टीकापुर—बर्दगोरिया गाउँपालिका–६ कोटा तुल्सीपुरका धेरैजसो महिला घरमै बच्चा जन्माउथे । उनीहरु गाउँ नजिकै भरपर्दो प्रसुती सेवा नहुँदा घरमै बच्चा जन्माउन बाध्य थिए ।
घरमै बच्चा जन्माउने क्रममा कतिपयले अकालमा ज्यान गुमाउँथे । स्थानीयकाअनुसार घरमै सुत्केरी हुने क्रममा धेरै महिलाले ज्यान गुमाएका छन् ।
महिलाहरु प्रसुती सेवाका लागि कैलालीको सदरमुकाम धनगढी वा बाँकेको नेपालगञ्ज जानुपर्ने बाध्यता थियो । सबै गर्भवती महिलाहरु समयमा धनगढी र नेपालगञ्ज पुग्न सक्दैन थिए ।
गुड नेवर्स इन्टरनेशनलको आर्थिक र सेवक नेपालको प्राविधिक सहयोगमा कोटा तुल्सीपुर स्वास्थ्य चौकीमा प्रसुती गृह निर्माण भएपछि महिलाहरुलाई निकै सजिलो भएको छ । उनीहरु अहिले स्वास्थ्य चौकीमा सुत्केरी सेवा लिइरहेका छन । गाउँघरमै सुत्केरी सेवा पाएपछि महिलाहरुको ज्यान जोगिएको छ ।
‘धेरै महिलाहरुको ज्यान जोगिएको छ’ स्वास्थ्य व्यवस्थापन समितिकी सदस्य मीनादेवी कठरियाले भनिन्, ‘ती दिन सम्झिँदा त अहिले महिलालाई निकै सजिलो भएको छ ।’
प्रसुती गृह निर्माणमा गुड नेवर्स इन्टरनेशनलले ७ लाख ९७ हजार ९६६ रुपैयाँ, वडा कार्यालयले २० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ भने समुदायका बासिन्दाले १ लाख ८७ हजार २७९ रुपैयाँ श्रमदान गरेका छन ।
संस्थाको आर्थिक सहयोगमा प्रसुती गृह निर्माणका साथै डेलिभरी बेड, फर्निचर र अन्य उपकरणको समेत व्यवस्था गरिएको छ । जसका कारण महिलाहरुलाई सुत्केरी सेवा लिनमा सहज भएको छ ।
२०७५ जेठ १५ गते प्रसुती गृह निर्माण भएर सञ्चालनमा आएपछि होम डेलिभरी (घरमा सुत्केरी हुने) शुन्यमा झरेको छ । सबै महिलाहरु गर्भ जाँचदेखि लिएर बच्चा जन्माउन स्वास्थ्य संस्थामा आउन थालेको इञ्चार्ज शिवकुमार कठरियाले जानकारी दिए । उनले महिलाहरु स्वास्थ्य संस्थामा आउन थालेपछि मातृ मृत्युदर घटेको बताए । ‘मातृ मृत्युदर शुन्यमा झरेको छ’ उनले भने, ‘सुत्केरी सेवा नपाएर हिजोआज कुनै महिलाले ज्यान गुमाउनु पर्दैन ।’
स्वास्थ्य चौकीले प्रसुती गृहमार्फत भरपर्दो सुत्केरी सेवा दिन थालेपछि वडा नम्बर ४ का नौ वटा गाउँ मात्रै हैन छिमेकी वडाका बासिन्दाले समेत सेवा लिन थालेका छन् । बर्दगोरीया गाउँपालिका–४ ठोठरपुरकी निलम कठरिया गर्भावस्था जचाउन स्वास्थ्य चौकी पुगेको भेटिइन । उनले आफूभन्दा अघिको पुस्ताका धेरै महिलाले दुःख पाएको बताइन् ।
‘पहिलेका महिलाहरुलाई निकै दुःख थियो । तर अहिले निकै सहज भएको छ’ उनले भनिन्, ‘कम्तिमा गाह्रो साह्रो छ भने समयमै सुविधा सम्पन्न अस्पताल जाने सल्लाह त पाइन्छ ।’
स्वास्थ्य चौकीमा प्रसुती सेवा सुरु भएको भने २०६९ सालमा हो । सानो कोठामा प्रसुती सेवा सञ्चालन गर्दा निकै कठिनाई थियो । जसले गर्दा स्वास्थ्य चौकीले भरपर्दो सुत्केरी सेवा दिन सकेको थिएन । प्रसुती गृह निर्माण भएपछि भने निकै सहज भएको अनमी सुमित्रा रावतले बताइन् । उनले मासिक कम्तिमा २० जनाले सुत्केरी सेवा लिने गरेको जानकारी दिइन । उनकाअनुसार जसमध्ये कहिलेकाहीँ २/३ जनालाई मात्रै अन्यत्र रिफर गर्नुपर्ने अवस्था आउने गरेको छ । ‘अवस्था जटिल छ भने हामी जोखिम उठाउन चाहन्नौ’ उनले भनिन्, ‘हामीसँग अन्य विकल्प पनि त छैन ।’
स्वास्थ्य चौकीमा सामान्य सुत्केरी सेवा मात्रै छ । अप्रेसन मार्फत बच्चा जन्माउनुपर्नेलगायतको समस्या देखियो भने समयमै अन्यत्र रेफर गरिन्छ । स्वास्थ्य चौकीले २४ घण्टे सुत्केरी सेवा दिँदै आएको छ । जसका लागि ४ जना अनमी कार्यरत छन् । जसमध्ये २ जना स्थायी र २ जना करारमा कार्यरत छन् ।
वडा कार्यालयले प्रसुती सेवालाई अझ प्रभावकारी बनाउने सोच लिएको छ । वडाध्यक्ष रामकृष्ण डगौरा थारुले प्रसुती गृहको तला थप, शौचालय, बिरामी कुरुवालगायतका भौतिक संरचना समेत निर्माण गर्ने योजना रहेको जानकारी दिए ।