पोखरा–म्याग्दीको धौलागिरी गाउँपालिका– ७ स्थित ताकम अस्पतालमा भिडियो एक्सरे (युएसजी) र स्वास्थ्य प्रयोगशाला (ल्याब) सेवा सञ्चालन भएको छ । अस्पतालमा युएसजी र ल्याब सञ्चालन भएपछि रोग पत्ता लगाउन तथा ग्रामीण भेगका बिरामीले सहज सेवा लिन पाउने भएका छन् ।
ताकम अस्पतालमा भिडियो एक्सरे मेसिन सञ्चालनमा आएपछि गर्भमा बच्चाको अवस्था, विभिन्न अंगमा रहेका पत्थरी तथा समस्या पत्ता लगाउन सहज हुने अस्पतालका डा. एकराज भण्डारीले बताए । अस्पतालमा पाइने सबै सेवा निःशुल्क रहेको र त्यसको खर्च गाउँपालिकाले व्यहोर्ने डा. भण्डारी बताउँछन् ।
हिमाली जिल्लाको क वर्गको गाउँपालिका भएकाले यो सुविधा धेरै राम्रो भएको उनी बताउँछन् । उनले भने, ‘जोखिम न्यूनीकरण हाम्रो पहिलो प्रयास हो ।’ उनी ताकम अस्पतालमा काम गर्न थालेको करिब ६ महिना भयो, तर त्यहाँ ६ महिनासम्म डाक्टर बस्नै नचाहने अवस्था छ ।
डा. भण्डारीका अनुसार अस्पतालमा गर्भवती महिला र गर्भको शिशुको अवस्था पहिचान गरी जोखिम कम गर्ने महत्वपूर्ण काम हुनेछ । उनले भने, ‘हामीले केस के हो पहिचान गर्छाै । समस्या पहिचान गरी उपचार र सम्भव नहुने अवस्थामा समस्या जटिल नहुँदै रिफर गर्न ल्याब र युएसजीले सघाउनेछ ।’
उनी भन्छन्, ‘अहिले कोभिड महामारीमा पनि हामीले सफल उपचार गरेका छौं, जटिल समस्या भएकालाई गाउँपालिका र अस्पतालको व्यवस्थापनमा बेनी अस्पताल पु¥याउन सवारीसमेत व्यवस्था गरिएको थियो ।
अस्पतालको ल्याबमा पहिरोले क्षति पु¥याएपछि अहिलेमात्र पुनर्संरचना गरी सञ्चालन गरिएको हो । भिडियो एक्सरेका लागि प्रदेश सरकारले सहयोग गरेको छ । भिडियो एक्सरे सेवाका लागि छुट्टै रेडियोलोजिस्ट छैनन्, भेरी अस्पतालमा तालिम लिएर आएकी अनमी र त्रिवि टिचिङ हस्पिटलबाट तालिम लिएर आएका एमबीबीएस डाक्टरले नै मेसिन सञ्चालन गर्ने छन् । डा. भण्डारीले भने, ‘यो पूर्ण रेडियोलोजिस्ट सेवा होइन । पहिले जाँच गर्नु भनेको अँध्यारोमा ढुंगा हानेजस्तो थियो, अब सामान्य खालको परीक्षण नै गरी आवश्यक शिकायत र निदान हुनेछ ।’
अस्पतालमै ल्याब र युएसजी भएपछि प्रयोगशाला र भिडियो एक्सरेका लागि बेनी, पोखरा लगायतका क्षेत्रमा पुग्नुपर्ने बाध्यता हटेको छ । यसबाट यातायात खर्च, समय बचत हुनेछ भने समयमै उपचार पाउनुका साथै रिफर गर्नुपर्ने बिरामीलाई थप फाइदा पुग्ने उनले बताए । उक्त स्थानमा सवारी सेवा हिउँदयाममा मात्रै उपलब्ध हुन्छ । वर्षाको अलि ठूलो वर्षा हुनासाथ सडक अवरुद्ध हुने गरेकाले रिफर बिरामी उपचारमा समेत जटिलता रहेको छ ।
गाउँपालिकाको ७ वडामध्ये ५ वडाको केन्द्र ताकमा सेवा सुचारु गरिएको गाउँपालिका अध्यक्ष थमसरा पुनले जानकारी दिइन् । उनका अनुसार अस्पतालमा १ एमबिएस डाक्टर, ल्याब टेक्निसियन, २ अनमी, १ सि अहेब, १ अहेब २ कार्यालय सहयोगी रहेका छन् । उनका अनुसार २ वटा वडाका बासिन्दाले मालिका गाउँपालिकाको दरवाङबाट सेवा लिने व्यवस्था मिलाइएको छ ।