२०८१ असोज ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १औषधी व्यवसायीको निर्वाचन : समूह बनाएर चुनावी मैदानमा, को बन्ला अध्यक्ष ?

औषधी व्यवसायीको निर्वाचन : समूह बनाएर चुनावी मैदानमा, को बन्ला अध्यक्ष ?


विराटनगर—नेपाल औषधी व्यवसायी संघ मोरङको निर्वाचनको लागि उम्मेदवारी दर्ता भएसँगै चुनावी सरगर्मी बढेको छ । संघको नयाँ नेतृत्वको लागि छुटा–छुट्टै समूह बनाएर निर्वाचनमा होमिएका छन् । ९ पदका लागि मंसिर २० गते हुने संघको निर्वाचनको लागि २२ जनाले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता सुरेशलाल श्रेष्ठले जानकारी दिए ।

संघको अध्यक्ष पदमा तीन जनाको उम्मेदवारी छ । वर्तमान महासचिव हरिमोहन श्रेष्ठ, पूर्व केन्द्रीय सदस्य लक्ष्मीप्रसाद तिम्सिना र पूर्व उपाध्यक्ष यतिश श्रीवास्तवको अध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन् । २०५३ सालदेखि औषधी व्यवसायमा आवद्ध भएका तिम्सिना केन्द्रीय सदस्य हुँदै औषधी व्यवसायी संघको खुद्रा उप—समितिको संयोजक पनि भइसकेका छन् ।
श्रेष्ठ पनि दुई कार्यकाल संघको महासचिव र तीन दशकभन्दा अगाडिदेखि औषधी व्यवसायी संघमा आवद्ध छन् । हरिमोहन पुराना औषधी व्यवसायीको रूपमा परिचित छन् ।

तिम्सिना र श्रेष्ठले छुट्टाछुट्टै समूह बनाएर उम्मेदवारी दिएपछि अहिले चुनावी माहोल तातेको छ । तिम्सिनाको समूहबाट उपाध्यक्षमा देशबन्धु ढकाल, महासचिवमा दिनेश ठाकुर, कोषाध्यक्षमा सुदिप निरौला, सचिवमा हरिराज रेग्मी, सह–कोषाध्यक्षमा पुष्पराज पोखरेल र सदस्यहरूमा अनिल चौधरी, प्रकाश धिमाल, जयप्रकाश राय (ज्ञानु)को उम्मेदवारी रहेको छ ।

तिम्सिनाको समूहबाट उपाध्यक्ष उम्मेदवार ढकाल र महासचिवका उम्मेदवार ठाकुर लामो समयदेखि औषधी व्यवसाय क्षेत्रमा लागि परेका हुन् । ठाकुर वर्तमान सचिव पनि हुन् ।

त्यस्तै हरिमोहन समूहबाट उपाध्यक्षमा सुदिनध्वज श्रेष्ठ, महासचिवमा जितेन्द्र (जितु) रजक कोषाध्यक्षमा विजयकुमार राजवंशी, सचिवमा देवीप्रसाद दुलाल, सह–कोषाध्यक्ष राजकुमार यादव, सदस्यहरुमा चन्द्रबहादुर पराजुली र सरिता चौधरीको उम्मेदवारी रहेको छ ।

दुई समूहबाहेक मनोजकुमार मिश्र र सुरेन्द्र कुमार मेहताले पनि महासचिवमा उम्मेदवारी दिएका छन् ।

यस्ता छन् दुई समूहको चुनावी एजेन्डा

दुवै समूह अहिले आ–आफनो एजेन्डा सुनाउँदै मतदातासँग भोट माग्न व्यक्त छन् । तिम्सिना समूहले सामूहिक प्रतिबद्धता पनि मतदाताबीच जाहेर गरेको छ । अध्यक्षको उम्मेदवार तिम्सिनाले व्यवसायभित्र देखापरेका विकृतीहरूलाई सरोकारवाला र नियांमक निकायबीचको सहकार्यमा नियन्त्रण गरी व्यवसायीमैत्री वातावरण निर्माण गरिने बताए ।

अत्यावश्यक जीवन रक्षक औषधीहरुको सहज उपलब्धको लागि क्रियाशील रहँदै यसको आडमा हुने कालोबारी तथा व्यवसायीहरुलाई परेको असुविधालाई निराकरण गर्न पहल गर्ने उनले बताए । फार्मेशी सहायकको तालिममको व्यवस्था लागि पहल गरेर केन्द्रबाट आएका कार्यक्रमहरु पारदर्शी ढंगले संचालन गर्ने, औषधी व्यवस्था विभागमा दर्ता भएका तर एनसिडीएमा दर्ता नभएका बहुसंख्यक व्यवसायीहरुलाई सदस्य बनाउन पहल गर्ने र संघका निर्णय र गतिविधिहरुलाई सहज ढंगबाट सदस्यमाझ पु¥याउने उनको सामूहिक प्रतिवद्धतामा उल्लेख छ ।

यस्तै अध्यक्ष अर्का उम्मेदवारी श्रेष्ठले पनि ‘व्यवसायिक हक हितको निम्ती परिवर्तन हैन सक्षम नेतृत्व, हल्लामा हैन सल्लाहमा व्यवसायिक एकता’ भन्ने मुख्य नारा राखेर चुनावी एजेन्डा सार्वजनिक गरेका छन् । श्रेष्ठको समूहले संघलाई आर्थिक रुपमा सवल बनाउन विभिन्न कार्यक्रम गर्ने, आयकर सम्बन्धि राजस्व कार्यालयसँग समन्वय गर्दै सम्पूर्ण व्यवसायीलाई कर सम्बन्धि ज्ञानमूलक तालिमको व्यवस्था गरिने प्रतिवद्धता पत्रमा उल्लेख गरिएको छ ।

त्यस्तै औषधी व्यवस्था विभागसँग समन्वय गरी व्यवसायी र विभागसँग मैत्रीपूर्ण वातवरण मिलाउने, निर्धक्क एवं भयरहित भै व्यवसाय संचालन गर्न पाउने व्यवस्था मिलाउने, सम्पूर्ण औषधी व्यवसायीहरुको नेपाल सरकारको स्वास्थ्य विमा सेवा दिन पाउनु पर्नेमा पहल गर्ने श्रेष्ठ समूहले जारी गरेको प्रतिवद्धता पत्रमा उल्लेख छ ।

औषधी व्यवस्था विभागमा मोरङमा १ हजार १ सय ४८ वटा औषधी पसल दर्ता भए पनि संघमा आवद्ध भएका ५ सय २१ जना रहेका छन् ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