काठमाडौं—मोडल तथा कोरियाग्राफर शान्ति पाख्रिनलाई वि.सं. ०७७ मा पहिलो लकडाउनका बेला खुट्टा झमझमाउने र पोल्ने समस्याले बेचैन बनायो । खुट्टामा किरा हिडेजस्तै हुने, खाना पकाउने र उभिन नसक्ने अवस्थाले उनका सबै दैनिकीहरु बिथोलिए । मोरङ लेटाङकी ३३ वर्षीया शान्ति त्यसपछि विराटनगर नर्सिङ होममा पुगिन् । नर्सिङ होमका चिकित्सकहरुले उनलाई १ महिना लागि औषधि दिए । तर, उनको समस्या एक महिना औषधि खाँदा ज्युँकात्युँ रह्यो ।
पुनः अस्पताल पुगिन् । चिकित्सकहरुले रोग पत्ता लगाउने भन्दै एमआरआई गरे । उनको ढाडको नसा च्यापिएको थाहा भयो । चिकित्सकहरुले उनलाई शल्यक्रिया गर्न सल्लाह दिए । त्यसका लागि १ लाख रुपैयाँदेखि १ लाख ५० हजार रुपैयाँसम्म लाग्ने सुनाए । डाक्टरहरुको सल्लाहपछि शान्ति घर फर्किइन् । घरका धेरै जनाले उनलाई शल्यक्रियापछि हात गोडा नचल्ने पनि हुन सक्ने भन्दैं उनको मन डर भरिदिए । त्यसपछि उनी विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा नसा रोग विशेषज्ञ कहाँ गइन् ।
शान्तिलाई चिकित्सकले अन्तिममा शल्यक्रिया गर्ने भन्दैं थप उपचारका लागि अंकुपञ्चर र फिजियोथेरापिष्ट कहाँ देखाउन सल्लाह दिए । उनी काठमाडौं आइन् । काठमाडौंका एक दुई अस्पतालमा देखाउँदा पनि चित्त नबुझेपछि उनका एकजना साथीले मीनभवनस्थित सुस्वास्थ हस्पिटलमा पुर्याए । सुस्वास्थ हस्पिटलका अंकुपञ्चरिष्ट सुदर्शन बस्नेतले उनको एमआरआई र एक्स—रेलगायतका रिपोर्ट हेरे । त्यसपछि उनले अकुंपञ्चरबाट नसा च्यापिएको समस्या ठीक हुने तर केही दिन अस्पताल बस्नुपर्ने सल्लाह दिए । शान्ति १८ दिन काठमाडौं बसेर उपचार गरेपछि निको भएर घर फर्किइन् ।
बस्नेतले शान्तिलाई घरमा पनि एक्ससाइज गर्न सल्लाह दिए । उनले त्यसलाई आफ्नो नियमित जीवनशैलीमा समावेस गरिन् । जिम पनि ज्वाइन गरिन् । पछिल्ला तीन वर्षमा उनमा कुनै समस्या देखिएको छैन् । ‘म सुरुमा त खुबै रुन्थे । अहिले मन चंगा छ,’ शान्तिले हेल्थआवाजसँगको कुराकानीमा भनिन् ।
शान्ति त एक प्रतिनिधी उदाहरण मात्रै हुन् । सहरिया जीवनशैली, टेबल वर्क, खानपिन, खराब पोस्चर आदिका कारण नसा च्यापिएर हैरानी ब्यहोर्नेहरुको लामै भिड अस्पतालमा देखिन्छ । प्राकृतिक उपचारका लागि प्राकृतिक चिकित्सा केन्द्र र शल्यक्रियाका लागि आधुनिक अस्पताल धाउने नयाँ च्यापिएका बिरामीहरुको उत्तिकै छन् ।
अंकुपञ्चर सेवा दिने प्रमुख सरकारी अस्पताल नरदेवी आयुर्वेद अस्पतालका निर्देशक डा. प्रदीप केसी पछिल्लो समय नसा च्यापिएको बिरामीको संख्यामा वृद्धि भएको बताउँछन् । मोटोपना, जीवनशैलीमा आएको परिवर्तनलगायतका कारणले नसा च्यापिने समस्या बढिरहेको डा. केसीका भनाइ छ । ‘हामी पञ्चकर्म, फिजियोथेरापी र अकुंपञ्चर विधीबाट नसा च्यापिएका बिरामीको उपचार गर्छौ,’ उनी भन्छन्, ‘पहिलेको तुलनामा अहिले नसा च्यापिएर आउने बिरामीको संख्या बढी छ ।’
