गण्डकी प्रदेशअन्तर्गत गोरखा जिल्लाको उत्तरी भेगमा अवस्थित चुमनुब्री गाउँपालिका साविकका समागाउँ, ल्हो, प्रोक, विही, छेकम्पार, चुम्चेत र सिर्दिबास गाउँ विकास समिति मिलेर बनेको छ । चुमनुब्रीमा अहिले ७ वटा वडा छन् । सिर्दिवासको फिलिम गाउँपालिका केन्द्र हो । गोरखा सदरमुकामबाट फिलिम पुग्न ३ दिन हिड्नुपर्छ ।
हिउँदमा ५-६ घन्टा जीपको यात्रापछि डेढ दिनसम्म हिँडेर गाउँपालिका केन्द्र पुगिन्छ । चुमनुब्री दुर्गम गाउँपालिका भएकाले पाइलैपिच्छे समस्या भोग्नुपर्ने अवस्था छ । नयाँ संरचनाअनुसार गाउँपालिका बनेपछि पालिकावासीका स्वास्थ्य समस्या समाधानमा के-कस्ता पहल भएका छन् भन्नेबारे गाउँपालिकाका उपाध्यक्ष कुमारी गुरुङसँग हेल्थ आवाजका लागि सुनिल सापकोटाले गरेको कुराकानी :
गाउँपालिकाका जनताले स्वास्थ्य सुविधा प्राप्त गर्न सक्ने अवस्था छ ?
चुमनुब्री दुर्गम गाउँपालिका हो । यहाँको ढुवानीको माध्यम खच्चर हो । खच्चरबाटै औषधी ढुवानी गर्ने गर्छौं । पर्याप्त नै भएको अवस्था त होइन्, बजेट नै पर्याप्त हुँदैन । विभिन्न संघसंस्थाको सहयोगमा सबैलाई उपलब्ध गराउने प्रयासमा छौं । अहिले क्यान नेपालले औषधी उपलब्ध गराउन र स्वास्थ्यकर्मी व्यवस्थापनमा सहयोग गरिरहेको छ ।
बाहिरका स्वास्थ्यकर्मी (डाक्टर) आउन नै चाहँदैनन् । गाउँपालिकाले स्वास्थ्यकर्मी करारमा राखेर सेवा उपलब्ध गराउने गरेको छ । सुत्केरी हुन नसकेका महिला र गम्भीर दुर्घटनाका घाइतेलाई ठूलो समस्या छ । यस्तो अवस्थामा माउन्टेन चाइल्डको सहयोगमा हेलिकोप्टरबाट उद्धार गर्ने गरिएको छ ।
सम्बन्धित बिरामीले ४५ हजार तिरेपछि अरु संस्थाले ब्यहोरिदिन्छ । साह्रै गरिबका लागि वडा कार्यालयको सिफारिसमा नि:शुल्क पनि गरिदिन्छ । सामान्य बिरामीलाई त स्वास्थ्य चौकीको औषधीबाट उपचार हुन्छ । राष्ट्रपति उद्धार कार्यक्रमबाट पनि हेलिउद्धारको काम भइरहेको छ । हामी निर्वाचित भएर आएपछि सेवालाई सुधार्ने गरी काम गरिरहेका छौं । पालिका केन्द्र भएको मुख्य स्वास्थ्यचौकीमा ल्याब सञ्चालन गरेका छौं । सरकारी दरबन्दी छैन । १ जना गाउँपालिकाले र १ जना क्यान नेपालले स्वास्थ्यकर्मी राखेको छ । कर्मचारी अभाव हुन नदिने गरी काम गर्न प्रयासरत छौं ।
पालिकामा के-कस्ता समस्या भएका बिरामी बढी भेटिएका छन् ?
यो गाउँपालिका दुर्गम र पिछडिएको गाउँपालिकामध्ये एक हो । यहाँका मानिस भेडा बाख्रा चराउने, रुखको घाँस काट्ने गर्दा लडेर गम्भीर घाइते हुने गरेका छन् । सुत्केरी हुन नसक्ने समस्या त भइहाल्यो । त्यसमाथि सबैभन्दा बढी ज्यानै लिने भनेको त क्यान्सर रोगले हो । एकीन संख्या नै भन्न त सक्दिन तर क्यान्सरका कारण धेरैको मृत्यु भइसक्यो । क्यान्सर हुने महिलाको तुलनामा पुरुषको संख्या बढी छ । यहाँ उपचार भएन भनेर बिरामीलाई गोरखा, चितवन र काठमाडौं पठाउनै पनि समस्या छ । ७ वटै वडामा स्वास्थ्य संस्था छन् । कुनैमा २ वटा पनि छन् । गैरसरकारी संस्थाले गाउँपालिकासँग समन्वय गरी क्लिनिक पनि चलाएका छन् । यी सबैमा बिरामीको रोग पत्ता लगाउने गरी काम गर्न कठिन पनि छ ।
गम्भीर बिरामी, सुत्केरी हुन नसकेका लागि के कसरी उद्धार भएको छ ?
