कुरिलो । एक मिठो तरकारी । के यसको मिठास जिब्रोको स्वादमा मात्रै सिमित छ । पटक्कै होइन् । नेपाली भान्सामा मिठो तरकारीको रूपमा परिचित कुरिलोलाई आयुर्वेदमा श्रेष्ठ औषधिको रूपमा वर्णन गरिएको छ । संस्कृत भाषामा यसलाई ‘शतावरी’ भनिन्छ, जसको अर्थ सय वर समान हुन्छ ।
पुरूषमा अश्वगन्धाजस्तै यसले महिला प्रजनन स्वास्थमा विशेष फाइदा गर्ने भएकाले शतावरी भनिएको हो । ल्याटिन भाषामा कुरिलोलाई Asparagus racemosus भनिन्छ । यसको काँडा भएको र नभएको दुवै प्रजाति नेपालमा पाइन्छ । समुन्द्री सतहदेखि ४ हजार फिट उचाइसम्म पाइने यो वनस्पतिको झाडीदार लता हुन्छ । यसको स्थुल, सेतो र गुच्छादार मूल औषधिमा प्रयोग गरिन्छ ।
कुरिलोको मूलमा सेपोनिन (Saponin) नामको रसायन पाइन्छ, जसले गर्भाशय संकोचको शमन गर्छ । मधुर र तीतो रसयुक्त कन्दले बल वृद्धि गर्छ । त्यसैले यसको प्रयोग दुर्बलता, क्षयरोग, शुक्रक्षय, स्तन्यक्षय आदिमा गरिन्छ । आयुर्वेद चिकित्सा पद्धतिमा कुरिलोको प्रयोग विशेष रूपले स्त्रीरोगमा गरिन्छ । सुत्केरी महिलालाई उचित मात्रामा यसको कन्द सेवन गराउनाले दुधको उत्पादन बढ्नुको साथै सुत्केरी अवस्थामा हुने कमजोरी पनि हटाउँछ । महिलाहरूमा सेतो पानी बग्ने र अति रजस्राव हुने समस्यामा पनि यो लाभदायक छ ।
स्मरणशक्ति ह्रास भएको अवस्था र दृष्टि कमजोर भएको अवस्थामा पनि कुरिलोको प्रयोग अति उपयोगी मानिएको छ । शतावरी सिद्ध तेलमालिस दुखाइ, दुर्बलता र अन्य नसा सम्बन्धि रोगहरूमा फाइदाजनक छ । पेटमा अम्लको उत्पादन कम गराउने भएकाले अम्लपित्त (Gastritis) र अल्सरमा यसको प्रयोग गरिन्छ ।
कुरिलोको जरालाई रस निकालेर १०—२० मि.लि. वा काडाको रूपमा ५०—१०० मि.लि. अथवा सुकाएर बनाएको धुलो ३—६ ग्राम दूध वा पानीसँग सेवन गर्न सकिन्छ । बजारमा यसबाट बनेका तयारी औषधिहरू पनि उपलब्ध छन् । आयुर्वेद स्वास्थ्यकर्मीको सल्लाहअनुसार तिनको प्रयोग गर्न सकिन्छ ।
मातृशिशु कार्यक्रममा शतावरीको प्रयोग समावेस गर्न सके शिशुहरूमा हुने कुपोषणमा कमी आउनुका साथै महिला स्वास्थमा पनि सुधार ल्याउन सकिन्छ । पौष्टिक आहार र औषधि दुवैको फाइदा लिन सकिने र नेपालको माटो सुहाउँदो वनस्पति भएकाले कुरिलोको व्यवसायिक खेतीमा पनि प्रचुर सम्भावना देखिन्छ ।
(सापकोटा त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानमा विएएमएस अन्तिम वर्षमा अध्ययनरत छन् ।)