काठमाडौं—विश्व स्वास्थ्य संगठनको दक्षिण पूर्वी एसिया क्षेत्रका आँखा रोग प्राविधिक समितिको बैठक सम्पन्न भएको छ । काठमाडौंमा आयोजना भएको सो बैठकले अस्पताल, सरकार र डब्लुएचओलाई नीतिगत सुधारको सिफारिस गर्दै सम्पन्न भएको हो ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले नेपालमा भएको यो प्राविधिक बैठकले सिफारिस गरेका कुरालाई सरकारले आत्मासत गर्ने बताए । उनले नेपालले आँखा स्वास्थ्यको क्षेत्रमा दक्षिण एसियामा नै राम्रो प्रगति गरिरहेको दावी गरे । बरिष्ठ आँखारोग विशेषज्ञ डा. सन्दुक रुइतले विश्व स्वास्थ्य संगठनले प्राविधिक समितिको बैठक नेपालमा हुनु गर्वको कुरा रहेको बताए ।
तिलगंगा आँखा प्रतिष्ठानमा भएको सो बैठकमा दक्षिण पूर्वी एसियाका ९ देशका ३५ जना विशेषज्ञ सहभागी थिए ।
मोतिबिन्दु, जलबिन्दु तथा दृष्टिदोषजस्ता रोगमा अस्पताल, सरकारीस्तर र विश्व स्वास्थ्य संघजस्ता प्रत्येक तहको संस्थाहरुले रोगहरुमा के गर्नुपर्छ? भन्ने गाइडलाइनहरु सिफारिस गरेको वरिष्ठ आँखा रोग विशेषज्ञ एवं तिलगंगा आँखा प्रतिष्ठानकी प्रमुख कार्यकारी निर्देशक डा. रिता गुरुङले बताइन् ।
बैठकमा जनहितमा जारी सेवाहरुको विस्तार हुनुपर्छ भन्ने विषय पनि प्रमुख रुपमा उठेको थियो । ‘सबैको पहुँचमा पुग्ने ठाउँमा लैजानुपर्छ भन्ने कुरामा सवै एकमत देखियो,’ डा. गुरुङले भनिन्, ‘काठमाडौंका ब्यक्तिहरु मात्र नभई हुम्ला, जुम्लाजस्ता ठाउँहरुका ब्यक्तिहरुको पहुँचमा समेत पुग्ने गरी कार्यक्रम आयोजना गर्ने स्थान रोज्नुपर्छ भन्ने कुराहरु आएका छन् ।’
त्यसैगरी, प्रत्येक देशहरुले मधुमेहका बिरामी बढिरहेको र त्यसले आँखालाई पनि असर गरेकाले विश्व स्वास्थ्य संगठनको नेतृत्वमा यसलाई कसरी नियन्त्रणमा ल्याउने भन्ने विषयमा पनि छलफल भएको उनको भनाइ छ । नेपालमा भने यसको गाइडलाइन तयार पारिसकेको र दक्षिण एसियाकै लागि सो गाइडलाइन महत्वपूर्ण हुने उनले बताइन् । ‘साउथ एसियामा ‘डाइबेटिज रेट्नोपेथी’ अर्थात् मधुमेहका कारण देखा पर्ने आँखामा देखा पर्ने दोषहरुलाई कसरी अन्त्य गर्ने भन्ने गाइडलाइन पनि तयार गर्नु हो,’ उनले भनिन्, ‘यो अबका दिनहरुमा ठूलो चुनौतीको रुपमा देखा पर्छ र यसको निमित्त तयार रहनुपर्छ भन्ने आशयको साथ पनि आयोजना गरिएको हो ।’
के हो डाइवेटिक रेटिनोप्याथी ?
डा. रिता गुरुङ, आँखा रोग विशेषज्ञ
मधुमेहका कारण आँखामा हुने असरहरु मोतिबिन्दु हुनुभन्दा धेरै हानिपूर्ण छ । मोतिबिन्दु भएका ब्यक्तिहरुले एक पटकको शल्यक्रिया तथा लेन्सको प्रयोगमार्फत राहत पाउन सक्छन् । तर, मधुमेहबाट संक्रमित भइसकेको अवस्थामा त्यो रोग बाचुञ्जेलसम्मको लागि रहिरहन्छ । त्यसकारण त्यो ब्यक्तिलाई मधुमेहको सँगसँगै आँखाको स्याहार पनि सदाको निम्ति आवश्यक पर्दछ ।
मधुमेहका भएका ब्यक्तिहरुलार्ई आँखाको उपचार अनिवार्य रुपमा गर्नुपर्छ भन्ने कुरा थाहा नहुन सक्छ भने अर्कातर्फ ब्यक्तिहरु केहि समस्या आइपरे पश्चात् मात्रै अस्पताल धाउने गर्छन् । तर, मधुमेहका बिरामीमा आँखामा देखा पर्ने लक्षण उसले आँखा देख्न नसक्ने भएपछि मात्रै थाहा पाउने हुँदा यसो गर्नु बिरामीको निम्ति एकदमै हानिकारक रहन्छ ।
यसलाई मधुमेहको नकरात्मक पाटोको रुपमा पनि लिइन्छ । तसर्थ प्रारम्भिक अवस्थामा नै अस्पताल गएको खण्डमा चिकित्सकले पनि उपचार गर्न सक्छन् भने अन्तिम अवस्थामा जानाले चिकित्सकले पनि ठूला—ठूला उपचार पद्धतिहरु अपनाउनुपर्ने हुन्छ । आँखाभित्र रक्तश्राप हुने, आँखाको पर्दा सुन्निनेजस्ता समस्याहरु देखा पर्न सक्छन् ।
जसमा उपचारको उपायअन्तर्गत शल्यक्रिया मात्रै रहन्छ । यसमा ब्यक्तिलाई समय तथा रकम पनि धेरै लाग्ने हुन्छ भने त्यसपश्चात् पनि आँखा देखिने वा नदेखिने भन्ने निश्चित रहँदैन् । यसको निम्ति हामीले सबैभन्दा मुख्य कुरा रोकथाममा जोड दिनु पर्दछ । त्यसैको लागि पनि सम्पूर्ण साउथ एसियाकै लागि भनेर हामीले उक्त गाइड लाइन बनाएका छौं ।
सबैतिर उस्तै छ दक्षिण पूर्वी एसियामा
एसियाअन्तर्गत रहेको प्रत्येक देशहरुमा प्राप्त ज्ञान, रहन—सहन, सामाजिक तथा अर्थ ब्यवस्था उस्तै—उस्तै हुने भएकाले पनि यो सम्पूर्ण एसियामा नै एकै अवस्थामा देखा परेको देखिन्छ । हामीले जिउने गरेका जीवनशैलीमा पनि एकदमै परिवर्तन आएको कारण पनि समग्रमा साउथ एसियाको प्रत्येक देशहरुको अवस्था एकै किसिमका देखिन्छन् ।
तर, सेवा विस्तारमा भने तुलनात्मक रुपमा थाइल्याण्ड अगाडि रहेको देखिन्छ । त्यसमध्ये अन्य देशहरुले भने गाइड लाइन बनाइसकेको अवस्था छ भने कतिपय अझै बनाउने क्रममा नै रहेको देखिन्छ । तर, हाल साउथ इस्ट एसियाको सबैको उस्तै—उस्तै नै रहेको हुनाले साउथ इस्ट एसियाको लागि पनि छुट्टै गाइडलाइन बनाउन आवश्यकता देखा परेको कारण नै यो तयार गर्न लागिएको हो ।