२०८१ असोज ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १मंगलबारे अस्पताललाई ट्रमा सेन्टर बनाइने, ५० शैय्याको विशेषज्ञ सेवा सञ्चालन गरिने

मंगलबारे अस्पताललाई ट्रमा सेन्टर बनाइने, ५० शैय्याको विशेषज्ञ सेवा सञ्चालन गरिने


विराटनगर—मोरङको उर्लाबारी—३ स्थित मंगलबारे अस्पताललाई विशेषज्ञ सेवासहितको ट्रमा सेन्टर बनाउन प्रदेश १ सरकार लागि परेको छ । १५ शैय्याको अस्पताललाई ५० शैय्यामा स्तरोन्नती गरी विशेषज्ञ सेवासहितको ट्रमा सेन्टर सञ्चालनको प्रक्रिया प्रदेश सरकारले अगाडि बढाएको हो ।

प्रदेश सरकारले ट्रमा सेन्टरको रुपमा विकास गर्नका लागि चालु आर्थिक वर्षमा दुई करोड बजेट पनि विनियोजन गरेको छ । अघिल्लो आर्थिक वर्ष पनि ट्रमा सेन्टरको रुपमा विकास गर्न भन्दै दुई करोड रुपैयाँ विनियोजन भएको थियो ।

सामाजिक विकासमन्त्री जीवन घिमिरेले तत्कालीन प्राथमिक स्वास्थ्य केन्द्रको रुपमा सञ्चालनमा रहेको अस्पताललाई प्रदेश सरकारले ट्रमा सेन्टरको रुपमा विकास गर्न आवश्यक तयारी अघि बढाएको जानकारी दिए । उनले अघिल्लो आर्थिक वर्षमा छुटाइएको बजेटबाट अस्पतालको सेवा विस्तारका लागि आवश्यक उपकरण खरिद गर्ने र यो आर्थिक वर्षको बजेटबाट ट्रमा सेन्टर सञ्चालनका लागि थप उपकरण खरिद गरिने बताए ।

‘पूर्व–पश्चिम राजमार्गमा हुने सवारी दुर्घटना र प्राकृतिक प्रकोपमा परेका मानिसलाई तत्काल उद्धार गरी उपचारको यथोचित प्रबन्ध मिलाउन प्रदेश सरकारले मंगलवारे अस्पताललाई ट्रमा सेन्टरको रुपमा विकास गर्न लागेको छौं,’ उनले भने, ‘ट्रमा सेन्टरका लागि आवश्यक उपकरणसहितको अस्पतालका रुपमा यही आर्थिक वर्षभित्रै मंगलरबारे अस्पताललाई विकास गरिनेछ ।’

उनले अस्पतालाई ट्रमा सेन्टरका रुपमा विकास गर्नका बहुवर्षीय योजनामा समावेश गरिएको र अस्पतालको स्तरोन्ती गरी ५० शैय्याको बनाउने पनि बताए । मन्त्री घिमिरेले मंगलबारे अस्पताललाई प्रदेश सरकारले प्रदेशकै नमूना अस्पताल निर्माण गर्ने गरी तयारीसमेत भइरहेको बताए । ट्रमा सेन्टरसहित मंगलबारे अस्पतालमा थप डेन्टल सेवा पनि सञ्चालन गरिने उनको भनाइ छ ।

मंगलबारे अस्पताल सञ्चालक समितिका सदस्य कमलनारायण मल्लिकले हाल सामान्य शल्यक्रियामा हुने अस्पतालमा पहिलो चरणमा ट्रमा सेन्टरका लागि छुट्टाइएको २ करोड रुपैयाँबाट आवश्यक उपकरण खरिद गरिएको जानकारी दिए । उनले अहिले अस्पतालमा शल्यक्रिया बनाउने काम पनि सम्पन्न भएको जानकारी दिए ।

सदस्य मल्लिकले नेपालमा वीर अस्पतालमा मात्र ट्रमा सेन्टर भएकाले ट्रमा सेन्टर निर्माण सम्बन्धी कार्यविधि बनाउने तयारी भइरहेको पनि जानकारी दिए । ‘अस्पताललाई ट्रमा सेन्टरका लागि चाहिने आधारभूत पूर्वाधार निर्माणको कार्यमा अस्पताल सञ्चालक समिति जुटेको छ,’ उनले भने, ‘यही आर्थिक वर्षभित्र आवश्यक चिकित्सक र उपकरणसहितको सेवा प्रदान गर्न अस्पतालको लक्ष्य रहेको छ ।’ सोही अनुरुप अस्पताललाई विकास गर्न काम अहिले भइरहेको छ ।

मंगलबारे अस्पतालले वार्षिक एक करोड २६ लाख रुपैयाँ आम्दानी गर्दै आएको छ । अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. योगेशकुमार मण्डलले गएको आर्थिक वर्षमा अस्पतालले स्वास्थ्य सेवा प्रवाह गरी एक करोड २६ लाख रुपैयाँ आम्दानी गरेको जानकारी दिए । अस्पताल प्रशासनका अनुसार अस्पतालमा दैनिक २ सयदेखि २ सय ५० जनासम्म बिरामीहरु सेवाको लागि आउने गरेका छन् ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