गम्भीर बिरामी र सुत्केरीको उद्धारका लागि हेलिकोप्टर नै एकमात्र विकल्प हो । एम्बुलेन्स सञ्चालन गर्न सम्भव छैन । हेलि उद्धार खर्चिलो छ । गाउँपालिकाको सिफारिसपछि जिल्लाबाट सिडिओ र संघबाट गृहमन्त्रालयको अनुमति लिएर मात्र हेलिकोप्टर आउने गर्छ । यसरी कागजी प्रक्रिया मिलाउँदा मिलाउँदै कति बिरामीको त ज्यानै पनि जाने गरेको छ । यो जटिल प्रक्रियालाई सहज बनाउने गरी संघीय सरकारले काम गरिदिए हुन्थ्यो । जे होस् हेलिउद्धारबाट नै बिरामी बाँच्ने आशा हुन्छ । मौसमका कारण हेलिकोप्टर आउन नसक्दा बिरामीको ज्यानै जाने अवस्था पनि छ । वि.सं. २०७३ सालको साउनमा सुत्केरी महिला उद्धारका क्रममा हेलिकोप्टर दूर्घटना हुँदा परिवारका ५ जना सदस्यकै ज्यान गएको दुखद् अवस्था पनि छ । मौसम र भौगोलिक अवस्थासँग चुनौती दिँदै उद्धार भइरहेको छ ।
बालबालिका र महिलाका लागि के – कस्ता काम भइरहेका छन् ?
बालबालिकालाई पोषणयुक्त खानेकुरा उपलब्ध गराउने गरेको छ । महिला स्वयंसेविकाका लागि न्यूनतम नै भए पनि मासिक १ हजार प्रोत्साहन भत्ता उपलब्ध गराउने गरेका छौं । पोषणयुक्त खानेकुरा सम्बन्धि सचेतना फैलाउने पनि भइरहेको छ । स्थानीय अर्ग्यानिक तरकारी, फलफूलमा जोड दिएका छौं ।
स्थानीयको स्वास्थ्यसम्बन्धी चेतनास्तर कस्तो छ ?
हाम्रो गाउँपालिका नै जनजाति बसोबास गर्ने गाउँपालिका भएकाले रक्सी सेवनबाट हुने समस्या बढी छ । रक्सी संस्कृतिसँग पनि जोडिने भएकाले यसबाट बढी असर छ । यसको बेफाइदाबारे सम्झाउने काम भइरहेको छ । अहिले कोरोनाको बेला हेर्ने हो भने त अन्य ठाउँमा समस्या भयो होला । यो गाउँपालिका कोरोनामुक्त गाउँपालिका नै रहिरह्यो । दुर्गम छ, कोरोना लागि हालेमा उपचार पाउन नसक्ने हुनसक्छ भनेर हामीले सम्झायौं । यसमा हामी सफल भयौं । जनचेतना, प्रचारप्रसारबाट चेतनास्तर उकास्न सफल भएका छौं । स्वास्थ्यकर्मीलाई पनि रक्सीको लत र बेफाइदाबारे ब्रिफिङ गर्न भनेका छौं । एक घर, एक धारा योजनाअनुसार काम भइरहेको छ, यो सम्पन्न भइसकेपछि सरसफाइमा पनि अझ बढी ध्यान पुग्नेछ ।
संघ र प्रदेश सरकारसँग के कस्ता अपेक्षा गर्नुभएको छ ?
हामीले संघीय र प्रदेश सरकारसँग सहयोग खासै मागेकै छैन । सक्दो गाउँपालिकाबाट गरिरहका छौं । गैरसरकारी संघसंस्थाले गरेको सहयोगमा गाउँपालिकाले समन्वय गरेको छ । प्रदेश र संघसँग यस क्षेत्र दुर्गम भएकाले थप सहयोग माग्नुपर्छ जस्तो त लाग्छ, तर भनाइमै सिमित हुन्छ । सरकारी कुरामा धेरै गाह्रो हुँदो रैछ । स्थायी कर्मचारी छैन । स्थायी कर्मचारी छिटो नियुक्त गरिदिए हामीलाई राहत हुने थियो ।
भावी योजना के-के छन् ?
आधारभूत सेवाअन्तर्गत एक्स-रे, भिडियो एक्स-रे सेवा गाउँपालिकामा उपलब्ध गराउने प्रयासमा छौं । गाउँपालिकाको केन्द्र रहेको सिर्दिबासमा ५ बेडको अस्पताल निर्माणपछि यो काम पूरा गर्न सक्छौं होला । अस्पताल शिलान्यास भयो, टेन्डर भएको छैन, छिटै टेन्डर होला । हाम्रै कार्यकालमा अस्पताल बनेर एक्स-रे, भिडियो एक्स-रे सेवा दिए हुन्थ्यो भन्ने जनताको आशा पनि छ ।
स्थानीयबाट नै जनशक्ति उत्पादन गर्ने र प्राविधिक शिक्षा अध्ययन गर्दा आवश्यक परेमा सहयोग गर्ने वचन दिएका छौं, अहिलेसम्म सहयोग उपलब्ध गराइसकेको अवस्था भने होइन । दीर्घकालीन सोच राखेर काम भइरहेको छ । जनताको पूरै अपेक्षा पूरा हुने गरी सबै सुविधासम्पन्न त नहोला तर सन्तुष्ट बनाउने गरी काम गर्छौ ।
विभिन्न गैरसरकारी संघसंस्थाको सहयोगमा काम गरिरहेका छौं । गाउँपालिकालाई सडक सञ्जालमा जोडेर सवारी चल्ने बनाउँछौं । त्यसपछि बिरार्मी उद्धार सहज बनाउन सक्छौं भन्ने विश्वास छ । हेलिकोप्टरको खर्चले उपचार गर्न सकिन्छ । पालिकाबासीको स्वास्थ्य खर्चमा कमी र उद्धारमा सहज बनाउने लक्ष्य छ ।