हिन्दू परम्पराअनुसार भाद्रशुक्ल पक्षको पञ्चमी तथा हरितालिका तीजको तेस्रो दिनमा, विवाहित तथा अविवाहित मासिक धर्म अवलम्वन गरेका नारीहरुले व्रत बसेर, चार वेदका रचयता सप्तऋषिको पूजाआजा गरेर मनाइने पर्व नै ऋषिपञ्चमी हो । आजको दिन दतिवन, गाईको गोबर, माटो र खरानी प्रयोग गरी स्नान गरेर पञ्चगव्य सेवन गर्नाले छुवाछूतको दोष निवारण हुन्छ भन्ने कुरा शास्त्रमा उल्लेख गरेको पाइन्छ।
यस पर्वमा नारीहरुले दतिवन् को ३६५ वटा डाठले दाँत माझ्ने र यसकै पात चढाएर पूजाआजा गर्ने प्रचलन छ। दतिवन् (एकाइरैन्थस इस्पेसिस) महत्वपूर्ण जडिबुटीका रुपमा आयुर्वेदमा चिनिन्छ । दतिवन वर्षाको समयमा उम्रने गर्दछ । ‘अमरैण्टेसी’ कुल अन्तर्गत पर्ने दतिवनलाई संस्कृतमा ‘अपमार्ग’ र अंग्रेजीमा ‘ प्रिकली चाफ फ्लावर’ भनिन्छ।
यसको गुण- लघु, रुक्ष र तीक्ष्ण; रस-कटु, तिक्त, विपाक-कटु, वीर्य -उष्ण हुन्छ। यसको दोषकर्म -कफवातशामक तथा कफपित्त संशोधन रहन्छ । द्रव्यगुण विज्ञान अनुसार दतिवन् अरुचि, छर्दि, अग्निमांध, शूल, उदररोग, आध्मान, अर्श, पित्ताश्मरी र कृमिरोगमा प्रयोग हुन्छ । यो विशेष गरि हृदरोग , रक्तविकार, पाण्डु ,गण्डमाला, आमवात र शोथरोगमा समेत उपयोगी रहन्छ।
साथै यो रक्ताम्लता , वस्तीशोथ, वृक्कशोथ, अश्मरी, कुष्ठ, वर्णविकार, चर्मरोग आदिमा समेत लाभदायक रहन्छ । शोथवेदनायुक्त विकारमा, सर्पको दंशस्थानमा यसको लेप लगाइन्छ भने कास रोगमा यसको क्षार, कफ निकाल्नका लागि प्रयोग गरिन्छ। व्रणमा यसको स्वरस लगाइन्छ भने कर्णशूलमा यसको क्षार द्वारा सिद्ध तेल हालिन्छ। दतिवनको प्रयोज्य अंगमा मूल, पत्र, तण्डुल, पञ्चांग पर्दछन् भने मात्रामा स्वरस (१०-२०मि लि), क्षार( १/२-२ ग्रा) आवश्यक पर्दछ।
सन्दर्भ सामग्री- द्रव्यगुण विज्ञान(प्रियव्रत शर्मा)