न्युज, भिडियोमा हेर्न,सुन्न र पढ्न पाइने व्यक्तित्वसँग दुई वर्षअघि सामूहिक तथा व्यक्तिगत योग प्रशिक्षण दिने क्रममा भेट हुने संयोग जुर्यो । आफ्नो शरीर र मन असन्तुलन भयो भन्ने थाहा भएपछि टिभीमा रामदेव बाबा तथा पुस्तकहरूमार्फत योग अभ्यास सम्बन्धी विभिन्न क्रियाकलाप गर्दैगर्दा प्रशिक्षक खोजी सुरु गर्नुभएको रहेछ । त्यही क्रममा म प्रशिक्षकको रूपमा उहाँको निवास पुगेको थिएँ ।
अव्यवस्थित जीवनशैलीका कारण देखिएको उच्च रक्तचाप, सुगर, थाइराइड, अनियन्त्रित भावनाहरु, निन्द्रामा गडबडी, आँखाको समस्या, ज्वाइन्ट पेनजस्ता शरीर र मनको समस्याहरु शेयर गर्दै एक महिनाको लागि योग प्रशिक्षण सुरु भयो । महिना बितेपछि केही योग सम्बन्धी ज्ञान भएतापनि बानी बसाल्न तीन महिना थप्न उत्साहित हुनुभयो । त्यसपछि २४ घन्टाको उर्जाको माध्यम आफ्नो लागि दिनको डेढ घण्टाभित्रको योग प्राणायाम, ध्यानजस्ता योगिक क्रिया अत्यावश्यक सोचेर प्रशिक्षकको सानिध्यलाई निरन्तरता दिँदै आज दुई वर्ष पूरा भएको छ ।

उहाँ काठमाडौँको महाराजगन्जमा जन्म भएर ६ वर्षको उमेरदेखि दरबारको सुसारेको रूपमा काम सुरु गर्नुभएको थियो । १३ वर्षको उमेरमा वैवाहिक जीवन सुरु गरी २७ वर्षको उमेरमा तीन सन्तानलाई आफ्नो रहोवरमा राख्ने गरी सम्बन्ध विच्छेद भएको थियो । १ टेम्पोबाट सुरु भएको उहाँको उद्यम ५ टेम्पोसम्म पु¥याउनु भएको थियो । टेम्पो व्यवसाय छोडी हस्तकला उद्यम सुरु गर्नुभएको अहिले ४० को दशक चल्दैंछ । कर्मठ उद्यमी भई जीवनमा आरोह—अवरोह पार गर्दै जाँदा एसियाकै प्रथम महिला टेम्पो चालक तथा प्रथम महिला हस्तकला उद्यमीलगायत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मान सम्मान पाउनुभएको छ।
मानवतावादी भाव, गुरु देवी देवताप्रति श्रद्धा, भक्ति, आस्था साथै सत्संग र संगीतलाई सेतु बनाएर यो उमेर सम्मपनि शरीर ऊर्जावान, मन प्रफुल्लित र आध्यात्मिक चिन्तनको साथ दैनिकीलाई सहज र सरल तरिकाबाट जीवनयापन गर्दै आउनुभएको छ ।

उहाँ भन्नुहुन्छ, ‘उमेर सानो भएपनि कर्मयोगी प्रशिक्षक पाएर म उद्यमी रुपान्तरित भएको छु । योगाभ्यास विज्ञान र कला दुवै हो । एक्लै गर्नुभन्दा प्रशिक्षकको निगरानीमा गुरुको अर्थ र महत्व बुझ्न पाएको छु। बहाना बनाउने मन र आलस्य शरीरलाई आज एक दिन त हो नि भन्दै प्रशिक्षकको साथमा चलाएर उर्जावान बनाउने गर्छु। अहिले त्यही ३ छोरीको नाती, नातिनी, पलाति सम्म देख्न पाएको छु। शरीरलाई उर्जावान र मनलाई एकाकृत बनाई कर्मचारी व्यवस्थापन गर्दै व्यवसायमा रमाउन सकेकोमा आभारी छु । मेरो धेरै अगाडिदेखिका सपनाहरु हस्तकला म्युजिसियम र ह्याण्डीक्राफ्ट इन्स्टिच्युट खोल्ने चाहाना पूरा गर्न सक्छु कि लागेको छ।

उहाँ हरेक दिन ब्रह्म मुहुर्तमा उठ्ने, आफ्नो नित्यकर्म सकेर योगको लागि ५ बजे तयार हुनुहुन्छ । उहाँको योगप्रतिको लगाव देखेर म आफै मोटिभेटेड हुने गर्छु । अहिले उहाँले हस्पिटल उपचार र औषधिहरु धेरै छोड्नु भएको छ। खानपान र जीवनशैलीमा परिवर्तन गरेर स्वस्थ जीवनयापन गरिरहनुभएको छ । यसरी जानेको कुरा सिकाएर उहाँलाई सहज बनाउन पाउदा म एकदमै कृतज्ञ छु।