२०८१ भदौ २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठवैकल्पिक चिकित्सासरोकारवालाहरु भन्छन्, ‘आयुर्वेद विकासका लागि एक हुनुपर्छ’

सरोकारवालाहरु भन्छन्, ‘आयुर्वेद विकासका लागि एक हुनुपर्छ’

सिंहदरबार आयुर्वेद डुबाउने पनि आयुर्वेद पढेर त्यसको नेतृत्व गर्नेहरु हुन् : डा. भण्डारी


काठमाडौं—नेपालमा आयुर्वेद पद्धती विकासको लागि आयुर्वेद सम्बद्ध सबै सरोकारवाला एक भएर अगाडि बढ्नपर्ने धारणा व्यक्त गरेका छन् । शुक्रबार २७ औं नेपाल आयुर्वेद चिकित्सक संघको स्थापना दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव डा. दीपेन्द्ररमण सिंहले आयुर्वेदको विकास सरकारको सधै प्राथमिकताको विषय भएको बताए ।

उनले एबैजना एकजुट भएर अगाडि बढेमा असम्भव भन्ने कुरा केही नरहेको दावी गरे । ‘आयुर्वेद सरकारको प्राथमिकताको कार्यक्रम हो,’ उनले भने, ‘नसर्ने रोग बढिरहेको बेला यसको उपादेयता झनै बढेको छ ।’

कार्यक्रममा संघका पूर्व अध्यक्ष डा. प्रकाश ज्ञवालीले आयुर्वेद विकासको बाधक आयुर्वेदकै सम्बद्ध जिम्मेवार अधिकारी रहेको आरोप लगाए । उनले मन्त्रालयमा कुनै काम गर्न खोज्दा व्यक्तिहरु आफूलाई कहाँ फाइदा हुन्छन् भन्ने हेरेर खेल्ने गरेको बताए ।

‘हामी मन्त्रालयमा कुनै काम लिएर गयौं भने ४ जनाले चार गुट बनाएर चार वटा कुरा लिएर जान्छौं । अनि कसरी अगाडि बढ्छौं ?,’ उनले भने, ‘हामी सबै ब्यक्ति स्वार्थमा लिप्त भयौ ।’ उनले सबैले व्यक्तिगत स्वार्थ छोडेर सामूहिक स्वार्थमा लाग्ने हो भने आयुर्वेदसँगै व्यक्तिको पनि विकास हुने धारणा राखे ।

आयुर्वेद विभागकी पूर्व महानिर्देशक डा. देवकला भण्डारीले अरुले के गर्‍यो भन्दा पनि आफूले के गर्न सके भन्ने कुरा महत्वपूर्ण रहेको बताइन् । ‘हामी सबै पदमा छौं, सो पदमा पुगेपछि आयुर्वेदका लागि केही गर्‍यौ कि आफ्ना लागि मात्र,’ उनले भनिन्, ‘राज्यले आयुर्वेदका लागि धेरै गरेको तर पदमा पुगेकाहरु स्वार्थमा लिप्त हुँदा हामी पछाडि छौं ।’

पछिल्लो समय आयुर्वेदका संस्थाहरुमा पद र कुर्सीमा पुग्न लिप्त हुने अनि पैसा लिएर मान्छे राख्ने, आफ्नालाई जागिर दिने र पैसा कमाउने तर्फमात्र सोच भएको आरोप लगाइन् । उनले सिंहदरबार आयुर्वेद डुबाउने पनि आयुर्वेद पढेर त्यसको नेतृत्व गर्ने भएको बताइन् ।

संघका पूर्व अध्यक्ष डा. ठाकुरप्रसाद दुवाडीले सबैले मिलेर काम गरे आयुर्वेदको विकास हुने बताए । उनले कसका पालामा कहाँ के बिग्रियो त्यो लेखाजोखा गरेर सच्याउनुपर्ने बताए । ‘हाम्रो पालामा वि.सं. २०६० सालतिरै आयुर्वेद चिकित्सा प्रतिष्ठानको विषय अगाडि बढेको थियो,’ उनले भने, ‘यत्रो वर्ष भइसक्यो हुन सकेन्, त्यो किन भएन त ?’

संघका अध्यक्ष डा. श्यामबाबु यादवले संघ सधै प्रतिपक्षको भूमिकामा खेलेको र राज्यले आफूहरुका मागलाई दबाइरहेको बताए । ‘हामी सधै प्रतिपक्ष हौं,’ उनले भने, ‘सरकारले जहिले पनि प्रतिपक्षका कुरा दबाउँछ ।’ प्रतिष्ठानका लागि धेरैपटक क्याबिनेट पुगेतापनि सरकार चाँडो—चाँडो फेरिँदा मूर्त रुप लिन नपाएको उनको भनाइ थियो । संघले सबै चिकित्सकहरुलाई समेटेर लगिरहेको र आगामी दिनमा पनि त्यसलाई निरन्तराता दिने उनको भनाइ थियो ।

नेपालमा अहिले त्रिभुवन विश्वविद्यालयको आयुर्वेद क्याम्पस र दाङको नेपाल संस्कृत आयुर्वेद क्याम्पस गरी दुई बटा क्याम्पसबाट प्रत्येक वर्ष ४०/४० जना आयुर्वेदमा स्नातक अध्ययन हुने गरेका छन् । स्नातकोत्तरतर्फ भने त्रिवि आयुर्वेद क्याम्पसमा दुई वटा सिट रहेका छन् ।


क्याटेगोरी : वैकल्पिक चिकित्सा



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