काठमाडौं—स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्नातकोत्तर तह (पिजी)का विद्यार्थीहरुलाई निर्वाह भत्ता ४८ हजार ७ सय रुपैयाँ दिने निर्णयबाट सरकार पछि नहट्ने बताएका छन् । बिहीबार निर्वाह भत्ता लागु गर्नुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका आवासीय चिकित्सक संघ र नेपाल चिकित्सक संघका प्रतिनिधीहरुसँग मन्त्रालयमा कुरा गर्दै मन्त्री पौडेलले सरकारले गरेको निर्णय लागु हुने बताए ।
‘सरकारले गरेको निर्णय मान्दिनँ भन्ने मिल्दैन्,’ उनले भने, ‘४८ हजार ७ सय लागु नगरेसम्म तालुकदार मन्त्रालयमा हुने उहाँहरु (निजी मेडिकल कलेज)का कामहरु अगाडि बढ्दैन् ।’ सरकारले निजी मेडिकल कलेजका जायज कुरा सुन्ने र निर्णयबाट पछि हट्ने सम्भावना नरहेको उनले बताए । पिजीमा कार्यरतले निर्वाह भत्ता पाउनुपर्ने विषय निर्णय भइसकेको र लागु गर्नुपर्ने विषय रहेको छ ।
सरकारले गरेको निर्णय पनि लागु नहुने अवस्था सिर्जना भएको भन्दैं यसमा सरकारले पनि सोच्नुपर्ने बेला आएको उनको भनाइ थियो । ‘कसरी कार्यन्वयन गर्ने, कार्यन्वयन नगर्ने पक्षलाई के गर्ने त्यो सरकारले सोच्नुप¥यो,’ उनले भने, ‘त्यो सोच्छौं ।’
पहिलो स्टेप चिकित्सा शिक्षा आयोगको निर्णय कार्यन्वयन गर्नुपर्ने र त्यसपछि मात्र निजी मेडिकल कलेजका मागहरु सुनुवाई हुने उनले बताए । ‘पहिलो स्टेपमा चिकित्सा शिक्षा आयोगले गरेको निर्वाह भत्ताको निर्णय कार्यन्वयन हुनुपर्छ,’ उनले थपे, ‘त्यसपछि मात्र उहाँहरुका अरु मागहरुबारे छलफल हुन्छ ।’ पिजीका विद्यार्थीहरुको माग जायज भएको र यसलाई कार्यन्वयन गरेर अगाडि जाने प्रतिवद्धता उनले दोहो¥याए ।
उनले पिजी र युजीको विषय र निर्वाह भत्ता अलग विषय भएको बताउँदै यसलाई जोड्न आवश्यक नरहेको बताए । उनले निजी मेडिकल कलेजले पिजीका विद्यार्थीलाई निर्वाह भत्ता दिन नसक्ने अवस्था नरहेको बताए । त्यो कुरा आफूले चिकित्सा शिक्षा आयोगमा समेत भनेको उनको भनाइ थियो । ‘शुल्क बढाउने र सिट बढाउने छुट्टै विषय हो त्यसमा छलफल गरौं,’ उनले भने, ‘संवाद गर्न आयोग बनाऔं । आयोगले तर्कसंगत ढंगले काम गर्छ ।’ आयोगले स्वभाविकताको आधारमा निर्णय गर्ने मन्त्री पौडेलले बताए । गुणस्तरीयताको पुष्टि गरेर मात्रै सिट संख्या बढाइने उनको भनाइ थियो ।
आयोगका निर्णय रफ्तारमा भएको र प्रधानमन्त्री इच्छा देखाएका कारण निर्वाह भत्ताको विषय तीब्र गतिमा अघि बढेको उनले बताए ।
मन्त्री पौडेलले सर्वसाधारणलाई असर गर्ने भएकाले चिकित्सा सेवामा फर्कनसमेत चिकित्सकहरुलाई आग्रह गरे । ‘अस्पतालमा बिरामीलाई उपचार गर्ने सुविधालाई यहाँहरुले निरन्तर अगाडि बढाइदिनुहुन स्वास्थ्यमन्त्रीका हैशियतले विनम्र आग्रह गर्दछु,’ उनले भने, ‘उपचार सेवालाई नरोकिदिन आग्रह गर्दछु ।’