अल्ट्रासाउण्ड के हो ? कसरी गरिन्छ ?
समान्यतयाः अल्ट्रासाउण्ड कुनै परीक्षणको लागि गरिन्छ । एक्सरे, एमआरआई, सिटीस्क्यानजस्तै अल्ट्रासाउण्ड पनि परीक्षणको प्रविधि हो । अल्ट्रासाउण्डले रोग पत्ता लगाउन ठूलो सहयोग गर्छ । यसलाई रोग पत्ता लगाउने महत्वपूर्ण प्रविधिको रूपमा हेरिन्छ । यसको सबैभन्दा बढी प्रयोग पेटको लागि गरिन्छ । पेटमा भएको समस्या पत्ता लगाउने यो नै सबैभन्दा भरपर्दो प्रविधि हो ।
पेटमा भएको पत्थरी पत्ता लगाउन यसको सबैभन्दा बढी प्रयोग गरिन्छ । कलेजोमा समस्या छ, किड्नीमा कुनै समस्या छ भने पनि अल्ट्रासाउण्ड नै गरिन्छ ।
नेपालमा यसलाई भिडियो–एक्सरे पनि भनिन्छ । तर, अल्ट्रासाउण्ड फरक हो । भिडियो–एक्सरेमा भिडियो खिचेर पत्ता लगाउने भएर यस्तो भनिएको हुन सक्छ । तर, यसमा एक्सरे हुँदैन । अल्ट्रा साउण्डमा ‘हाइफ्रिक्वेन्सी’को ‘साउण्ड वेभ’प्रयोग गरिन्छ ।
यसको सबैभन्दा महत्वपूर्ण कुरा भनेको यसमा ‘रेडियसन’ हुँदैन । जसले मानिसलाई हानी गर्दैन । अहिलेसम्म यसको डरलाग्दो साइडइफेक्ट पनि केही देखिएको छैन् । यो बच्चादेखि बालबालिकासम्मलाई प्रयोग गर्न सकिन्छ । अल्ट्रासाउण्डले सबै कुरा देख्छ ।
अल्ट्रासाउण्ड कसरी गरिन्छ?
अल्ट्रासाउण्ड थरी–थरीका हुन्छन् । बढी मात्रामा पेटको नै अल्ट्रासाउण्ड गर्ने गरिन्छ । यसको लागि कम्तीमा ६ घण्टा खाली पेट राख्नुपर्छ । पिसाब पनि रोक्नुपर्ने हुन्छ । यो पुरूषका लागि भन्दा पनि महिलाका लागि बढी जरुरी छ । पिसाब रोक्यो भने पाठेघरको अवस्था बारे थाहा पाउन सकिन्छ ।
शरीरको जुन अंगको अल्ट्रासाउण्ड गर्ने हो त्यो सँगै छालामा थोरै जेल हालेर राखिन्छ। त्यो भयो भने प्रोब (प्रविधि)ले त्यहाँ भएको सबै ‘इनफर्मेसनलाई’ भिडियोमा देखाउँछ ।
एक्सरेका किरणहरु गर्भवती महिला बच्चाहरुको लागि किन हानिकारक मानिन्छन् ?
एक्सरेका किरणहरुले विकिरण पैदा गर्दछ, जसले गर्दा बायोलोजिकल इफेक्टहरु देखिन्छन् । जस्तै : शरीरका अंग हरु बिग्रिने, आँखा अन्धो हने, जिनमा समेत परिवर्तन आउने गर्दछ ।
अल्ट्रासाउण्ड गर्नुपूर्व किन पानी पिउनु पर्दछ ?
अल्ट्रासाउण्ड गर्दा पिसाब थैलीमा पिसाब भरियो भने पाठेघर राम्रोसँग देखिन्छ । पिसाब थैलीमा पिसाब भएन भने पाठेघर हराउँछ । पानीले अल्ट्रासाउण्ड गर्दा वीन्डोको काम गर्दछ । पुरुषको हकमा प्रोस्टेट ग्रन्थीको अल्ट्रासाउण्ड गर्दा पानी पिउनु पर्दछ ।
अल्ट्रासाउण्डले कुन—कुन अंगको रोग पत्ता लाग्दछ ?
अल्ट्रासाउण्डले पेटमा रहेका अंगहरू किड्नी, कलेजो, गलब्ल्याडर, प्यानक्रियाज, प्रोस्टेस्टलगायतका अंगहरू पेटको अल्ट्रासाउण्डमार्फत गर्न सकिन्छ । बच्चाको टाउकोको, आँखाको नानीको, घाँटीका ग्रन्थीहरुको, थाइराइडको परीक्षण, छातीको परीक्षणमासमेत यसको प्रयोग गरिन्छ । रक्तनशाको समस्या आएमा पनि अल्ट्रासाउण्डमार्फत पत्ता लगाउन सकिन्छ ।
यसको विशेषताहरु के—के छन् ?
यसको मुख्य विशेषता भनेको यसले बिरामीलाई कुनै हानी गर्दैन । यो सस्तो र सुलभ हुन्छ । पेटको समस्या भएको बेलामा त यो अनिवार्यजस्तै भइसकेको छ । यसको अरूभन्दा राम्रो पक्ष भनेको यसले अरूले भन्दा सजिलैसँग रोग पत्ता लगाउँछ । पानीको फोका होकी रगत जमेको छ भने अरू माध्यमबाट पत्ता लगाउन कठिन हुन्छ भने अल्ट्रासाउण्डबाट सजिलै पत्ता लाग्छ । नेपालमा विगत झण्डै पन्ध्र वर्षयता व्यापक मात्रामा यसको प्रयोग भइरहेको छ ।
नेपालमा यसको उपलब्धता अहिले कस्तो छ ?
अल्ट्रासाउण्ड नेपालका धेरै ठाउँमा उपलब्ध छ । यो धेरै खर्चिलो पनि छैन । सरकारी अस्पतालमा चार–पाँच सय रूपैयामा पनि अल्ट्रा साउण्ड हुन्छ भने निजी अस्पताल तथा क्लिनिकहरुले एक हजार रुपैयाँसम्म पनि लिने गर्छन् । यो पनि प्रविधि हेरेर हुन्छ । अहिले आएको नयाँ प्रविधिअनुसार गर्ने हो भने कतिपय अल्ट्रासाउण्डको चार–पाँच हजार रुपैयाँसम्म पनि खर्च लाग्छ । साधारणतयाः पेटको अल्ट्रासाउण्ड गर्दा एक हजार रुपैयाँसम्म पर्न सक्छ । कुन अंगको गर्ने र कुन प्रविधिले गर्ने भन्नेमा भर पर्छ ।