पोखरा – जिल्लाबासीलाई पिसिआर जाँचमा असुविधा भएको भन्दै प्रयोगशाला स्थापनामा लागेको तनहुँको व्यास नगरपालिकाले एम्बुलेन्स पनि खरिद गरेको छ । व्यासका मेयर वैकुण्ठ न्यौपानेका अनुसार १२ लाख ७५ हजारमा उक्त एम्बुलेन्स खरिद गरिएको हो ।
एम्बुलेन्स खरिद गर्न आर्थिक वर्ष २०७७/७८ मा टेन्डर आह्वान गरेको थियो । सिप्रदी कम्पनीको उक्त एम्बुलेन्स चैतसम्म दिने भनेको भए पनि ढिला गरी आएको मेयर न्यौपानेको भनाइ छ ।
अरु ९/१० लाखमा आउने भए पनि एम्बुलेन्समा बिरामी बस्ने क्याबिन र चालकतर्फ छुट्टाछुट्टै रहेको र एम्बुलेन्सबाट बिरामी हस्पिटलमा पु¥याउन छुट्टै स्ट्रेचर खोज्नुनपर्ने भएकाले अलि महँगो परेको उनले बताए । एम्बुलेन्समा एसी तथा प्राथमिक उपचार किट र अक्सिजन सिलिन्डरसमेत रहने उनको भनाइ थियो ।
नगरपालिकाले एम्बुलेन्स सञ्चालनका लागि निश्चित मापदण्ड तपार पार्ने र सोही अनुसार एम्बुलेन्स सञ्चालन गरिने मेयर न्यौपानेले जानकारी दिए ।
यसअघि नगरपालिकाले २ वटा एम्बुलेन्स मासिक ६० हजार तिरेर भाडामा चलाउने गरेको थियो । चालकका लागि तलब छुट्टै व्यवस्था गर्नुपथ्र्याे । भाडामा लिइएका २ मध्ये एउटा शव बोक्न तथा एउटा बिरामी बोक्न प्रयोग गरिएको थियो ।
यता, व्यास १० दुम्सीमा कोभिड जाँच प्रयोगशाला स्थापनाको काम अन्तिम चरणमा पुगेको र यही महिनाभित्र सञ्चालनमा आउने उनले बताए । ‘ल्याबका लागि अनुमति स्वीकृती प्राप्त भएको छैन, स्वीकृति प्राप्त भएपछि आवश्यक स्वास्थ्यकर्मी माग्छौं,’ उनले भने,‘आवश्यक सामग्री आइसकेको छ, बायोमेडिकल इन्जिनियर आएर मूल्यांकन गरिसकेपछि इन्सटलेसनको काम हुन्छ ।’ खरिद प्रक्रिया झन्झटिलो भएका कारण ल्याब सञ्चालनमा ढिलाइ भएको उनले बताए।
व्यासले ५० शैय्याको कोभिड आइसोलेसन कृषि विकास बैंकको भवन सञ्चालन गरिरहेकोमा अब आफ्नै भवन बनाउन बजेट विनियोजन गरिएको उनले बताए । ७ दिने टेन्डर प्रक्रियामार्फत अस्पताल भवन निर्माण कार्य थालिने मेयर न्यौपालनेले जानकारी दिए । व्यास १० दुम्सीको कोभिड ल्याब बनाउने भनिएको सोही ठाउँमा अस्पताल भवन पनि बनाउन लागिएको हो ।
मेयर न्यौपाने भन्छन्,‘तत्काल भवन नबनेको भए पनि डाक्टर नियुक्त भएर आइसकेकाले १ सातामा नै शुभारम्भ कार्यक्रम गरी बिरामी जाँच सेवा सुरु गर्नेछौं । अस्पतालको सेवा लिन सोही एम्बुलेन्स प्रयोग गर्न सकिनेछ ।’