काठमाडौं—कुनै बेला विदेश भ्रमण र पूर्व उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव पर्ययवाची जस्तै थिए । पहिलो पटक उपप्रधानसहित स्वास्थ्य तथा जनसंख्यामन्त्रीका रुपमा यादवले १६ महिना मन्त्रालय चलाएका थिए । त्यो १६ महिनाको अवधिमा १४ वटा विदेश भ्रमण गरेर उनले पछिल्लो १० वर्षमा विदेश भ्रमण बढी गर्ने स्वास्थ्यमन्त्रीको रेकर्ड आफ्नै नाममा बनाए ।
९ महिनायता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बागडोर सम्हालेका युवा मन्त्री भनेर चिनिएका प्रदीप पौडेले पनि विदेश भ्रमणमा पूर्व स्वास्थ्यमन्त्री यादवकै पदचापलाई पछ्याइरहेका छन् । पछिल्लो ९ महिनामा मात्र मन्त्री पौडेल ७ वटा विदेश सयर गरेका छन् ।
स्वास्थ्यमन्त्री भएयता ६ वटा देश गएका मन्त्री पौडेल ७ औँ भ्रमणका लागि बुधबार संयुक्त अरब इमिरेट्स उड्दैँछन् । बुधबारबाट सुरु भएको अवुधाबी ग्लोवल हेल्थ वीकमा भाग लिन मन्त्री पौडेल त्यसतर्फ जाँदैंछन् ।
३० साउन २०८१ मा स्वास्थ्य तथा जनसंख्या मन्त्रीको पदभार ग्रहण गरेका मन्त्री पौडेलको पहिलो भ्रमण इन्डोनेसियाको राजधानी जाकर्तामा ८ असोजमा सुरु भएको हाइ लेभल अफिसियल बैठकबाट सुरु भएको थियो । दोस्रो विदेश भ्रमणका रुपमा २१ असोजमा छिमेकी देश भारतमा आयोजना भएको विश्व स्वास्थ्य संगठनको दक्षिण पूर्वी एसियाको ७७ औं बैठक हो । तेस्रो भ्रमण पनि असोज महिनामा नै गरेका थिए । २७ असोजमा जर्मनीको बर्लिनमा आयोजना भएको कम्युनिटी हेल्थ डेलिभरी पार्टनरसीप इभेन्ट डिउरिङ्ग द वर्ल्ड हेल्थ समिटमा भाग लिन पुगेका थिए ।
एकै महिना तीन वटा वैदेशिक भ्रमण गरेका मन्त्री पौडेलको चौथो विदेश भ्रमण भने पुनः इन्डोनेसियाको पर्यटकीय सहरमा बालीमा भएको थियो । उनी गाभीको बोर्ड मिटिङ्गमा भाग लिन त्यहाँ पुगेका थिए । पाँचौ र छैटौँ भ्रमण भने चार महिनापछि चैत्रमा गरेका हुन । पाँचौ भ्रमण १४ र १५ चैत्रमा न्युटेसन फर ग्रोथ समिट २०२५ मा भाग लिन फ्रान्स पुगे । छैटौँ भ्रमणका रुपमा भने २५ देखि २९ चैत्रससम्म न्यूयोर्कमा भएको कमिसन अन पपुलेसन एण्ड डेभ्लोपमेन्टको ५८ औँ सत्रमा भाग लिन अमेरिका पुगेका थिए ।
मन्त्री भएको ९ महिनामा पछिल्लो भ्रमण भने युएई रहेको छ । स्वास्थ्य मन्त्रालय स्रोतकाअनुसार स्वास्थ्यमन्त्री पौडेलले ९ महिना गरेका ७ वटा विदेश भ्रमणमध्ये केही मन्त्रीस्तरमा अनिवार्य सहभागी हुनुपर्ने बैठक छन् । तर, कतिपयमा मन्त्रीस्तरीय सहभागिता अनिवार्य नभएका ठाउँहरुमा पनि मन्त्री पौडेलले गएको मन्त्रालयका कर्मचारीहरु बताउँछन् ।
‘विश्व स्वास्थ्य संगठनको क्षेत्रीय बैठक, केही मन्त्रीस्तरीय बैठक र गाभीको बोर्ड बैठकबाहेक अन्य भ्रमणहरुमा भने मन्त्रीस्तरको सहभागिता अनिवार्य देखिदैँन्,’ मन्त्रालयका एक उच्च अधिकारी भन्छन्, ‘हुन त सबैले बोलाएपछि मन्त्रीज्यू आइदिनुहोस् भन्ने सबैको चाहाना हुन्छ । देशको प्रतिनिधित्व गर्ने विदेश जाने विषयमा मन्त्रीज्यूले कार्यक्रमहरुको बजन हेर्नुपर्छ र सचिवालयले पनि त्यो कुरा ख्याल राख्नुपर्छ ।’