काठमाडौं— नोबेल कोरोना भाइरस परीक्षण गर्नुपर्ने भन्दै वैदेशिक रोजगारीमा जाने कामदारसँग म्यानपावर कम्पनीहरूले २५ हजारका दरले रकम लिने गरेको गुनासो स्वास्थ्य मन्त्रालयसम्म पुगेको छ । म्यानपावर कम्पनीले नमुना परीक्षण गर्ने ल्याब र कन्सल्ट्यान्सीसँगको मिलेमतोमा अनावश्यक रूपमा कोरोना भाइरस परीक्षण अनिवार्य गरेको गुनासो स्वास्थ्य मन्त्रालयसम्म पुगेको हो ।
वैदेशिक रोजगारीमा कामदार पठाउने कम्पनीहरूले कोरोना परीक्षणका लागि २५ हजारको प्याकेज अनिवार्य गरेको पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले बताए । ‘वैदेशिक रोजगारीमा जबरजस्त कोरोना परीक्षण गराउन २५ हजारको प्याकेज बनाएको पाइएको छ,’ प्रवक्ता श्रेष्ठले भने, ‘यस्ता ठगी गर्ने संस्थाहरूको पहिचान गरी कडा कारबाही गरिनेछ ।’
सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रवक्ता डा. अनुप बाँस्तोलाका अनुसार दैनिक १५ भन्दा बढी कोरोना परीक्षणका लागि सिफारिस आएका छन् । तर, उनीहरूलाई परीक्षण आवश्यक नपर्ने भन्दै अस्पतालले फर्काएको छ ।
‘वैदेशिक रोजगारीमा जाने कामदारहरू हतारिदै कोरोना परीक्षण गराउन आएका छन् । तर, अहिले हामी चीनको वुहानबाट आएका शंकास्पदको मात्रै कोरोना परीक्षण गर्छौं,’ डा. बाँस्तोलाले भने, ‘स्वास्थ्य र परराष्ट्र मन्त्रालयलाई परिपत्र गरेर आवश्यक हो/होइन निर्क्याैल गर्न लागेका छौं ।’
गरिब तथा विपन्नहरूलाई कोरोना परीक्षणको नाममा अनावश्यक दुःख दिने र ठग्ने काम भएको अस्पतालले जनाएको छ ।
कोरोना परीक्षणका लागि आउनेमा अधिकांश साइप्रस र नेदरल्यान्ड जान लागेकाहरू छन् । विश्व स्वास्थ्य संगठनले विश्वभर स्वास्थ्य संकटकाल घोषणा गरेको अवस्थामा सरकारले तोकेभन्दा अन्य संस्थाले यस्ता परीक्षण गर्न पाउँदैनन् । नेपालमा कोरोना भाइरस परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले मात्रै सुरु गरेको छ ।