चन्द्रा कँडेल
सुर्खेत—सुर्खेतको गुर्वाकोट नगरपालिकाकी सुनिता वि.क.ले गएको पुसमा विवाह गरिन् । उनी उमेरले अहिले १८ वर्ष मात्रै पुगिन् । तर, अहिले उनी एक बच्चाको आमा बनिसकेकी छन् । उनले जन्माएको बच्चाको तौल जम्मा १ किलो ७ सय ग्राम मात्रै छ । भर्खरै सुत्केरी भएर आएकी सुनिता राम्रोसँग बोल्न पनि सकिरहेकी थिइनन् । उनले भनिन् ‘व्यथाले पनि च्यापेर लामो रुप लियो । बच्चाको अवस्था कस्तो छ मलाई थाहा छैन ।’ स्कुल जीवनमै लभ म्यारिज गरेकी उनलाई आमा हुँदा के गर्नुपर्छ त्यसको राम्रो ज्ञान छैन् ।
सुर्खेत वीरेनद्रनगर नगरपालिका—६ की तुलसरा सिंह छोरीलाई कुपोषण भएपछि प्रदेश अस्पतालको पोषण पुनस्र्थापना गृहमा गएकी छन् । उनको विवाह १७ वर्षको उमेरमा भएको हो । १८ वर्षको हुँदा उनको पहिलो सन्तान जन्मिएको थियो । तर, ७ महिनामै जन्मेकाले उनको त्यो सन्तान खेर गयो । १ वर्षपछि दोस्रो सन्तानका रुपमा छोरी जन्मिइन्, उनलाई पनि लगतै छोरा जन्मिएपछि पूरा समय दुध खुवाउन पाइनन् । अहिले तिनै छोरीलाई कुपोषण भएको छ । ‘छोराले यसले खाने दुध खाएर मोटाएको छ । तर, छोरीलाई कुपोषण भयो,’ उनले भनिन् ।
दैलेख पाथी काडाकी सुन्तली शर्माको पीडा अझ फरक छ । १८ वर्षको उमेरमा विवाह गरेकी उनले १९ वर्षमा पहिलो सन्तानलाई जन्म दिइन् । ‘उमेर नपुगेर मैले विवाह गरे बच्चा जन्माउने बेला धेरै पीडा भयो । गाँउमा गाई भैसी पालेको छन् । घाँस लिन जानको लागी धेरै टाढा जानु पथ्र्यो । त्यसैले समयमा छोरीलाई समयमा दुध खुवाउन सकिन् । अहिले उसलाई कुपोषण भयो,’ उनले भनिन् ।
कर्णाली प्रदेश अस्पतालमा आएका केही प्रतिनिधी घटनामात्रै हुन् । कर्णाली प्रदेशको पहाडी भू—भागमा अहिले पनि उमेर परिपक्व भएपछि विवाह गर्नुपर्छ भन्ने वातावरण विकास भैसकेको छैन् न त सन्तान जन्माउने समय र सन्तान जन्माउँदाको अवधिमा राख्नुपर्ने समय अन्तरबारे थाहा छ । उमेर नपुग्दैं सन्तान जन्माएका आमाहरुमा पोषण शिक्षाको पनि अभाव छ । जसका कारण कर्णालीका सानो उमेरमै विवाह गरेर अधिकांश आमा बच्चाहरु अवस्था नाजुक हुँदै गैरहेको छ । आमाहरुको अवस्थामा त दयनीय बनिरहेकै छ, उनीहरुका शिशुहरुको अवस्था कुपोषण झन ग्रस्त बन्न पुगेको घटनाक्रमहरुले देखाउँछन् ।
