नेपाल आयुर्वेदिक चिकित्सकीय दृष्टिकोणले उर्वरभूमि हो । नेपालको हावापानीमा पाइने असंख्य वनस्पतिहरुमा औषधिय गुण छ । तराईको समथल भूभाग, पहाड र हिमाल तीन भौगोलिक वनावट रहेको नेपालमा भू भाग पिच्छे फरक—फरक विशेषता बोकेका जडिबुटीहरु पाइन्छन् ।
त्यसैमध्येको एक हो—तीतेपाती । यो समुन्द्री सत्तहदेखि १२ हजार फिटसम्म पाइने वनस्पति हो । नेपालको पहाडी भूभागमा यो जताततै पाइन्छ । संस्कृत भाषामा दमनक भनिने यो वनस्पतिको आयुर्वेद संहितामा औषधिय महत्व उल्लेख गरिएको छ ।
ल्याटिन भाषामा यसलाई आर्टिमिसिया वलगेरिस (Artemisia vulgaris) भनिन्छ । यसको ७—८ फुटसम्मको झाडी हुन्छ । यसको विशेष तीक्ष्ण गन्धले यसलाई चिन्न सकिन्छ । गाउँघरमा परापूर्वकालदेखि नै अन्नबालीमा किरा लाग्न नदिन यसको प्रयोग गरिन्थ्यो । तर, आजभोलि रसायनिक किटनाशक प्रयोगले यसको प्रयोग घटेको छ ।
तीतो र कषाय रसयुक्त तीतेपातीको मुख्य रसायनिक संगठन उडनशील तेल (Volatile Oil) हो । यसको पञ्चांग (जरा, डाँठ, पात, फल र फूल) प्रयोग गर्न सकिन्छ । यसलाई लेपका रुपमा दुःखेको, सुन्निएको ठाउँमा प्रयोग गर्न सकिन्छ । यसको तेल किटनाशक गुणयुक्त भएकोले छाला चिलाउने, घाउँ, खटिरा र अन्य छालाको समस्यामा बाहिरी प्रयोग गर्न सकिन्छ ।
तिते पातीको रस ५—१० मि.लि. अथवा सुकाएर बनाएको धुलो ०.५—१ ग्राम अपच, पेटको दुखाइ, पेट फुलेको र पेटमा जुका पर्दा सेवन गर्न सकिन्छ । पित्तथैलीबाट पित्त बाहिर निकाल्न मद्धत गर्ने भएकाले आयुर्वेद उपचार पद्धतिमा यसलाई कलेजो र पित्तसम्बन्धि विकारमा प्रयोग गरिन्छ । रक्त विकार र शरीर सुन्निने समस्यामा पनि तिते पाती लाभदायक हुन्छ ।
महिलाहरुको समस्या जस्तैः महिनावारी ढिलो हुने महिनावारीको समयमा हुने दुखाइमा यो विशेष लाभदायक छ । यौनांग चिलाउने समस्या भएमा पनि तीतेपाती मिसाएर उमालेको पानीले बाहिरबाट सफा गर्दा समस्या हराउँछ । कृमि नाशक भएकाले यसलाई विशेष गरी छालाका रोगहरुमा प्रयोग गरिन्छ ।
चिनियाँ चिकित्सा पद्धतिमा तीतेपातीलाई विशेष महत्व दिइएको छ । मोक्जिविसन (Moxibustion) विधिद्धारा तीतेपातीलाई धुँवाको रुपमा दुखाइ कम गर्न र अन्य रोगहरुमा पनि प्रयोग गरिन्छ । जुन अत्यन्तै प्रभावकारी मानिएको छ ।
नजिकको तीर्थ हेला भएजस्तै हाम्रै वरपर रहेका यस्ता अनमोल जडिबुटीहरुको उचित प्रयोग गर्न सक्दा एकातिर आर्थिक नोक्सान भइरहेको छ भने अर्कोतर्फ विभिन्न कृत्रिम रसायनको जथाभावी सेवनले शरीरमा हानी व्यहोर्न बाध्य छौं । त्यसकारण राज्यस्तरबाट पनि यस्ता आयुर्वेदिक महत्वका जडिबुटीहरुको प्रवद्र्धनका लागि ठोस पहल जरुरुी देखिन्छ ।
(सापकोटा त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानमा विएएमएस अन्तिम वर्षमा अध्ययनरत छन् ।)