नरदेवीमा धेरैजसो शल्यक्रिया गर्ने समय लिएका बिरामीहरु प्राकृतिक तवरबाटै उपचार गर्दा निको भइहाल्छ कि भन्ने आशासहित आउने गरेको अनुभव उनले सुनाए । डा. केसीकाअनुसार नसा च्यापिएका कारण पिसाब चुहिनेजस्ता जटिल समस्या नभएका बिरामीलाई १४ दिनसम्म राखेर उपचार गर्दा निको भएर फर्किएका धेरै छन् ।
वेलनेस हस्पिटलका प्रमुख डा. जनक बस्नेत पनि पछिल्लो समय मुख्य दुई कारणले नसा च्यापिने समस्या बढिरहेको बताउँछन् । ‘हाम्रो अस्पतालमा आउने समग्र बिरामीको ४० प्रतिशत बिरामी नसा च्यापिएको समस्या लिएर आउने गरेका छन्,’ उनले भने, ‘अहिले मुख्यतयाः खराब पोस्चर र ल्याक अफ पर्पर एक्ससाइजका कारण यो समस्या देखिने गरेको छ । सामान्यदेखि जटिलसम्मका नसा च्यापिएका बिरामीको उपचार गर्दै आएको वेलनेस हस्पिटलले दिशा—पिसाबमा समस्या भएका बिरामीबाहेकलाई प्राकृतिक चिकित्सा पद्धतिबाट उपचार गर्दै आएको छ । न्युरो सर्जनहरुले शल्यक्रिया नै गर्नुपर्छ भनेका कतिपय बिरामीहरुलाई पनि आफूहरुले निको बनाएको उनी बताउँछन् ।
सुस्वास्थ अस्पतालमा संचालक रहेका अंकु बस्नेतकाअनुसार अस्पतालमा आउने झण्डै ८० प्रतिशत बिरामी नसा च्यापिएको समस्या लिएर आउने गरेका छन् । नसा च्याप्पिएपछि शरीर झमझमाउने, हिड्डुल गर्न गाह्रो हुने, ढाड र गर्धनमा असह्यै पीडा हुने, दिशा—पिसाबमा समस्या हुने, बसेको ठाउँबाट उठ्न नसक्ने, खुट्टा सुक्नेजस्ता स्वास्थ्य समस्या हुने गर्छन् ।
कस्तो अवस्थामा नसा च्यापिएका बिरामीको शल्यक्रिया नै गर्नुपर्ने हुन्छ ? ग्राण्डी अस्पतालका मेडिकल निर्देशक समेत रहेका स्पाइन सर्जन डा. विनोद विजुक्छे धेरैजसो अवस्थामा नसा च्यापिएका बिरामीको शल्यक्रिया नगर्नुपर्ने बताउँछन् । ‘क्वाडा इकोइना सिन्ड्रोम (पिसाब रोकिन्छ वा कन्ट्रोल हुँदैन, पिसा गर्ने ठाउँको वरिपरी लाटोपना र खुट्टाको कमजोरीपन) हुँदा इमर्जेन्सी शल्यक्रिया गर्नुपर्छ,’ डा. विजुक्छे भन्छन्, ‘यो समस्या १ हजार जनामा एक दुई जनालाई मात्रै हुन्छ । नसा च्यापिएका धेरै जनालाई फिजियोथेरापी, इन्जेक्सन र मेडिसिनबाट उपचार गरेर निको बनाउन सकिन्छ ।’
२ प्रतिशत जति बिरामीहरुलाई जीवनशैलीमा असहज भइरह्यो र फिजियोथेरापी, मेडिसिन र इन्जेक्सनबाट पनि राम्रो भएन भने योजनावद्ध रुपमा शल्यक्रिया गर्नाले त्यसको रिजल्ट राम्रो हुने उनी बताउँछन् । ‘स्पाइनको सर्जरी गर्दा खुट्टा नै चल्दैन भन्ने कुरा गतल हो,’ उनी थप्छन्, ‘सही तरिकाले शल्यक्रिया गर्दा रिजल्ट एकदमै राम्रो छ ।’
‘नसा च्यापिएका बिरामीलाई प्राकृतिक थेरापीहरु गर्न सल्लाह दिन्छु’
सुदर्शन बस्नेत, अकुंपञ्चरिष्ट
नशा च्यापिने कस्ता प्रकृतिका बिरामीहरु आउँछन् ?