कर्णाली प्रदेशको प्रदेश अस्पतालको पोषण पुनस्र्थापना गृहमा उमेर नपुगेका १९ वर्षमुनीका बच्चाको आमाहरु प्रायः आउने गरेका छन् । पोषण गृहको तथ्यांकअनुसार यो आर्थिक वर्षको साउन यता ६० जना बालवालिकाहरु भर्ना भएको पोषण पुनस्र्थापना गृहकी प्रमुख प्रभा सिंहले बताइन । जसमध्ये २१ जना वालिका र ३९ जना बालक रहेका थिए । जसमध्ये शीघ्र कुपोषण भएका ३१ र मध्यम कुपोषण भएका २९ जना बालवालिका थिए । प्रमुख सिंहका अनुसार ४७ जना बालबालिका निको भएर गएका छन् भने ६ जनालाई अन्यत्र रिफर गरिएको छ । कुषोषणमा प्राय ५ वर्षमूनीका बालवालिका पर्ने गरेको उनको भनाइ छ ।
गृहमा आर्थिक वर्ष २०७५ /०७६ मा मात्रै गृहमा १ सय ३ जना बालवालिका आएका थिए । ‘कुपोषण पुनस्र्थापना गृहमा आएका आमा र बालवालिकाहरुलाई हामीले विभाजन गरेर राख्ने गरेका छौं,’ सिंहले भनिन् । अघिल्लो वर्ष शीघ्र कुपोषण भएका ६५ जना र मध्यम कुपोषण भएका ३८ जना आएका थिए । जसमध्ये केही पूर्ण रुपमा निको भएर गए भने केही बीचमै भागेर गएका थिए । उनकाअनुसार यो वर्ष आमाहरुको रेकर्ड नराखेको बताउँदैं अघिल्लो वर्षको रेकर्डअनुसार प्रायः आमाहरु १९ वर्षमूनीका थिए ।
उमेर नपुगेर विवाह गर्ने क्रम कर्णालीमा निकै बढ्दो अवस्थामा रहेको कर्णाली प्रदेश अस्पतालका प्रमुख डा. डम्बर खड्काले बताए । ‘म आफैले यो अस्पतालमा काम गरेदेखि यता धेरै डेलिभरी महिलाको अप्रेशन गरेको छु,’ उनले भने, ‘जुन १९ वर्षभन्दा मुनीका आमाहरु धेरै छन् ।’ उनकाअनुसार बच्चाहरुको जन्म अन्तर पनि खासै फरक देखिदैन् । ‘मैले धेरै आमाहरुलाई जन्म अन्तर कम्तीमा पनि ५ वर्षको फरक पार्नुपर्छ भनेर म आफैले धेरै पटक भनेको छु । उनले यसलाई रोक्न राज्यस्तरबाटै कानुनी पहल नथालेमा यसले भविष्यमा ठूलो खतराको रुप लिने बताए ।
डा. अर्चना कार्की यसका लागि प्राथमिक तहकै शिक्षामा ध्यान दिनुपर्नेमा जोड दिन्छिन् । ‘म एक डाक्टर मात्रै होइन्, आमा पनि हो,’ डा. कार्की भन्छिन्, ‘त्यसैले अहिले गाउँ—गाउँमा युवा युवतीहरुलाई छिटो विवाह गरेपछि के हुन्छ, धेरै ढिलो बिबाह गरे के हुन्छ यसको बारेमा सरकारका तर्फबाट शिक्षा दिन जरुरी छ ।’ उनी सरकारीस्तरबाटै ध्यान नदिएमा भविष्यमा कुपोषणका अझ ठूलो समस्याका रुपमा देखा पर्ने अनुमान गर्छिन् ।
बाल रोग विशेषज्ञ डा. नवराज केसीको मत पनि त्यस्तै छ । डा. केसी पनि बालवालिकामा देखिएको कुपोषणको समस्या निराकरणका लागि राज्यस्तरबाटैं पहल आवश्यक देख्छन् । उनी त्यसका लागि सरकारले स्कुल तहबाटै जनचेतनाको पहल थाल्नुपर्नेमा जोड दिन्छन् ।