साधारणतयाः आयुर्वेदिक औषधीबाट वनस्पति, खनिज आदि स्रोतहरुबाट संकलन गरेर शोधन प्रक्रियापश्चात पञ्चकपाय कल्पनामा आधारित शरीरको धातुसँग उद्देश्य पूर्ति गर्नको लागि तयार पारिएको कल्पना भनेर बुझ्नुपर्छ । यसको लागि आयुर्वेदीय ग्रन्थ भेषज्यकल्पना तथा रसशास्त्रका विभिन्न पुस्तकहरुको सहारा लिइन्छ ।
कतिपय औषधीहरु कच्चा वनस्पतिहरुबाट तयार गरिन्छ भने कतिपय सुख्खाबाट । तर, यसरी तयार गरिएका औषधीको सक्रियता अवधि, औषधीको किसिम (कल्पना) तथा प्रयोग विधिको ज्ञान हुनु नितान्त आवश्यक हुन्छ ।
उदाहरणको लागि सुख्खा जडिबुटीहरुबाट तयार गरिएको चुर्ण एक कल्क कल्पना हो । जो कि पञ्चकपाय कल्पनाअन्तर्गत रहेको छ । यसको सक्रियता अवधि र गुणस्तरताको बोध हुन जरुरी हुन्छ । तसर्थ, केही औषधीहरुको सक्रियता अवधिको विश्लेषण तल गरिन्छ ।
–साधारणतया चुर्णमा प्रायः २ महिनापछि न्यून गुण भएको बुझ्नुपर्छ ।
–त्यस्तै ल्वंग, हींग तथा साख्युक्त औषधि ६ महिनापछि न्यून गुणयुक्त हुन्छ । तर काँचको बोतलमा एअरटाइट गरेर बन्द गरेको अवस्थामा गुणमा त्यति छिटो ह्रास आउँदैन् ।
–बटी, अवलेह, कार्बन आदि १ वर्षपछिको अवस्थामा गुणमा न्यूनता आउन थाल्छ ।
–पकाएर बनाएको अवलेह १ महिनापछि त्यति राम्रो गुणको पाइदैँन ।
–सिद्ध तैल ४ महिनापछि न्युन गुणयुक्त हुन्छ । तर, बोतलमा भरेर राखेको खण्डमा १ वर्षसम्म गुणवतामा ह्रास आउँदैन् ।
–सिद्ध घृत तैलको अपेक्षा अधिक दिनसम्म गुणवान नै रहन्छ ।
–आसव, आरिष्ट, कुपीपन्त रसायन तथा धातुका भस्महरु जति पुराना हुन्छन् त्यति सौम्य मानिन्छन् ।
–गुगलयुक्त बटीहरु २–३ वर्षसम्म राम्रो मानिन्छन् । त्यसपश्चात उनीहरुको गुण पनि ह्रास हुन थाल्छ ।
–पीपल, धनियाँ तथा विडंग १ वर्ष पूरानो औषधीमा प्रयोग गर्नु राम्रो हुन्छ ।
–नेत्र रोगको औषधीको लागि घ्यु पूरानो (लगाउन÷प्रयोग गर्नको लागि) तथा खानको लागि नयाँ लिनुपर्छ । बाहिर लेप गर्नको लागि घ्युलाई धोएर प्रयोग गर्नु राम्रो हुन्छ ।
–मह प्रयोग गर्नुपरेमा कफनाशक औषधीसँग पूरानो तथा धातु पौष्टिक औषधीसँग नयाँ लिनु उचित हुन्छ ।
–गिलोच (गुर्जो), असुरो, गतावरी, अश्वगन्धा, वज्रदन्ती, सौफ, प्रसारिणी आदि औषधीहरु नयाँ, ताजा प्रयोग गर्नु हितकार हुन्छ । यदि सुख्खा छ भने ताजाको वजन बराबर लिन सकिन्छ । तर, अरु औषधीहरु ताजाको २ गुणा सुख्खा प्रयोग गर्नु राम्रो हुन्छ ।
क्रमसः