काठमाडौं—नेशनल मेडिकल कलेजले वीरगञ्जले पिजी (पोष्टग्राजुएट) अन्तिम वर्षमा अध्ययनरत विद्यार्थीसँग सरकारले तोकेको भन्दा १६ लाख रुपैयाँ बढी पैसा मागेको छ । कलेजमा अध्ययनरत विद्यार्थीहरुका अनुसार व्यवस्थापनले तीन वर्षदेखिको अतिरिक्त शुल्क माग्न थालेको हो ।
सन् २०७१ सालमा भर्ना भएका विद्यार्थीहरुले ३१ लाख रुपैयाँमा पिजी पढ्दै आएका छन् । तर, पछिल्लो समयमा सरकारले २२ लाख रुपैयाँ शुल्क तोकेको छ । आगामी जेठमा हुने अन्तिम परीक्षालाई केन्द्रित गर्दै कलेजले विद्यार्थीसँग रकम माग्न थालेको खुल्न आएको छ ।
हरेक वर्ष पिजीका लागि १० लाख रुपैयाँका दरले शुल्क तिर्नुपर्ने हो । ‘दुई वर्ष त्यसैगरी तिर्दै आयौं,’ एक विद्यार्थीले भने, ‘तर, अहिले तीन वर्षकै अतिरिक्त शुल्क भनेर १६ लाख रुपैयाँ बढी तिर्न दबाब दिन थालेको छ ।’
अहिले विद्यार्थीहरुले १० लाख रुपैयाँ मात्रै तिर्नुपर्छ । कलेजले पछि विद्यार्थीसँग अतिरिक्त शुल्क नलिने सहमति सन् २०७१ सालमै गरिसकेको थियो । एमबीबीएसमा अध्ययनरत विद्यार्थीसँग बढी लिएको रकम फिर्ताको टुंगो नलाग्दै नेशनलले फेरि पिजीमा अध्ययन गर्ने विद्यार्थीसँग बढी रकम लिने प्रक्रिया थालिसकेको छ ।
कलेजले पहिलो वर्षको ६ लाख ३५ हजार, दोस्रो वर्षको ५ लाख ८० हजार र तेस्रो वर्षको ३ लाख ८० हजार गरी १५ लाख ९५ हजार रुपैयाँ अतिरिक्त शुल्क मागेको छ ।