अहिले विशेषगरी कम्मरमा नसा च्यापिने बिरामीहरु बढी भेटिने गर्छन् । यो बढ्नुको कारण चाहिँ बिरामीहरुको पोस्चर नमिलेर हुने गर्छ । मलाई नशा च्यापिने तीनवटा कारणले हुन्छ लाग्छ । पहिलो मुद्रा नमिलेर, दोस्रो ओभरयुज र तेस्रो आरामको कमी हो । पोस्चर नमिलेरः अधिकांशको बसाइ, हिँडाइ, सुताइ कुनै पनि चिज मिल्दैन् । ओभरयुज : पहिले हामीले धेरै थरी काम गथ्र्यौँ तर अहिले एउटै मुद्रामा लामो समयसम्म काम गर्छौ । जस्तै कार्यालय समयमा कतिपय मानिसहरु ६-८ घण्टा एउटै स्थानमा बस्ने गर्दछन् जसले कम्मरलाई ओभरयुज गर्दछन् उनीहरुमा यस्ता समस्याहरु देखिएका छन् । पुलिस, बाइक राइडर, शिक्षक तथा सवारी चालकहरुमा यस्तो समस्या बढी देखिने गरेको छ ।
पहिले ३०,/४० वर्षको उमेर काटेका मानिसहरुलाई नशा च्यापिने गर्दथ्यो तर अहिले १३/१४ वर्षका किशोर-किशोरीमा पनि यो समस्या देखिन थालेको छ । धेरै समय कम्प्युटर चलाउने, भारी ब्याग बोक्ने, बेञ्च तथा इन्डोर गेमका कारणले पनि २० वर्षभन्दा कम उमेरकाहरुमा नशा च्यापिने समस्या बढेको हो । हामीले प्रयोग गर्ने जुत्ताले पनि यो समस्यालाई बढाइरहेका छ । विशेषत हिल तथा अग्ला जुत्ता लगाउने महिलाहरुमा पनि यो समस्या बढिरहेका छ । खानामा ध्यान नदिँदा पनि नशाको बिरामीहरु बढिरहेका छन् । पोषणयुक्त खानेकुरामा ध्यान नदिँदा यो हुने गरेको छ । खाना सन्तुलितभन्दा पनि पेट भर्न क्यालोरीको मापन गरेर खाइन्छ, यसले यो समस्या बढाएको छ ।
नशा च्यापिएपछि त्यसले कस्ता स्वास्थ्य समस्याहरु सिर्जना गर्छ ?
कम्मरमा नशा च्यापिएपछि कम्मरमा दुख्ने, खुट्टामा दुखाइ सर्दै जाने, खुट्टा झमझमाउने र निदाउने, अगाडि झुक्दा दुख्ने तथा शरीरको पोजिसन परिवर्तन गर्दा दुख्नेजस्ता मुख्य समस्याहरु देखिन्छन् । यो सामान्य अवस्थाभन्दा बढी भयो भने खुट्टा सुक्दै जाने, दिशा—पिसाब कन्ट्रोल नहुने, फुट ड्रप तथा कहिलेकाँही खुट्टै नचल्ने अवस्था आउँछ । यो नसा च्यापिएपछि देखिने कम्प्लीकेसनअन्तर्गत पर्दछ ।
नसा च्यापिएको कसरी थाहा पाइन्छ र हामीले कसरी उपचार गर्न सक्छौँ ?
सुरुमा त माथि उल्लेखित समस्याहरु देखियो भने नशा च्यापियो भनेर सोच्दा हुन्छ । त्यती थाहा भइसकेपछि कुनै स्वास्थ्य संस्थामा गएर क्लिनिकल डाक्टरलाई देखाउनुपर्छ । डाक्टरले उक्त कुरा पत्ता लगाउँछन् । त्यसपछि एमआरआइ गर्नुपर्छ । नसा सम्बन्धि कुरा हेर्न एमआरआई नै गर्नुपर्छ । त्यसपछि एमआरआईबाट नसा च्यापिएको हो भन्ने कुरा थाहा पाउन सकिन्छ ।
सुस्वास्थमा आउने समग्र बिरामीको कति प्रतिशत नसा च्यापिएको समस्या लिएर आउँछन् ?
यहाँ आउने ८० प्रतिशत बिरामी नसा च्यापिएको समस्या लिएर आउँछन् । यहाँ अस्पतालमा मात्र नभई हामी बेला—बेलामा शिविरमा गइरहेका हुन्छौं । अस्तिमात्र गरेको शिविरमा पनि ५० प्रतिशत मानिसहरु नसाको समस्या लिएर आएका थिएँ । अत्याधिक मानिसको कम्मरमा नसा च्यापिएको भेटिन्छ ।
नसा च्यापिएको बिरामीहरुलाई उही अवस्थामा फर्काउन के गर्नुपर्छ ?
