विराटनगर—विराटनगरस्थित कोशी अस्पतालको जीर्ण भवन भत्काएर चार वटा सेवा नयाँ भवन बनाएर दिइने भएको छ । अस्पतालको मेसु डा. संगीता मिश्राले नयाँ भवन आईसीयू, सीसीयु, नेफ्रोलोजी र न्यूरोलोजीको सेवा नयाँ भवनबाट हुने जानकारी दिइन् ।
अस्पतालको नयाँ भवन निर्माणका लागि वहु—वर्षीय योजनाअनुसार संघीय सरकारको संघीय आयोजना कार्यान्वयन इकाई भवन कार्यालयको नाममा चालु आर्थिक वर्षमा ४० करोड रूपैयाँ बजेट बिनियोजन भएको छ । त्यही बजेटबाट अस्पतालले आईसीयू, सीसीयू, नेफ्रोलोजी र न्यूरोलोजीको सेवाको लागि नयाँ भवन निर्माण हुने जानकारी दिइन् ।
उनले अस्पतालको सभा हलमा बुधबार प्रदेशको मन्त्री, स्थानीय तहको प्रमुख, उप—प्रमुख, राजनैतिक दलका नेता, सुरक्षा निकायको प्रमुख र सरोकारवालाहरूबीच छलफल राखेकी थिइन् । अस्पताल सुधारका लागि सर्वदलीय बैठक पनि बसेको छ,’ उनले भनिन्, ‘बैठकबाट आएको सुझाव लिएर अगाडि बढनेछु ।’ मास्टर प्लान बनाएर अस्पतालको भौतिक पूर्वाधार विकास र गुणस्तरीय सेवा प्रदानमा अगाडी बढने उनको भनाइ छ ।
सर्वदलीय बैठकमा प्रदेश १ का समाजिक विकासमन्त्री जीवन घिमिरेसहित सरोकारवालहरूले अस्पतालको जग्गामा बनेको भवन अस्पतालको स्वामित्वमा ल्याउन र कोशी अस्पतालको सेवा विस्तार गर्न र नमुना अस्पताल बनाउन सुझाव दिए । उनीहरूले अस्पतालको सेवालाई विस्तार गरी मास्टर प्लान बनाएर कोशी अस्पताललाई शिक्षण कलेजको रूपमा विस्तार गरिनुपर्नेमा जोड दिए ।
छलफल कार्यक्रममा बोल्दै मन्त्री घिमिरेले बहु—वर्षीय योजना बनाएर कोशी अस्पताल भित्र रहेको जीर्ण भवन भत्काएर स्तरोन्नती गरेर नयाँ भवन बनाएर अगाडि बढनुपर्ने बताए । मास्टर प्लान बनाएर अस्पतालको संरचनाहरू बनाउनुपर्ने मन्त्री घिमिरेको सुझाव थियो । ‘अस्पताल सुधारको लागि एउटा कार्यदल गठन भएको थियो,’ मन्त्री घिमिरले भने, ‘कार्यदलले दिएको प्रतिवेदनअनुसार तीन वटा भवनबाहेक सम्पूर्ण भवन जीर्ण रहेको छ । जीर्ण भवन सबै भत्काएर मास्टर प्लान अनुसार नयाँ भवन निर्माण गरिनुपर्दछ ।’
मन्त्री घिमिरे अस्पताल परिसर भित्रै प्रदेश ल्याब संचालन गरिनुपर्ने बताए । ‘राष्ट्रिय क्षयरोग केन्द्र रहेको ठाउँमा प्रादेशिक ल्यावको भवन निर्माण गरिनुपर्दछ,’ मन्त्री घिमिरले भने, ‘प्रदेश ल्याबको ठाउँको लागि हेरिएको जग्गामा राष्ट्रिय क्षयरोग केन्द्र लैजानु पर्दछ ।’
यस्तै विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीले अस्पतालको जग्गा भोगचल गर्दै आएका संघसंस्थाहरूलाई विकल्प दिएर मात्र कार्यन्वयनको चरणमा अगाडि बढनुपर्ने बताए । उनले अस्पतालको नयाँ भवन निर्माणको क्रममा कोशी अस्पताले प्रदान गर्ने सेवाहरू विराटनगरमा साल्ट्रटे«डिङ्ग कर्पोरेशनको गोदाममा पार्टेसन गरेर संचालन गर्न सकिने सुझाव दिए । जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश पोखरेलले कोशी अस्पताललाई स्तरोन्नती गरी दीर्घकालीन सोचविचार गरेर भरपर्दो सेवा प्रदान गरिनुपर्ने बताए । कार्यक्रममा कोशी अस्पतालको पूर्व मेसु डा. ज्ञानेन्द्र गिरीले ९० प्रतिशत सेवाग्राही आर्थिक अवस्था नाजुक भएको परिवार अस्पतालमा आउने भएकोले पूर्वाधारको स्तरोन्नती गरी सेवा विस्तार गरिनुपर्नेमा जोड दिए ।
छलफल कार्यक्रममा नेकपा केन्द्रीय सदस्य गुरू बराल, महेश रेग्मी, नेकपा मोरङ अध्यक्ष ऋषीकेश पोखरेल, नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्याल, विराटनगर महानगरपालिकी उपप्रमुख इन्दिरा कार्की, पब्लिक फोरम नेपालका अध्यक्ष उत्तम ढुङगेललगायले अस्पतालको जग्गामा बनेको संरचना कोशी अस्पतालको स्वामित्वमा ल्याएर मास्टर प्लान बनाएर संचरना निर्माण गरिनुपर्ने बताए । कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेल, मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारी, सरोकारवालहरूको उपस्थिती रहेको थियो ।