वीरेन्द्रनगर—कर्णाली प्रदेश सरकारले नसर्ने रोगलाई समयमै रोकथाम, उपचार तथा परामर्श गरी न्यूनीकरण गर्नका लागि निःशुल्क नागरिक स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन कार्यान्वयनलाई अघि बढाएको छ ।
सामाजिक विकास मन्त्रालयले कर्णाली प्रदेशभित्र स्थायी रुपमा बसोबास गर्ने ४० वर्षमाथिका नागरिकमा नसर्ने रोगको जोखिम न्यूनीकरणका लागि रोकथाम, उपचार तथा परामर्श गर्न नागरिक स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन कार्यविधि, २०८१ तयार गरी कार्यान्वयनलाई अघि बढाएको हो ।
मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख वृषबहादुर शाहीले कार्यक्रम सञ्चालनका लागि कार्यविधि तयार गरेर अगाडि बढाइएको बताए । प्रदेशमा नसर्ने रोगको न्यूनीकरणका लागि कार्यविधि नै बनाएर निःशुल्क स्वास्थ्य परीक्षण गर्ने गरी कार्यक्रम अघि बढाएको उनको भनाइ छ ।
‘कार्यक्रम कार्यान्वयनका लागि तयारी बैठक बसेर काम अघि बढेको छ,’ उनले भने, ‘स्थानीय तहदेखि जिल्लामा आधारभूत तथा विशेषज्ञ स्वास्थ्य शिविरहरु सञ्चालन गर्ने तयारी छ । यही बैशाखबाट नागरिकको निःशुल्क परीक्षणको काम अघि बढाइने छ ।’
यो कार्यक्रमले उच्च रक्तचाप, मधुमेह, दीर्घ श्वाप्रश्वास, मिर्गौला सम्बन्धी रोग, क्यान्सरलगायत नसर्ने रोग न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । प्रदेशका स्वास्थ्य चौकी, आधारभूत अस्पताल, रणनीतिक स्थानका अस्पताल तथा स्वास्थ्य संस्था, जिल्लास्तरीय अस्पताल, प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्र, प्रदेश जनस्वास्थ्य प्रयोगशालामा निःशुल्क परीक्षण हुनेछ ।