भीरकोट नगर अस्पतालमा मिनी अक्सिजन प्लान्ट स्थापना
पोखरा–स्याङ्जाको भीरकोट नगर अस्पतालमा अक्सिजन अभाव न्यूनीकरणका लागि मिनी अक्सिजन प्लान्ट स्थापना गरिएको छ । राष्ट्रिय आविष्कार केन्द्रले निर्माण गरेको उक्त प्लान्ट भीरकोट नगर अस्पताललाई सोमबार हस्तान्तरण गरिएको भीरकोट नगरपालिकाका प्रशासकीय अधिकृत खुमलाल भुसालले जानकारी दिए ।
नगरपालिका र आविष्कार केन्द्रको संयुक्त लागतमा प्लान्ट निर्माण गरिएको अधिकृत भुसालले बताए । उनका अनुसार नगरपालिका र आविष्कार केन्द्रको तर्फबाट ५०÷५० प्रतिशत व्यहोर्ने सहमति भएको छ । तत्कालीन सामुदायिक अस्पताललाई नगरपालिकाले करिब १ महिना अघिमात्रै आफू मातहत ल्याएर काम सुरु गरेको अधिकृत भुसालले प्रष्ट्याए ।
प्लान्टका लागि कुल १९ लाख ४० हजार लागत स्टिमेट गरिएको नगर स्वास्थ्य शाखा प्रमुख सिनियर अहेब नारायणबन्धु अर्यालले जानकारी दिए । प्लान्टको प्रतिमिनेट ६५ लिटर अक्सिजन उत्पादन गर्न सक्ने क्षमता रहेको आविष्कार केन्द्रका इन्जिनियरले बताएको उनको भनाइ थियो ।
प्लान्टमा ७ वटा अक्सिजन कन्सन्टेटर प्रयोग गरिएको छ । उनले भने, ‘६ वटा १० लिटर क्षमताका र एउटा ५ लिटर क्षमताको कन्सन्टेटर प्रयोग गरी २ वटा ट्यांकमा अक्सिजन जम्मा गर्ने व्यवस्था गरिएको छ ।’
ट्यांकबाट १२ वटा बेडमा प्रति मिनेट ५ लिटरसम्म अक्सिजन आपूर्ति हुन्छ । आवश्यकताअनुसार अक्सिजनको प्रेसर थपघट पनि गर्न सकिन्छ ।
मिनी प्लान्ट नेपालमै पहिलोपटक उत्पादन भएको आविष्कार केन्द्रले जनाएको छ । विद्युत अवरुद्ध हुँदा अक्सिजन उत्पादन हुँदैन, त्यतिबेलाका लागि २ वटा अक्सिजन सिलिन्डर जगेडामा राखिएको छ ।
प्रदेश सरकारबाट प्राप्त बजेटमा अक्सिजन व्यवस्थापन गर्न टेन्डर गरी काम भइरहेको छ । २४ वटा अक्सिजन सिलिन्डर राखी बेडमा अक्सिजन पु¥याउन कपर वायरिङको काम भइरहेको स्वास्थ्य शाखा प्रमुख अर्यालले जानकारी दिए । केही दिनमा वायरिङको काम पूरा हुने उनको भनाइ थियो ।
आविष्कार केन्द्रले २/३ दिनमै स्थापना गर्न सक्ने बताएपछि प्रदेशतर्फको कपर वायरिङको काम भइरहेको अवस्थामा पनि मिनी अक्सिजन प्लान्ट स्थापना गरिएको उनले स्पष्ट पारे ।
शाखा प्रमुख अर्यालका अनुसार आविष्कार केन्द्रबाट आएका मेकानिकल इन्जिनियरले अस्पतालका स्टाफलाई सञ्चालनसम्बन्धी सम्पूर्ण विधि सिकाएका छन् ।
धेरै पढिएका
- १ ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र
- २ काठमाडौंको मण्डिखटारमा क्लिनिक वानको तेस्रो शाखा संचालनमा
- ३ नेपालगन्ज मेडिकल कलेज व्यवस्थापन र कर्मचारीबीच विवाद चर्कियो
- ४ ३८ लाख ८० हजार बुझेपछि एमबीबीएसमा नाम निकाल्न गरेका थिए हस्ताक्षर
- ५ My Journey Against Myeloma
- ६ चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै
- ७ कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द
तपाईको प्रतिक्रिया दिनुहोस