काठमाडौं– राष्ट्रिय चिकित्सा शिक्षा आयोगका कार्यकारी उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरीले प्रस्तावित वि एण्ड सी मेडिकल कलेजका संचालक दुर्गा प्रसाई विरुद्ध मानहानीको मुद्धा दर्ता गरेका छन् ।
प्रसाई विरुद्ध डा. गिरीले जिल्ला अदालत काठमाडौंमा मानहानीको मुद्धा दायर गरेका हुन् । डा. गिरीले आज (मंगलवार) जिल्ला अदालतमा मानहानीको मुद्धा हालेको जानकारी दिए ।
प्रसाईले अघिल्लो हप्ता पत्रकार सम्मेलन गरी प्रस्तावित मेडिकल कलेजको सम्बन्धनका लागि आयोगमा निवेदन दिँदा निवेदन लिन नमानेर उपाध्यक्ष गिरीले २० करोड घुस मागेको आरोप लगाएका थिए ।
प्रा.डा. गिरीले आफुले प्रसाईसँग घुस नमागेको र त्यो मनगढन्ते आरोप भएको भन्दै मानहानीको मुद्धामा अदालत जाने बताउँदै आएका थिए ।
प्रसाईले आरोप लगाएको झण्डै एक हप्तापछि गिरीले प्रसाई विरुद्ध मानहानीको मुद्धा हालेका हुन् । ‘मैले कल्पना नै नगरेको कुराको आरोप लाग्यो, सबैले कानुनी प्रक्रियामा जान सुझाव दिनुभयो,’ गिरीले भने, ‘यदि कानुनी प्रक्रियामा नजाने हो भने त मान्छेले शंका गर्ने ठाउँ रहने भयो नि ।’