ थियो ।
याङ्जाकोटमा १९ वर्ष इन्चार्ज भएकी उनलाई त्यहाँको वातावरणमा रहन मुस्किल थियो । २ साना छोरालाई छोडेर उनी दुर्गम गाउँ पुगिन् । उनका पति भने पोखरा चिप्लेढुंगामा डाँफे कलर ल्याब चलाएर बसेका थिए, अहिले भने उनको देहवसान भइसकेको छ ।
लगभग ३ दशक अघिको समय । भावुक भएर बिरामी, घाइतेको उपचारमा जुट्न पनि गाह्रो । घरबाट बाहिर छोरी मान्छेलाई बस्न पनि समस्या । त्यसैमाथि घरपरिवारको जिम्मेवारी छोडेर एक्लै बस्नु सहज भने थिएन । विभिन्न समस्या झैल्दै उनले सेवालाई निरन्तरता दिइन् ।
याङ्जाकोट बसाइँमा त्यहाँको वातावरण २० प्रतिशत पनि परिवर्तन भएझैँ लाग्दैन उनलाई । अहिले पनि नरम स्वभाव भएको मानिस टिक्नै गाह्रो हुने उनलाई लाग्छ । ‘स्वभाव नै कडा, त्यसैमाथि राम्रो नरम बोल्नै नपाइने । बोलीवचन नै बिग्रिएको छ । गाली गर्नुपर्ने । हेल्थपोस्ट छिरेपछि दराजको, स्टोरको चाबी देऊ हामी नै औषधी झिक्छौं भन्ने, कोठामा ढुंगा हान्ने जस्ता जोखिम नै थिए । बाध्यताले मानिसलाई रुखो बनाउँदो रहेछ,’ उनले सुनाइन् ।
याङ्जाकोटमा स्वास्थ्य चौकी थियो, तारकाङ क्षेत्रमा थिएन, त्यहाँ पुग्दा त्यहाँका भने असाध्यै खुसी हुन्थे । ‘पहुँचवालालाई औषधी दिने चलन नै मलाई स्वास्थ्य चौकीमा मन नपर्ने कुरा हो । यस्तो अवस्था फस्कु होस् वा याङ्जाकोट दुवै ठाउँमा थियो,’ उनले भनिन् । औषधी, सामान किन्दा बिल मिलाउने प्रचलन थियो । तर, आफूले कहिल्यै त्यस्तो नगरेको उनले बताइन् । ‘छुट दिने नै भएपनि बिलमै देऊ भन्थेँ,’ उनले दाबी गरिन् । जान्ने बुझ्नेहरुलाई लामो समय त्यही ठाउँमा कसरी, किन बसी भन्ने जिज्ञासा पनि हुने गरेको उनको भनाइ थियो ।
याङ्जाकोट स्वास्थ्य चौकीमा रहँदा सामुदायिक स्वास्थ्य कार्यक्रममार्फत् जनतालाई सुलभ मूल्यमा सहज तरिकाले औषधी उपलब्ध गराएको उनी सम्झन्छिन् । कास्कीमा सामुदायिक औषधी कार्यक्रम लागु भएको थियो । अहिलेको निःशुल्कभन्दा पहिलेको सामुदायिक औषधी कार्यक्रम बढी प्रभावकारी रहेको उनको भनाइ छ । ‘अहिलेको निःशुल्क भनेको औषधी तोकिएको सूचीमा भएको मात्रै पाइन्छ, बिरामीको मागअनुसार पाइँदैन । सामुदायिक औषधी कार्यक्रममा सुगमका औषधी पसलमा पर्ने मूल्यभन्दा कममा पाइन्थ्यो, बिरामीलाई माग भए अनुसारको औषधी उपलब्ध गराइन्थ्यो । पोखराबाट औषधी भने मानिसले नै बोकेर लैजानुपथ्र्यो । जस्तै, बिरामीलाई खोकीको औषधी चाहिएको छ तर निशुल्क पाइँदैन, स्वास्थ्य चौकीमा बेच्न पनि पाइँदैन ।’ सामुदायिक औषधी कार्यक्रम हुँदा २/३ लाख बचत भएको र जनताले औषधी स्वास्थ्य चौकीमै पाएको उनी सुनाउँछिन् ।
पछिल्लो समय सरकारले तोकेको लिस्टका औषधी उपलब्ध छन् । स्वास्थ्यकर्मीले औषधी ओसार्ने प्रवृत्ति नराख्ने हो भने सामान्य अवस्थामा औषधी अभाव नहुने उनको भनाइ छ ।