काठमाडौं—शहीद शुक्रराज शास्त्रीको नाममा संक्रामक रोगको उपचार नेपालमै होस् भनेर सरकारले ८६ वर्षअघि टेकुमा सरुवा रोग अस्पताल बनाएको थियो । इबोला, निपा, प्लेग, सार्स, इन्फ्लुएन्जा, टोगाभाइरस, हेजमोराइज फिभर, क्यु फिभलगायतका संक्रामक रोगको मात्रै उपचार गर्ने उद्धेश्यले यो अस्पताल खोलिएको हो ।
तर, बिरामीको उपचार गर्ने अस्पताल आफै बिरामी परेको छ । बिरामीको पहिलो रोजाइमा निजी स्वास्थ्य संस्था पर्न थालेपछि संक्रमणजन्य रोगको सिजन भएपनि अहिले अस्पताल सुनसान छ । केही समयअघि देशभर डेंगु प्रमाणित हुँदा निजीले बिरामी भर्ना नलिएर टेकु अस्पताल रिफर गरेका थिए । त्यसबेला बिरामी अस्पतालमा खचाखच थिए । तर, अहिले वेडहरु खाली छन् । सरकारले यसका लागि वर्षमा ११ करोड रुपैयाँ खर्च गर्दै आएको छ । कमजोर व्यवस्थापनका कारण त्यसको सही सदुपयोग हुन सकेको छैन ।
सरुवा रोग अस्पताल टेकुका निर्देशक डा. वासुदेव पाण्डेका अनुसार सुधारका कामहरु भइरहेका छन् । कर्मचारीहरुले भने कमजोर व्यवस्थापनका कारण बिरामी सेवा लिन आउन छाडेको बताउँछन् । सरकारले तोकेको मापदण्डअनुसार कुल शैय्याको ६० प्रतिशत वेडमा नियमित बिरामी भर्ना हुनुपर्छ । तर, यो अस्पतालमा हाल १५ जनाको संख्यामा मात्रै भर्ना छ । त्यसमा पनि धेरै अन्तबाट रिफर भएका बिरामी छन् ।
शैय्या सय तर, बिरामी भर्ना १५ जना
‘संक्रामक रोगको उपचार हामी गर्न सक्छौं । तर, निजीमा गएका बिरामी धेरै रकम खर्च गरेर अन्तिम अवस्थामा यहाँ रिफर हुने गरेका छन्,’ एक चिकित्सकले भने । कर्मचारी प्रशासन शाखाका प्रमुख रुपनारायण खतिवडाका अनुसार टेकु अस्पतालमा सरकारी अस्पतालभरमै सस्तो र गुणस्तरीय सेवा छ । १२८ स्लाइसको सिटी स्क्यान छ ।
सबैभन्दा महंगो सिटी गरेको २ हजारसम्मको रहेको उनी बताउँछन् । त्यस्तै, एक्सरे सेवा पनि अस्पतालहरुमै सस्तो छ । ‘हामी २४ अण्टा अगावै रिपोर्ट दिन्छौं,’ खतिवडा भन्छन । यही सेवा निजीमा दशौं गुणा महंगो रहेको छ । तर, पनि बिरामीहरु निजी अस्पताल जाने गरेका छन् । टेकु अस्पतालमा अन्तर्राष्ट्रिय ख्याती प्राप्त सरुवा रोग विशेषज्ञ चिकित्सकहरु छन् । नेपालीलाई लाग्ने तर पत्ता लगाउन नसकेका संक्रमणजन्य रोग धेरै छन्, निजीमा उपचार गर्दा व्यवसायमा समस्या आउने हुँदा उनीहरु रिपोर्ट गर्दैनन् ।
यस अबधिमा शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालले राम्रो व्यवस्थापन पाउन नसकेको गुनासो गर्ने गरिन्छ । एक सय शैय्या संचालन रहेको यस अस्पतालमा बिरामी भर्ना (इन प्यासेन्ट) भने ज्यादै न्युन रहेको छ । अस्पतालले दिएको रेकर्ड अनुसार जम्मा १५ जना मात्रै बिरामी भर्ना छन् । ती पनि अधिकाशं अन्य निजी अस्पतालबाट रिफर भएर आएका छन् ।
चिकित्सकका अनुसार यो समय ज्वरो, रुघाखोकी, दम, निमोनिया, झाडापखालालगायत मौसमी भाइरसका बिरामी देखिन्छन् । आकस्मिक कक्षमा १० शैय्या राखिएको छ । तर, बिरामी शुन्य । महामारीजन्य रोगको उपचार गर्न खोलिएको केन्द्रीय अस्पताल कुकुरले टोकेका, झाडापखाला र एचआईभीका बिरामीको मात्रै उपचारमा सीमित छ । आइसीयु सधै भरिएका छन । तर, शैय्या खाली हुनुले पनि बिरामी पहिला निजीमा जाने र त्यहाँ नहुने भएपनि रिफर हुने पुष्टि गरेको छ ।
२२ वर्षमा २२ निर्देशक कसैले सुधारको प्रयास गरेनन
२२ वर्षमा २२ पटक निर्देशक फेरिएको रेकर्ड छ । उनीहरुले आफ्नो जागिर पकाउनेबाहेक सुधारका लागि प्रयास खासै नगरेको एकथरिले गुनासो गर्छन् । देशभरका अस्पतालमा भन्दा सस्तो सेवा रहेको छ । १२८ स्लाइसको सिटी स्क्यान रहेको छ जसको सेवा शुल्क २ हजार रहेको छ । त्यसैगरी एक्सरेको सेवा शुल्क १६० देखि ४५० सम्म रहेको छ ।
यो शुल्क सबैभन्दा सस्तो हो । सिटीको रिपोर्ट अस्पतालले २४ घण्टा अघि नै दिने गरेको छ । तर, पनि बिरामी सेवा लिन जादैनन् । अस्पतालको जम्मा बजेट ११ करोड ६८ रुपैयाँ रहेको छ । अस्पतालले बताएअनुसार ८ करोड तलब भत्तामा जाने गरेको छ । बाँकी रकम विभिन्न काममा प्रयोग हुँदै आएको छ । अस्पतालले वार्षिक ३ करोड रुपैयाँको निःशुल्क औषधि किन्ने गरेको छ ।