काठमाडौं—नेपाल चिकित्सक संघ (एनएमए) निर्वाचनबाट अध्यक्षमा लोकतान्त्रिक प्यानलका डा. लोचन कार्की विजयी भएका छन् । डा. कार्कीले ४ हजार १ सय ११ मत प्राप्त गर्दै विजयी हासिल गरेका हुन् ।
उनका निकटम प्रतिद्वन्द्वी पेशागत समावेसी प्यानलका उम्मेदवार डा. पुष्पमणि खरालले १ हजार ९ सय ९७ मत पाएका छन् । अध्यक्षमा विजयी कार्कीको मत खरालको भन्दा २ हजार १ सय ३२ बढी हो ।
वरिष्ठ उपाध्यक्षमा लोकतान्त्रिक प्यानलका डा. शिवप्रसाद श्रेष्ठ विजयी हात पारे । उनले ३ हजार ५ सय ९५ मत हात पारे । उनकी प्रतिस्पर्धी पेशागत समावेसी समूहकी उम्मेदवार रक्षा श्रेष्ठले २ हजार २ सय ६२ मत हात प्राप्त गरिन् । यस्तै, उपाध्यक्षमा लोकतान्त्रिक प्यानलका अनिलविक्रम कार्कीले ३ हजार ९ सय ४५ मत ल्याएर विजयी भए । पेशागत समावेसीका डा. रन्जितकुमार झाले १ हजार ९ सय ५४ मत प्राप्त गरे ।
अध्यक्षपछिको प्रमुख पद मानिने महासचिवमा लोकतान्त्रिक प्यानलका डा. बद्री रिजाल विजयी भए । उनले २ हजार ४ सय ३१ मत ल्याए । उनका प्रतिस्पर्धी पेशागत समावेसी समूहका महासचिवका उम्मेदवार डा. मधुर वस्नेतले १ हजार ३ सय ७८ मत ल्याए । स्वतन्त्रतर्फका उम्मेदवार डा. दीपेन्द्र पाण्डेले १ हजार ३ सय १ र अर्का स्वतन्त्र उम्मेदवार डा. अजयकुमार मिश्रले ८६९ मत प्राप्त गरे ।
सह-सचिवमा लोकतान्त्रिकका निरजकुमार सिंह ३ हजार ७ सय ९० मत ल्याएर विजयी भए । उनका प्रतिद्वन्द्धी पेशागत समावेसीका डा. शैलेन्द्र झाले १ हजार ८ सय ९४ मत ल्याए ।
यस्तै कोषाध्यक्षमा लोकतान्त्रिक प्यानलका डा. प्रकाश बुढाथोकीले ३ हजार २ सय ७८ मतका साथ विजयी भए । उनका प्रतिद्वन्द्वी पेशागत समावेसीका उम्मेदवार डा. सञ्जितकुमार साहले २ हजार ५ सय ७९ मत ल्याए । सह-कोषाध्यक्षमा पनि लोकतान्त्रिक प्यानलका उम्मेदवार डा. विश्वराज दवाडीले ३ हजार ९ सय ३५ मत ल्याएर विजयी भए ।
उनका प्रतिस्पर्धी पेशागत समावेसीका उम्मेदवार डा. उदयनारायण सिंहले १ हजार ९ सय ४२ मत ल्याए । ७ सदस्यमध्ये ६ जनामा लोकतान्त्रिक प्यानलले विजय हात पारेको छ भने एकमा पेशागत समावेसीका उम्मेदवार विजयी भएका छन् ।