यसलाई ३ वटा चरणमा गरिन्छ । यदि नसा च्यापिएको सुरुको अवस्था छ भने बिरामीलाई २४ घण्टादेखि ७ दिनसम्म आराम दिनुपर्छ । त्यसपछि दुखाइ व्यवस्थापन गर्ने केही चिजहरु जस्तैः औषधि, फिजियो थेरापीजस्ता दुखाइलाई कम गर्ने प्रोटोकलहरु अपनाउने गरिन्छ ।
७ दिनपछि विस्तारै शारीरीक व्यायामको चरणमा लगिन्छ । बिरामीलाई शारीरिक अभ्यासमा सक्रिय गराइन्छ । यसपछिको चरणमा बिरामीलाई रिहाबिलिटेसनमा लगेर पहिलेकै स्थितीमा फर्काउन सक्रिय भएर लाग्ने गर्छौ ।
नसा च्यापिएका बिरामीहरुलाई उपचारले मात्रै हुँदैन । उनीहरुलाई सही पोस्चर सिकाउनुपर्ने हुन्छ । त्यसपछि उचित किसिमको शारीरिक अभ्यास र आराम गर्न सिकाउनुपर्छ । यी कुराहरुलाई बिरामीले ध्यान दिनैपर्छ किनकी यसो गर्दा मात्र नसा च्यापिएको समस्याबाट मुक्त हुन सकिन्छ । यी कुराहरु पालना नगरेको अवस्थामा समस्या दोहोरिन सक्छ ।
नसा च्यापिएका बिरामीलाई शल्यक्रियाभन्दा अंकुपचरजस्ता प्राकृतिक विधिबाट सामान्य अवस्थामा ल्याउन सकिन्छ ?
संसारकै खोजलाई हेर्ने हो भने नसा च्यापिएको बिरामीलाई ‘कन्जर्भेटिभ म्यानेजमेन्ट’ अर्थात औषधि, अकुपंचर, फिजियोथेरापी, न्याचुरल थेरापीबाट ८५ प्रतिशत केसहरुमा सर्जरी गर्नुपर्दैन भनेको छ । यसको अर्थात बाँकी १५ प्रतिशतको मात्रै शल्यक्रिया गर्नुपर्ने हुन्छ ।
मेरो २२ वर्षको अकुपंचरिष्टको अनुभवमा पनि ५ देखि ९० प्रतिशत बिरामीलाई शल्यक्रिया गरेको छैन । अन्य थेरापीबाट नै व्यवस्थापन गरिएको हुन्छ । यसका लागि समय दिनुपर्छ । पूर्ण रुपमा ठिक हुनको लागि ४२ देखि ४८ दिन लाग्ने हुन्छ । आजको भोलि नै राम्रो हुन खोज्ने हो भने त शल्यक्रिया छँदैछ । तर, प्राकृतिक रुपमा ठिक हुन खोज्ने हो भने यति समय बिरामीले दिन सक्नुपर्छ । थेरापीका लागि सधैं अस्पताल आउनु पर्दैन् ।
दिशापिसाब आएको वा गएको थाहा नपाउने अवस्थामा चाहिँ सर्जरी गरिहाल्नुपर्ने हुन्छ । चप्पल लगाउँदा खुट्टा टेकिएन तथा हिंड्नै सकिएन, खुट्टा सुक्यो भने पनि तुरुन्तै सर्जरी गर्नुपर्छ । अन्यमा भने खासै जरुरी छैन ।
नसा च्यापिएको बिरामीलाई एकचोटी प्राकृतिक उपचारमार्फत पुरानै अवस्थामा फर्काइसकेपछि त्यो पुनः बल्झिने सम्भावना कतिको हुन्छ ?
यो नसर्ने रोग भनेको चाहिँ व्यवस्थापन गर्ने पार्ट हो ट्रिटमेन्ट होइन । बिरामीलाई सिकाइएको व्यायाम र पोस्चर केयर गरियो भने यो पुनः आउने समस्या हुँदैन् । तर, बिरामीले व्यायाम र पोस्चर केयरमा ध्यान दिएन भने यो पुनः आउन सक्छ । नियमित रुपमा व्यायाम गरेका बिरामीहरुमा यो फर्किदैंन् । फिजियोथेरापिस्टले सिकाएको उचित व्यायाम गर्दा यो हट्छ ।
नसा च्यापिएका बिरामीहरुलाई के सल्लाह दिन चाहनुहुन्छ ?
नसा च्यापिने बित्तिकै कुनै बिरामी आत्तिनुपर्दैन । यो आम समस्या हो, धेरैलाई हुन्छ । नसा च्यािपयो भन्ने बित्तिकै शल्यक्रिया नै गर्नुपर्छ भन्ने पनि हुँदैन् । नसा च्यापिएका बिरामीहरुलाई पूर्णरुपमा पुनःस्थापित गर्न सकिन्छ । त्यसको लागि धैर्य गर्नुहोस् । आरामसहित फिजियोथेरापी, अकुपंचरबाट उपचार गराउनुहोस् । नसा च्यापिएको ८५ प्रतिशतसम्म बिरामी आत्तिनुपर्दैन । प्राकृतिक थेरापीहरु नै गर्नुहोस् भन्छु ।